MENU

समाज

ujyaalo forign call inside

​‘पहिले बास बसेरै माटोका भाँडा लिएर जान्थे, अहिले बनेको सामान पनि बिक्दैन’

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, फागुन २७ – सडकभन्दा थोरै तल खर र जस्ताको स–सानो छाप्रो । छाप्रोको छहारीमा चक्रमा आरी बनाउनमा व्यस्त हुनुहुन्छ, प्रेम प्रजापति । काँचो माटोलाई चक्रमा राखी आफ्नै हातले विभिन्न आकृतिमा विभिन्न सामाग्री बनाउन पाउँदा उहाँलाई बिछट्ठै खुशी मिल्छ ।

सुन्दरबजार नगरपालिका–६, स्थित भिजनचोकको फाँटमा माटोको विभिन्न सामाग्रीे तयार पार्नुहुन्छ प्रेम । माटोको सामान बनाउनुअघि माटो विधि पुर्याएर मुछ्नुपर्छ । माटो मुछ्ने जिम्मा छ, श्रीप्रसाद प्रजापतिलाई । श्रीप्रसादले मुछेर दिएको काँचो माटोबाट प्रेमले चक्रमा विभिन्न सामान बनाउनुहुन्छ । उहाँले खुत्रुके, गाग्रो, नानी (रक्सी पार्दा प्रयोग हुने), गमला, हण्डा, आरी, मक्कल लगायतका माटोको सामान बनाउनुहुन्छ ।

प्रेमले बनाएको सामान घाममा सुकाउने जिम्मा बाबुराजा प्रजापतिले लिनुभएको छ । सुकेको भाँडाकुँडा पिट्ने जिम्मेवारी अर्का रामभक्त प्रजापतिको काँधमा छ । उहाँहरु चार जना दिनभर माटोको भाँडा बनाउने काममा जुट्नुहुन्छ ।

माटोका भाँडाले पाएन बजार

बनाइएका माटोको सामान आशातित रुपमा बिक्री नहुँदा उहाँहरुलाई खल्लो लाग्छ । ‘केही समयअघि माटोको भाँडो बनाउन भ्याईनभ्याई हुन्थ्यो, भाँडो लिन आउनेको लाइन हुन्थ्यो, रातभर नाचगान गरी बासै बसेर भोलिपल्ट भाँडो लिएर जान्थे, अहिले बनेका सामान पनि बिक्री हुँदैन,’ छाप्रोमै भेटिएका ५३ वर्षे बाबुराजा प्रजापतिले निराशा भावमा भन्नुभयो ।

उहाँका अनुसार अहिले माटोको भाँडोको प्रयोग गर्ने चलन हराउँदै गएको छ । बजारमा पाइने स्टिल र प्लाष्टिकको भाँडाको प्रयोग बढ्दो छ । यस पेशामा युवा पुस्ताको चासो र चिन्ता छैन ।

आफ्नो पुख्र्यौली पेशा हराउला कि भन्ने ठूलो चिन्ता छ, प्रेमलाई । उहाँ माटोको भाँडा बनाउने आफ्नो पुख्र्यौली पेशालाई निकै प्रेम गर्नुहुन्छ । ‘माटोको भाँडो बनाउने पेशा संकटमा पर्दै गएको छ, यसलाई जोगाउन भनेरै राम्रो आम्दानी नभएपनि यसै काममा लागेको छु, काठमाडौँ भक्तपुरदेखी लमजुङ आएर माटोको भाँडाकुँडा बनाएको छु,’ काममा व्यस्त रहनुभएका ३३ वर्षका प्रेमले भन्नुभयो ।

उहाँले यस पेशा आफ्नै बाबुबाजेबाट सिक्नुभएको हो । बर्सेनी उहाँ सुन्दरबजार आएर माटोको भाँडो बनाउने काम गर्नुहुन्छ । उहाँका अनुसार माटोको भाँडा बिक्री बर्सेनी घट्दै गएको छ । आम्दानी खस्कँदो छ ।

‘सुन्दरबजारमा बर्सेनी आउँछौँ, माटाको भाँडा बनाउँछौँ, पहिले सामान पुर्याउनै गाह्रो हुन्थ्यो, अहिले भएको सामान पनि बिक्दैन,’ प्रेमले भन्नुभयो । 
‘सामान बिक्री भएको बेला महिनाकै २५/३० हजार आम्दानी हुन्छ, अरुबेला आम्दानी उही १०÷१५ हजार रुपैयाँ नै हो,’ उहाँले भन्नुभयो ।

उहाँहरुले अरु बेला काठमाडौँमै कृषि पेशा गर्नुहुन्छ । पुसदेखि चैतसम्म विभिन्न ठाउँमा पुगेर माटोको भाँडो बनाउनु÷बेच्नु उहाँहरुको अर्को आम्दानीको श्रोत हो ।
‘काठमाडौंमा अलि चिसो हुन्छ माटोको काम गर्न । त्यसैले पुसमा हामी लमजुङको सुन्दरबजार आएर चैत्रसम्म यो काम गर्छौ,’ प्रेमले भन्नुभयो ।

प्रेमका अनुसार नयाँ पुस्तालाई सम्बन्धित निकायले यससम्बन्धी ज्ञान, सीप प्रदान गर्न सके राम्रो हुन्छ । नयाँनयाँ डिजाइन निकाली माटोको भाँडो बनाउन सके अझै माटोको भाँडाले बजार पाउँछ ।

‘युवापुस्तालाई माटोको भाँडो बनाउने सीप सिकाउनु जरुरी छ, यसै पेशामा लागि उनीहरुले देशमै मनग्य कमाउन सक्छन्, यसप्रति राज्यको ध्यान जानु जरुरी छ,’ प्रेमले अघि थप्नुभयो ।

बजारमा पाइने प्लाष्टिक र स्टिलको सामानको बढ्दो प्रयोगले नै माटोको भाँडाको प्रयोग हराउँदै गएको सुन्दरबजार–७, कुमालटारकी राधिका सुवेदीले बताउनुभयो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया