MENU

समाज

ujyaalo forign call inside

​‘७ वर्षको विदेशी जागिरलाई आफ्नै पुख्यौली पेशाले जित्यो, मासिक आम्दानी ७५ हजार !’

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, फागुन ३० – सात वर्षसम्म विदेशी भूमिमा रगत पसिना बगाउनुभएको छ, सुकबहादुर कुलु (नेपाली)ले ।

उहाँले ७ वर्षसम्म दुवईमा आफ्नो श्रमपसिना भिजाउनुभएको थियो । दुवईमा उहाँ सेक्युरिटी गार्डको रुपमा कार्यरत हुनुहुन्थ्यो । विदेशी भूमिमा रहँदा हुने गाह्रो अफ्ठ्यारो तथा घरपरिवारको माया, यादले कत्ति धेरै सताउँछ ! भन्ने कुराको राम्रो हेक्का छ उहाँलाई ।

दुवईमा मासिक ४५ हजारसम्म कमाई हुन्थ्यो । तर उहाँको मन विदेशी भूमिमा रम्न सकेन । ‘स्वदेश फर्केर उतै केही उद्यम गर्छु’ भन्ने सोचले सुकबहादुरको मनमा कुरा खेल्न थाल्यो । ‘सेक्युरिटी गार्डको रुपमा काम गरेँ, ७ वर्ष बिताएको छु दुवईमा, राम्रो कमाई थियो तर पनि विदेशमा मेरो मन रम्न सकेन, त्यसैले स्वदेश फर्किएँ,’ सुकबहादुरले भन्नुभयो ।

उहाँ स्वदेश आएपछि सुन्दरबजार–७, मिलनचोकमा वाद्यवादनका विभिन्न सामाग्री उत्पादन गर्ने व्यावसाय सुरु गर्नुभयो । छालाबाट बन्ने विभिन्न वाद्यवादनका सामान बनाउने, मर्मत गर्ने आफ्नो पुख्र्यौली पेशालााई उहाँले व्यवस्थित गर्दै व्यावसायमा बदल्नुभयो ।

उहाँले सुन्दरबजारमै बसी मादल, ढोल, ढ्याङ्ग्रो, नेवारी बाजा खिंलगायतका पञ्चेबाजाअन्तर्गत दमाहा, ढलाकी लगायतका वाद्यवादनका सामान उत्पादन गर्नुभयो । अहिले उहाँको व्यवसाय फस्टाएको छ । उहाँ आफै मर्मत पनि गर्नुहुन्छ ।

साथमा विभिन्न आधुनिक बाजा पनि बिक्री गर्नुहुन्छ । यस व्यावसायबाट उहाँले लोभलाग्दो कमाई गर्दै आउनुभएको छ । सजिलै जीवन चलाउनुभएको छ । ‘महिनाको ७५ देखी ८० हजार रुपैयाँ कमाई हुन्छ,’ मादल बनाउँदै गर्दा भेटिनुभएका सुकबहादुरले भन्नुभयो ।   

उहाँले आफ्नै घरमा व्यावसाय गर्नुभएको हो । ‘विदेशको कमाई र यसै व्यावसायबाट आएको कमाई खर्चेर सुन्दरबजारमै ४ कोठाको पक्की घर बनाएको छु’, सुकबहादुरले भन्नुभयो, ‘आफ्नै घरमा व्यावसाय चलाएको छु । परिवारकै साथमा बसेर उद्यम गर्न पाउँदा ज्यादै खुशी छु ।’

मादल, ढलाकी, दमाहा, ढ्याङ्ग्रोलगायतका वाद्यवादनका सामाग्री बनाउने पेशा उहाँले आफ्नै बुवा वीबहादुरबाट सिक्नुभएको हो । स्कूल पढ्दादेखी नै उहाँले यो काम सिक्नुभएको थियो ।

‘केही वर्ष नेपाल आर्मीमा पनि जागिर खाएँ, पछि छाडेँ, विदेश पनि गएँ तर मलाई भित्री मनमा आफ्नो पुख्र्यौली पेशालाई बचाउने, यसै पेशाबाट राम्रो कमाउन सकिन्छ भन्ने मनमा थियो’, सुकबहादुरले भन्नुभयो, ‘त्यसैले सब काम छोडेर यसै पेशा रोजेँ ।’ 

उहाँका अनुसार वाद्यवादनका सामान बनाउन र किन्नका लागि लमजुङसहित गोरखा, तनहुँका विभिन्न ठाउँबाट समेत ग्राहकहरु आउँछन् । यसै व्यावसायबाट आएको कमाईबाट उहाँले छोरा आतिषलाई काठमाडौँमा पढाउनुभएको छ । आतिषले आइटी पढ्दैछन् । जेठी छोरीलाई पनि उहाँले काठमाडौंमै पढाउनुभएको छ । कान्छी छोरीलाई पनि उहाँले स्थानीय बालज्योति बोर्डिङ स्कुलमा पढाउनुभएको छ ।

सुकबहादुरलाई व्यावसाय सञ्चालनमा श्रीमती आइतीमायाले पनि उत्तिक्कै सघाउनुहुन्छ । ‘५ लाख बढीको लगानी भइसकेको छ यो व्यवसायमा,’ सुकबहादुरले भन्नुभयो । ‘कत्तिका श्रीमान्, छोराछोरी परदेश भासिएका छन्, विदेशीनुपर्ने बाध्यता पनि छ, तर गर्न सके देशमै सुन फलाउन सकिन्छ, श्रीमान् स्वदेशमै बसी उद्यम गरेकोमा म त निकै खुशी छु,’ आइतीमायाले सुनाउनुभयो ।

आफ्नो समुदायको पूख्र्यौली पेशा हराउँदै गएकोमा सुकबहादुरको मन भतभती पोल्छ । त्यसैले उहाँ आफ्नो पुरानो पेशामा नै फर्किनुभएको छ । ‘श्रम गर्न लाज मान्नुहुँदैन’, सुकबहादुर भन्नुहुन्छ, ‘अब यसै व्यावसायलाई विस्तार गर्ने मेरो योजना छ ।’ 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया