MENU

समाज

ujyaalo forign call inside

प्रधानमन्त्री कार्यालयमा देश बनाउनेहरुको बाझाबाझ, तर कसले बनाउने सडक ?

अर्जुन पोख्रेल/उज्यालो । 

काठमाडौं, फागुन २९ – नर्क जाने बाटो त अहिलेसम्म कसैले देखेका छैनन् ।  तर पौराणिक ग्रन्थका आधारमा यसो विचार गर्ने हो भने काठमाडौंका धेरै सडक ‘नर्क’ जाने भन्दा राम्रा छैनन् । हरेकजसो गल्लीमा भ्वाङ, धुलो, धुवाँ, हिलो लगायतले काठमाण्डौंका सडक हिडिनसक्नु छन् ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्ता सडकको विजोगले धेरै नै स्थान पाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सडक बनाउने जिम्मा पाएका र सम्बन्धित सबै निकायका प्रमुखलाई बोलाएर छलफल गर्‍यो । छलफलबाट समाधानका केही खुराक बाहिर आउँथे कि भन्ने धेरैलाई लागेको थियो । तर त्यहाँ त उल्टो सचिवहरु र प्रमुखहरुको बाझाबाझ भयो । ‘नर्क’ जाने बाटोजस्ता काठमाडौैका सडक उस्तै रहने स्ष्पट संकेत त्यो छलफलले दिएको छ । 

सडक विस्तार आयोजनाका मान्छे र कुलमान घिसिङबीच चर्काचर्की

काठमाडौंका कुन–कुन सडकमा के–के कारणले काम रोकिएको छ भन्ने विषयमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका आयोजना प्रमुख दिपक केसीले चावहिल–साँखु होस् या कलंकी नागढुंगा सडक जता पनि बिजुलीका पोल र फोनका तारकै कारण सडक विस्तारमा समस्या भएको जानकारी दिनुभयो ।

उहाँले कुन सडकमा कतिवटा पोल उखेलियो र कतिवटा बाँकी छन् भन्ने पनि विवरण पेश गर्नुभयो । उहाँले फोटोसहितका विवरण नै पेश गरे पनि धेरैले बिजुलीका पोलकै कारण सडक विस्तार रोकिएको र नागरिकले दुःख पाएको अनुमान गरे । तर त्यसपछि बोल्ने पालो पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि निकै आक्रोसित हुनुभयो । 

सडक विस्तार आयोजनाले गलत तथ्याङ्ख प्रस्तुत गरेको भन्दै कुलमानले बिजुलीका पोलका कारणले कुनै पनि सडक नरोकिएको भन्दै कुन ठाउँका पोलले काम गर्न दिएन देखाउन चुनौति दिनुभयो । ‘उहाँले (सडक विस्तार आयोजनाका प्रमुखले) कहाँको फोटो खिचेर यहाँ देखाउनुभयो हँ ? हामीले सम्भव भएका ठाउँका पोल सबै सारेका छौं, तर एउटा पोल र अर्को पोलको बीचमा पर्ने घर नै भत्काइएको छैन् हामीले कहाँ लगेर पोल राख्ने ? घिसिङले भन्नुभयो, ‘सरकारले बजेट नदिँदा पनि हामीले घाटा खाएर पोल सारिहरेका छौं तर यसरी आरोप लगाउनु भएन ।’

बिजुलीका पोलकै कारण सडक निर्माणको काम रोकिएको भए भोलि नै आफू अनुगमनमा जान तयार रहेको पनि घिसिङले जानकारी दिनुभयो । बौद्ध–जोरपाटी सडकमा पनि सबै ठाउँ पोल गाड्नको लागि तयार नै भएको उहाँले जानकारी दिनुभयो । पोलकै कारणले काम गर्न सकिन भन्नु गलत भएको उहाँको भनाई छ । उहाँले पोलका कारण सडक विस्तार आयोजना रोकिएको होइन भन्दै र्‍याखर्‍याख्ती पार्नुभयो । पोलका तार पनि आफूहरुको नभै विभिन्न इन्टरनेट सेवा प्रदायकको भन्दै त्यसलाई नियन्त्रण गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । एउटा पोल देखाएर आफ्नो जिम्मेवारीबाट कोही पनि पन्छिन नमिल्ने उहाँको भनाई छ ।

सडक बनाउने भन्छन् पैसा छैन : अर्थ मन्त्रालय भन्छ जानकारी छैन

छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले सडक विस्तारमा ढिलाई हुनुको कारण पैसा नभएको गुनासो गर्नुभयो । उहाँले पैसा नभएकै सडक मर्मत र विस्तारको काम नभएको गुनासो गरिरहँदा नजिकै बसेका अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी मुसुमुसु हाँस्दै हुुनुहुन्थ्यो । भाइकाजी तिवारीले ७५ करोड ८० लाख रुपैयाँ कम भएको गुनासो गर्नुभएको थियो । तर लगत्तै अर्थ सचिव शंकरप्रसाद अधिकारीले भने बजेट कमी भएको बारेमा आफूलाई जानकारी नै नभएको बताएपछि एकछिन छलफलमा हाँसो मच्चियो ।

‘बजेट पुगेन भनेर म कहाँ त केही जानकारी नै आएन, यस्ता अत्यावश्यक क्षेत्रको बजेट त हामीले रोक्ने कुरै छैन’ अर्थसचिव अधिकारीले भन्नुभयो, ‘वार्षिक बजेट कार्यक्रममा परेका योजनामा हामीे थप बजेट पनि दिने गछौं ।’

तार काटौं अत्यावश्यक सेवा बन्द हुने डर, नकाटौं सडक विस्तार रोकिन्छ

सोमबारको छलफलमासडक, पूल, बिजुली, ढल, खानेपानी, टेलिफोनलगायतका सेवा प्रदायकसँग सम्बन्धित सबैजना सहभागी थिए । देशको पूर्वाधार निर्माणमा संलग्न निकायका सबैजसो प्रमुख भएकाले त्यहाँ भएको छलफलले देश विकासको अवस्था पनि छर्लङ्ग थियो । तर सबै निकायका प्रमुखले एक अर्कालाई दोष लगाउने मात्रै काम भयो ।

‘हाम्रा तार त अहिले लगभग सबै अन्डरग्राउन्ड भैसके त अहिले प्राधिकरणका सबै पोल इन्टरनेट सेवा प्रदायक कम्पनीका तारले जेलिएका छन् अब यसको व्यवस्थापनको लागि सडक खन्नुभन्दा पहिले नै विचार गर्नुपर्छ’ नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले भन्नुभयो, ‘सबै तार काटकुट पाराँै फ्लाइटसँगको सम्पर्क विच्छेद हुनेदेखि बैंकको सेवा बन्द होला भन्ने डर, तार नकाटौं शहर कुरुप भैसक्यो ।’

अहिलेसम्मको तरिका भन्दा फरक तरिकाले काम गरौं : काम नगर्नेलाई छुट छैन

प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रमान गुरुङ र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कार्यक्रममा निकै आक्रोसित देखिनुभयो । उहाँहरुले अब यो पाराले काम नहुने भन्दै तरिका फेर्न निर्देशन दिनुभयो ।

‘प्रधानमन्त्रीले नै अनुगमन गर्ने माथि नै अनुगमन हुने र अब भाषण होइन एक्सनमा जाने बताइसकेकाले अब हामीले काम गर्ने शैली फेर्नुपर्छ,  काम नगर्नेलाई छुट छैन भन्ने मानसिकताले काम गर्नुहोला ।’ रिमालले भन्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया