MENU

राजनीति

ujyaalo forign call inside

दुई-तिहाईभन्दा बढीकाे समर्थनमा प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

काठमाडौं, फागुन २७ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

एक्लैको स्पष्ट बहुमत नरहेको र दुई वा दुई भन्दा बढी पार्टीको समर्थनमा निर्वाचित हुने प्रधानमन्त्रीले १ महिनाभित्र विश्वासका मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

संसदमा सत्तारुढ दल एमालेको १ सय २१, माओवादी केन्द्रको ५३ सांसद रहेको छ । यस्तै १७ सांसद रहेको राजपा र १ सांसद रहेको राप्रपाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । त्यस्तै संघीय समाजवादी फोरमले प्रधानमन्त्री ओलीलाई मत दिने वा नदिनेबारे निर्णय गर्न आईतबार बैठक बोलाएको छ ।

सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमले प्रधानमन्त्रीको समर्थनमा मत दिने लगभग निश्चित छ । फोरमको १६ सांसद छन् । त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राष्टिय जनमाेर्चाकी दुर्गा पौडेल र स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारको पक्षमा मतदान गर्ने विश्वास गरिएको छ । ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको छ ।

दुईतिहाईका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसदमा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा बढी मत देखिएको छ । विश्वासको मत लिन अघि पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आइतबार बस्दैछ ।

बैठक मध्याह्न १२ः३० बजे बस्नेछ । संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् । संयुक्त बैठकपछि प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ । 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया