MENU

राजनीति

ujyaalo forign call inside

​जनप्रतिनिधिले भने-'कर्मचारी अभावका कारण काम गर्न सकिएन'

मकवानपुर, फागुन २९ – हेटौंडा उप–महानगरपालिकामा झण्डै पाँच दर्जन कर्मचारीको दरबन्दी खाली रहेको छ ।

ठूलो संख्यामा दरबन्दी खाली हुँदा दैनिक काम चलाउनका लागि समेत समस्या भएको छ । साविककै स्थानीय निकायको हेटौंडा नगरपालिका हुँदा ११ वडा भएकै बेलामा पनि ५५ जना कर्मचारीको दरबन्दी खाली हुँदा सबै खालका काम अगाडि बढाउनका लागि समस्या भएको थियो ।

अहिले धेरै स्थानीय तह समेत गाभिएर बनेको उप–महानगरपालिकामा झन धेरै कर्मचारीको दरबन्दी खाली भएको उप–महानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

फागुन मसान्तबाट हेटौंडाका १९ वटै रहेका २९ जना सामाजिक परिचारिकाको म्याद सकिएपछि झनै समस्या हुने भएको छ । २९ जनाले यहाँका १९ वटा वडा कार्यालयमा वडा सचिव र वडाअध्यक्षलाई सहयोग पुग्ने गरी सबै खालका काम गरिरहेका थिए ।

कात्तिकदेखि फागुन महिनासम्ममा उप–महानगरपालिकाले आफ्नो श्रोतबाट २९ जना सामाजिक परिचालिकालाई तलब खुवाए पनि अब भने बढी आर्थिक भार पर्ने र करार समेत गर्न नमिल्ने भएपछि वडा कार्यालयहरुको काममा थप समस्या भएको वडाअध्यक्षहरु बताउँछन् ।

प्राविधिक फाँटदेखि प्रशासनिक फाँटसम्मका ५५ जना दरबन्दी नहनु र सरकारले अरु करारमा कर्मचारी राख्न समेत नदिएकाले तिब्र गतिमा काम अगाडि बढाउनका लागि थप समस्या भएको मेयर महतले बताउनुभयो ।

कार्यालयको नक्सा फाँटमा कर्मचारी नेपाल सरकारले पनि नपठाउनु र अरु करारमा कर्मचारी पनि राख्न नपाएका कारण सबैभन्दा बढी समस्या भएको उहाँको गुनासो छ । सेवाग्राहीको घुइँचो बढेपनि थप कर्मचारी नभएका कारण उप–महानगरपालिकामा समस्या भएको हो ।

नागरिकको कामलाई चुस्त दुरुस्त र छिटो छरितो रुपमा सक्ने अभियान जारी राख्दा पनि कर्मचारी अभावका कारण झन समस्या बल्झिएको मेयर महतले गुनासो गर्नुभयो ।

‘नेपाल सरकारले स्थानीय तहमा पर्याप्त कर्मचारी नदिएका कारण नै जनप्रतिनिधिहरु प्रति सेवाग्राही रुष्ट हुन थालिसकेका छन्’, मेयर महतले भन्नुभयो, ‘विना सेवा सुविधा हामी जनप्रतिनिधि त खटिएकै छौ । तर, कर्मचारी उपलब्ध नगराउँदा ठूलो समस्या सेवाग्राहीसम्म पुगेको छ ।’

साविकको नगरपालिका हुँदा उक्त उप–महानगरपलिकामा २ सय ८ जनाको दरबन्दी थियो । अहिले भने १ सय ५३ जना कर्मचारीको मात्र दरबन्दी रहेको छ । उपमहानगरपालिकामा महाशाखा प्रमुखको दरबन्दी एक जना, सिभिल इञ्जिनियरको दरबन्दी तीन जना, शाखा अधिकृतको दरबन्दी ४ जना, वरिष्ठ सहायकको दरबन्दी ३ जना, जुनियर मेकानिकल तथा आर्किटेक एक जना, इलेक्ट्रिकल एकजना र एक इञ्जिनियरको दरबन्दी खाली रहेको छ । यसैगरी अरु सहायक स्तरका कर्मचारी ९ जना, नगरप्रहरी ४ जना, सफाई कर्मचारी ५ जना, कार्यालय सहयोगी ४ जना, बारुणयन्त्र हवलदार ३ जना, नगर हवल्दार ३ जना, भारी सवारी चालक २ जनालगायत ५५ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।

उप–महानगरपालिका हुनका लागि पाँच वटा गाविस थपिएका थिए । पहिले प्राविधिक क्षेत्रका कर्मचारी करारमा नियुक्त गरेर काम गर्नका लागि सजिलो भए पनि अहिले भने कुनै पनि खालका कर्मचारी नियुक्त गर्न सरकारले नदिएका कारण विकास निर्माणका कामहरु समयमा नै सकेर फच्यौट गर्नका लागि समय लाग्ने भएको छ ।

स्थानीय तह निर्माण भएपछि कार्यपलिका, व्यावस्थापिका र न्यायपालिकाको अधिकार दिइएको छ । तर, कर्मचारी सरकारले उपलब्ध नगराएका कारण कुनै काम गर्न नसकेको जनप्रतिनिधिको गुनासो छ ।

जनप्रतिनिधिले सरकारले स्थानीय तहलाई अधिकार दिए अनुसार कर्मचारी पनि पूरा गरिदिन जनप्रतिनिधिले माग गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया