MENU

समाज

ujyaalo forign call inside

गल्ती स्वीकार गर्दै भारतले महाकालीका दुइटा काठेपुल हटायो

दार्चुला, फागुन २९ – महाकाली नदीमा भारतीय पक्षबाट एकतर्फी बनाइएका चार काठेपुलमध्ये दुइटा पुल हटाइएका छन् । 

फागुन २१ गते भारतको पिथौरागढमा नेपाल र भारतका अधिकारीहरुबीच सीमा बैठक भएपछि दुइटा काठेपुल हटाइएका हुन् । सीमा बैठकमा नेपाली अधिकारीहरुले आफ्नो सहमतिबिना काठेपुल राखिएको र नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी भएकोप्रति आपत्ति जनाएका थिए । नेपाली अधिकारीहरुसँग बैठकमा गल्ती स्वीकार गरेको भारतीय प्रशासनले बैठकलगत्तै दुइटा काठेपुल हटाएको हो ।

व्यास गाँउपालिकाको वडा नम्बर २ दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा महाकाली नदीमा काठेपुल बनाइएका थिए । नेपालतर्फ मानववस्ती नभएको त्यस क्षेत्रमा
भारतले आफ्नो उपयोगका लागि काठेपुल लगाएर नेपाली भूमि प्रयोग गरेको थियो ।

राप्लाको दुम्लिङमा रहेको प्रहरी चौकीको टोलीले स्थलगत भ्रमण गरी दुइटा काठेपुल हटाइएको जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गरेको छ । शुक्रबार र
शनिबार दुम्लिङ प्रहरी चौकीको टोलीले सीमाक्षेत्रको गस्ती गरेको थियो ।

दुम्लिङबाट चार—पाँच घण्टा पैदल दूरीमा रहेको क्षेत्रमा काठेपुल लगाइएका हुन् । नेपालतर्फको घाटिबगड र भारतको मालपा भन्ने स्थानमा राखिएको काठेपुल हटाइएको दार्चुलाका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक लालवहादुर साउदले बताउनुभयो । घाटिबगडभन्दा उत्तरतर्फको नेपालको दोपाखे र भारतको छनकन भन्ने स्थानमा राखिएको अर्को काठेपुल पनि भारतीय पक्षले हटाएको प्रहरीको भनाई छ ।

नेपालको तम्बाकु र भारतको लखनपुर क्षेत्रमा एउटा तथा नेपालको थीइको भीर र भारतको नजंग भन्ने स्थानमा अर्को गरी अझै दुइटा काठेपुल सञ्चालनमै छन् ।
भारतीय क्षेत्रमा निर्माण भइरहेको सडकमा संलग्न मजदूरको आवतजावत र सामानको ढुवानी यी पुलबाट भइरहेको छ । काठेपुल प्रयोगका साथै नेपाली भूमि भएर कामदार र भरियाले आवतजावत गरिरहेका छन् ।

काठेपुल बनाइएको क्षेत्रमा नेपालतर्फ मानववस्ती नै नभएपछि भारतीय सुरक्षाकर्मीको आवतजावत समेत नेपाली भूमि भएर भइरहेको आशंका गरिएको छ
। भारतीय क्षेत्रमा सडक निर्माणका कारण  हिडडुल गर्न सक्ने अवस्था नभएकाले त्यसक्षेत्रमा भारतीय सुरक्षाकर्मीले समेत महाकालीको काठेपुल र नेपाली भूमिको
प्रयोग गरिरहेको अनुमान छ । भारतले महाकाली किनारको सीमावर्ती क्षेत्रमा हरेक ५ किलोमिटरको दूरीमा एसएसबीको पोष्ट राखेको छ । एसएसवी, भारत तिब्बत सीमा पुलिस (आइटिवीपि) र भारतीय सेनाले महाकाली नदी किनारको सीमाक्षेत्रमा नियमित गस्ती गर्दछन् ।

दार्चुला सदरमुकाममा रहेको नेपाली सेनाको कालीदल गुल्मबाट सोमबार महाकाली नदी किनारैकिनार हुँदै व्याससम्मका लागि गस्ती टोली निस्केको छ ।
भारतीय पक्षबाट काठेपुल निर्माण र नेपाली भूमिको प्रयोग गरेको समाचारआएपछि नेपाली सेनाले पहिलो पटक त्यसक्षेत्रमा गस्ती टोली परिचालन गरेको
हो ।

भारतीय पक्षले दुइटा काठेपुल हटाएको जानकारी जिल्ला प्रशासन कार्यालयमा प्रहरीमार्फत सोमबार प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी
शिवराज जोशीले बताउनुभयो । यसबारे मंगलबार गृह मन्त्रालयमा जानकारी दिइने उहाँले बताउनुभयो ।

महाकाली नदीमा राखिएका बाँकी दुइटा काठेपुल के गर्ने भन्नेबारे अझै टुंगो लागेको छ । गृह मन्त्रालयबाट कुनै नयाँ अनुमति प्राप्त नभएकाले तत्काल केही
गर्न नसकिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । ‘हामीले सीमाक्षेत्रको हरेक अवस्था र विषयवस्तुलाई रिपोर्टिङ गरेका छौ, गृह
मन्त्रालयबाट थप आदेश आएपछि सोहीअनुसार हामी एक्सनमा जान्छौ’ प्रजिअ गौतमले भन्नुभयो ।

तम्बाकु र थिइको भीरमा लगाइएका काठेपुलको प्रयोग केही हप्तापछि व्यास क्षेत्रका नेपालीले पनि गर्नुपर्ने भएकाले तत्काल नहटाउन स्थानीय प्रशासनलाई
सुझाव दिइएको छ । व्यास गाँउपालिका र त्यसक्षेत्रका स्थानीयवासीले स्थानीय प्रशासनसंग यस्तो अनुरोध गरेका छन् । पिथौरागढको सीमा बैठकमा भारतीय पक्षले सीमावर्ती नेपाली पक्षलाई अस्थायी रुपमा काठेपुल राख्न औपचारिक प्रस्ताव गर्ने र छिटो यसबारे निर्णय गराउन कुटनीतिक प्रयास गर्ने सहमति भएको थियो ।

तर बैठकको सहमति अनुसार भारतीय पक्षले अहिलेसम्म नेपालको स्थानीय प्रशासनलाई पत्राचार गरेको छैन । भारतले आफ्नो विदेश मन्त्रालय र काठमाण्डौस्थित राजदूतावासमार्फत कुटनीतिक पहलपनि गर्नेबारे बैठकमा छलफल भएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया