MENU

समाज

ujyaalo forign call inside

बिस्केट जात्राका लागि दुईवटा लिङ्गो ल्याइयो

भक्तपुर, फागुन ३० –  भक्तपुरमा नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राका लागि आवश्यक पर्ने लिङ्गो भेलुखेलस्थित ल्यासिंखेलमा ल्याइपुर्याइएको छ ।

गुठी संस्थानले बिस्केट जात्राको लागि आवश्यक पर्ने लिङ्गो भेलुखेल स्थित ल्यासिंखेलमा ल्याइपुर्याएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोल स्थित सल्लाघारीको वनबाट दुईवटा लिङ्गो ल्याइपुर्याएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बिस्केट जात्राका लागि एक वटा लिङ्गो आवश्यकता परे पनि भाचिने सम्भावनाले जगेडाका लागि दुईवटा लिङ्गो ल्याउने प्रचलन छ । लिङ्गो नभाचिए अर्को सालको बिस्केटमा यसवर्ष ल्याएको जगेडा लिङ्गो प्रयोग गर्ने प्रचलन छ । यसवर्षको बिस्केट जात्राको तयारी सुरु भएको छ । जात्राको लागि ३ लाख २६ हजार रुपैयाँ खर्चेर दुईवटा लिङ्गो ल्याइपुर्याइएको छ । रथ निर्माणका लागि आवश्यक तयारी पूरा गरिएको छ ।

विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नव वर्षको चार दिन अघिदेखि तान्त्रिक विधि अनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने गरिन्छ । चैत्र १५ गतेदेखि काठैकाठबाट प्यागोडा शैलीमा भैरवनाथ र भद्रकालीको दुईवटा  रथ निर्माण गरिने सुवेदी बताउनुहुन्छ । रथ निर्माणको लागि आवश्यक काठ समेत ल्याइसकेको छ भने रथको नयाँ पाङ्ग्रा निर्माणका लागि यसवर्ष नयाँ काठ ल्याइएको छ ।

पुरानो काठको पाङ्ग्रा धेरै वर्ष चलेर जिर्ण भएपछि यसवर्ष नयाँ काठ ल्याइए पनि काठ काँचो भएकाले यसवर्ष पुरानै काठबाट पाङ्ग्रा निर्माण गरी अर्को साल नयाँ काठको पाङ्ग्रा बनाइने भएको छ । यसवर्ष बिस्केट जात्राको लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान संस्थानको छ ।

चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने परम्परा छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिको यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यसपछि त्यही प्रचलन चल्दै आएको स्थानीयबासी बताउछन् ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया