MENU

समाज

ujyaalo forign call inside

काठमाडौंको घर छोडेर गाउँ पसेका शर्माको वार्षिक आम्दानी १२ लाख !

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, फागुन २६ – नजिकै म्याग्दीखोला । सडक छेउछाउमा केही सानो बस्ती । त्यही आसपासमा एउटा कटेज । कटेज अगाडि माछापोखरी ।
 
बिहान उठेदेखि राति साँझसम्म कटेजकै काममा व्यस्त हुनुपर्ने । कटेजको सरसफाइदेखि खानाका परिकारको तयारी । ग्राहकको फोन सम्पर्क अनुसार विभिन्न खानाका आइटमको तयारी, कटेजमा आउने ग्राहकको स्वागत सत्कारसँगै खानपानको व्यवस्थापन ।
 
दिनहुँ कटेज र पाहुनाका लागि व्यस्त हुनुहुन्छ केडि कटेज सञ्चालक । अहिले उहाँलाई कटेजको काम र खानाका परिकार बनाउन भ्याइनभ्याई छ । 
 
पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, सिमलचौरका युवा अशोक शर्माले २०७२ साल वैशाख १२ र २९ गते देशमा आएको विनाशकारी भूकम्पपछि गाउँ फर्केर कटेज स्थापना गरी सञ्चालन गर्नुभएको हो । भूकम्पले काठमाडौंको कोटेश्वरमा रहेको आफ्नो साढे २ तलाको घर भत्काएपछि उहाँ गाउँ फर्किएर व्यवसाय सुरु गर्नुभएको थियो ।
उहाँले सिमलचौरमा रहेको तीन रोपनी जग्गामा माछापोखरी र कटेज निर्माण गरेर व्यवसाय सुरु गर्नुभयो । हरेक क्षेत्रमा व्यावसायिकता खोज्ने शर्माले आफू कृषि परिवेशमा जन्मिएर हुर्किएको हुँदा त्यसै क्षेत्रबाट पर्यटनमा प्रवेश गरेको बताउनुभयो ।
 
कृषिको प्रयोग गरेरै पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्नका लागि आफू यस क्षेत्रमा लागेको उहाँको भनाई छ । सुरुमा १५ लाख रुपैयाँको लगानीबाट सुरु भएको कटेजमा अहिले ५० लाख लगानी पुगेको सञ्चालक शर्मा बताउनुहुन्छ ।
 
होमस्टेमा आधारित शर्माको कटेजमा एक रातमा १० जनाको घरबास बस्न सकिन्छ भने बर्ड–थे र कुनै विशेष पार्टी वा कार्यक्रमका लागि ५० जना जति अट्न सक्ने ठाउँ रहेको छ ।
विशेष गरी प्राकृतिक उपचारको स्थल बनेको तातोपानी कुण्ड र पर्यटकीय क्षेत्र टोड्केमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य रहेको शर्माको कटेजमार्फत टोड्केका लागि ग्राहकको चाहना अनुसार टोड्के जोन प्याकेजको व्यवस्था गरिएको उहाँले बताउनुभयो । व्यवस्थापन विषयमा स्नातकोत्तर र समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक गर्नुभएका शर्माले म्याग्दी जिल्लाको पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आफूले होमस्टे सञ्चालन गरेको जानकारी दिनुभयो ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गैरहेको केडी कटेजका प्रोप्राइटर समेत रहेका अशोक शर्माले बताउनुभयो । उहाँका अनुसार कटेजमा कतिपय पर्यटकहरु घुम्दै आउने गरेको र कोही आउनुभन्दा पूर्व नै टेलिफोन सम्पर्क गरेर आउने गरेका छन् । प्रायः एकपटक आउने ग्राहकहरु अर्को पटक पनि आउने गरेको गरेका छन् । कटेजप्रति ग्राहक र पाहुनाको आकर्षण बढ्दै जान थालेको उहाँको अनुभव छ । 

तीनओटा पोखरीमा माछापालन

शर्माले कटेजकै छेउछाउमा ६० फिट लम्बाई र ३० फिट चौडाइको तीनओटा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । पाहुनालाई आर्गनिक परिकार खुवाउने उद्देश्यसहित उहाँले पोखरीमा कमन र ग्रासकार्प जातको माछापालन गर्नुभएको छ ।
 
उहाँले पोखरीको माछासँगै म्याग्दीखोलाको असला माछा पनि खुवाउने गर्नुभएको छ । रेन्बो ट्राउटलगायत जातका अन्य ठाउँबाट माछा खरिद गरेर ग्राहक तथा पाहुनलाई आर्गनिक परिकार खुवाउने गरेको केडि कटेजका सञ्चालक शर्मा बताउनुहुन्छ ।
 
शर्माको कटेजमा सिमलचौर तथा बाबियाचौर क्षेत्रमा उत्पादन हुँदै आएको जेठोबुढो र गौरिया धानको लोकल चामलको भातले पाहुनालाई लोभ्याउँछ । यसका साथै फापर तथा कोदोको ढिँडो र गुन्द्रुकको समेत स्वाद लिन उहाँको कटेजमा थुप्रै ग्राहकहरु आउने गर्छन् । 
 
उमेरले ३० वर्षमा रहेका शर्माले कटेजमा ४ जनालाई रोजगारी पनि दिनुभएको छ । एकजना व्यवस्थापक, एक कुकमेन र दुई जनालाई पार्टटाइमका रुपमा रोजगारी दिएको सञ्चालक शर्माले बताउनुभयो  ।

वर्षमा १२ लाख आम्दानीः

केडी कटेजका सञ्चालक शर्माले होमस्टे सञ्चालनबाट मासिक रुपमा तीनदेखि पाँचलाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ ।
 
सबै खर्च कटाएर उहाँले महिनामै एक लाख रुपैयाँभन्दा बढी बचत गर्नुहुन्छ । विदेशमा भन्दा राम्रो कमाइ आफ्नै देशमा भएकाले आफू होमस्टेबाट सन्तुष्ट रहेको शर्माको भनाई छ  ।
 
होमस्टे सञ्चालन गरेर पर्यटन क्षेत्रको विकास गर्ने र पर्यटकको आकर्षण बढाउन सकिने शर्मा बताउनुहुन्छ । केडी ग्रुप अन्तर्गत शर्माको केडी फाउण्डेशन नेपाल र केडी इन्टरटेनमेन्ट प्रा.लि. पनि रहेको छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया