MENU

समाज

ujyaalo forign call inside

​काठमाडौंमा सडकको बेहाल : कतै तार, कतै घरको छेकबार !

अर्जुन पोख्रेल/उज्यालाे ।

काठमाडौं, फागुन ३० –  काठमाडौंका सडक बेहाल भएको खबर अब नौला हुन छाडे । बरु तिनै सडकमा हरेक दिन नौला नौला दुर्घटना भैरहेका छन् । कहिले सडकका भेलले बालबालिका बगाउने, कहिले सडकका भ्वाङमा कार फस्ने अनि कहिले ढलभित्र खसेर मान्छे हराउने । 

राजधानी काठमाडौंका सडकको यस्तो अवस्थाबारे हरेकजसो सञ्चारमाध्यमले समाचार लेखेकै छन, सामाजिक सञ्जालमा पनि यसबारेको बहस भैरहेका हुन्छन् । तर पनि काठमाडौंका सडकको हालत उस्तै छ । घाम लाग्दा अघिल्लो गाडी नदेखिने धुलो हुन्छ, पानी पर्दा धान रोप्न ठिक्क परेको  खेत भन्दा कम हुँदैनन् काठमाडौंका सडक ।

सडकको यो अवस्थाबारे सडक विभागसँग गुनासो गर्दा कर्मचारीले महानगरमा जानुस् भन्छन, गुनासो लगेर महानगरपालिका गयो सडक विस्तार आयोजनाको काम हो यो त भन्छन् । आयोजनाको कार्यालयमा गयो मेलम्ची र विद्युत प्राधिकरणका कारण सडक यस्तो भएको हो भन्ने जवाफ पाइन्छ । सडकको यो हालत सुधार्न धेरैपटक धेरैथरी निकायका पदाधिकारीले बैठक गरिसकेका छन्, तर परिणाम भने देखिएको छैन ।

काठमाडौं उपत्यकाका मुख्य मुख्य सडकको निर्माण र मर्मत काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गरिरहेको छ । सडक विस्तार आयोजनाले विभिन्न सडक मर्मतको काम सम्पन्न नहुनुको कारण पनि स्पष्ट खुलाएको छ । आयोजनाले काम सम्पन्न हुन नसक्नुको कारण सर्वोच्च अदालतको अन्तरिम आदेश, मुअब्जा विवाद, नेपाल विद्युत प्राधिकरण, मेलम्ची खानेपानी र विभिन्न कम्पनीका तारका कारण सडक विस्तारमा अबरोध रहेको जनाएको छ । काठमाडौंका कुन सडकमा कस्तो अबरोध छ त ? आयोजनाको दावी यस्तो छ ।

१. त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा (१२.४८ किलोमिटर) 

यो सडकखण्डमा ५ सय १२ वटा बिजुलीका पोल रहेकोमा २ सय वटा मात्रै हटेका छन् । ३  सय  १२ वटा पोल हटाउन बाँकी छ । यस्तै ३७ वटा ट्रान्सफरमध्ये २७ वटा हटाउन बाँकी छ । २ सय ७५ वटा टेलिफोन र इन्टरनेटका तारमध्ये १ सय ७२ वटा हटाउन बाँकी छ । सडकबत्ती ४३ वटा रहेकालेमा २२ वटा हटाउन बाँकी छ । १ सय ३५ वटा रुख काट्नुपर्नेमा ३० वटा काट्न बाँकी छ ।

यो सडकखण्डमा घरटहरा भत्काउन नसक्नु मुख्य समस्या रहेको छ । सयौं मुद्दा अहिले पनि अदालतमा विचाराधीन छन् । ६ सय ४ वटा घरटहरा भत्काउनुपर्नेमा जम्मा ३४ वटा भत्काइएको छ  भने ५ सय ७० वटा भत्काउन बाँकी छ । एउटा खानेपानीको ट्यांकी पनि भत्काउन बाँकी छ । 

२. चाबहिल–जोरपाटी–साँखु (१२.५० किलोमिटर )

काठमाडौंको सडक विस्तारमा निकै समस्या देखिएको चाबहिल – जोरपाटी – साँखु सडकमा पनि समस्या नै समस्या रहेका छन् । यो क्षेत्रमा पनि मुआब्जाको विवाद, ढल बिजुलीका पोल लगायत नै मुख्य समस्या देखिएका छन् । यहाँ ६ सय ३६ वटा बिजुलीका पोल हटाउनुपर्नेमा १ सय ५० हटाइएको छ भने ४ सय ८६ वटा बाँकी छन् ।

यस्तै २६ वटामध्ये एउटा ट्रान्सफर्मर पनि हटाइएको छैन । २ सय ६ वटा टेलिफोन र इन्टरनेटका तारमध्ये एउटा पनि हटाइएको छैन । यस्तै ६ सय ८८ वटा घर टहरा भत्काउनुपर्नेमा जम्मा २ सय वटा भत्काइएको छ भने ४ सय ८८ भत्काउनै बाँकी छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले नेपाल विद्युत प्राधिकरण,काठमाडौं उपत्यका विकास प्राधिकरण, मेलम्ची खानेपानी, दुरसञ्चार प्राधिकरण लगायतका निकायका कारण सडक विस्तार नभएको जनाएको छ । 

३. इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु लामाटार सडक (७.२१५ किलोमिटर)

यो सडकखण्डमा १ सय २० वटामध्ये जम्मा १० वटा पोल हटाइएको छ, १ सय १० वटा  पोल हटाइएको छैन । ८ वटामध्ये ८ वटै ट्रान्सफर्मर सारिएको छैन । टेलिफोन र बिजुलीका ६७ मध्ये ६७ वटा नै तार पन्छाउन बाँकी छ । ६ वटा सडकबत्ती हटाउनुपर्नेमा एउटा पनि सारिएको छैन । ५६ वटामध्ये ५० वटा मात्रै घरटहरा हटाइएको छ, ५० वटा बाँकी छन् । 

४ ढोलाहिटी–सुनकोठी– चापागाउँ –प्याङ्गाउँ– लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड सडक (१३.०१ किलोमिटर)

यो सडकको अवस्था पनि अस्तव्यस्त छ । बाटोकै कारण दुःख पाएको भन्दै स्थानीयबासिन्दाले पटक पटक सडक बन्द पनि गरेका छन् । तर यहाँ कयौं समस्या छन् । यो सडकमा ११ सय २० वटा स्थानीयबासीको घर टहरा भत्काउनुपर्नेमा एउटा पनि भत्काइएको छैन ।

७१ जनाले सर्वोच्चमा रिट हालेपछि अदालतले अन्तरिम आदेश दिएको छ । १ सय ४० वटामध्ये एउटा पनि बिजुलीको पोल हटेका छैनन् । बिजुली र टेलिफोनका १ सय २५ वटा तारमध्ये एउटा पनि हटेका छैनन् ।

५ कर्मनाशा खोला–हरिसिद्धि–गोदावरीकुण्ड सडक (७.६० किलोमिटर )

यो सडक पनि भत्काएको महिनौं भैसक्यो तर बन्ने भने टुंगो नै छैन । यो क्षेत्रमा ४ सय वटा घरटहरा भत्काउनुपर्नेमा एउटा पनि भत्काउन सकिएको छैन । १ सय ६७ जना स्थानीयबासीले सर्वोच्चमा रिट हालेका छन् । सर्वोच्चले घरटहरा तत्काल नभत्काउन अन्तरिम आदेश दिएको छ ।

यस्तै  घरटहरा नभत्काएका कारण १ सय ४०  वटामध्ये एउटा पनि विजुलीको पोल सार्न सकिएको छैन । १ सय ७७ वटा विजुली र इन्टरनेटका तार हटाउने काम पनि शून्य नै छ ।

६ नख्खु खोला–भैंसेपाटी–बुङ्गमती (५.०७ किलोमिटर)

घर टहरा भत्काउन नसक्नु नै यो सडक अलपत्र पर्नुको मुख्य कारण रहेको छ । १ सय ५२ वटा घरटहरा भत्काउनुपर्नेमा काठमाडौं उपत्यका विकास प्राधिरकणले एउटा पनि भत्काउन सकेको छैन । स्थानीयबासीले घरटहरा भत्काउनै दिएका छैनन् । यस्तै १ सय ४० मध्ये १२ वटा मात्रै विजुलीका पोल सारिएको छ । ८८ वटा रुख काट्न बाँकी छ ।

७ जोरपाटी चोक–सुन्दरीजल (७.०० किलोमिटर)

यो सडक विस्तारको योजना बनेको वर्षौं भैसक्यो । तर सर्वेको लागि पनि स्थानीयबासिन्दाले अबरोध गरेका कारण ढिलाई भयो । अहिले सर्वे सकिए पनि अबरोधकै कारण काम सुरु हुन सकेको छैन ।

८ सातदोबाटो–लगनखेल (०.८० किलोमिटर)

८ सय मिटर लामो यो सडकमा ५५ वटा घरटहरा भत्काउनुपर्नेमा ३५ वटा भत्काइएको छ भने २० वटा बाँकी छ । यस्तै ३९ वटा पोलमध्ये सबै नै सार्न बाँकी छ । टेलिफोन र इन्टरनेटका ९ वटा तार हटाउन बाँकी छ । यो क्षेत्रमा बिजुलीको एउटा हाइटेन्सन लाइन नै हटाउन मुख्य समस्या रहेको छ । 

 ९ चक्रपथ–ज्ञानज्योती मार्ग–चुनदेबि–बिद्वत मार्ग (०.७५ किलोमिटर)

यो सडकमा हटाउनुपर्ने घरटहरा र बिजुलीका पोल सबै हटाइसकिएको छ । अहिले निर्माण कार्य भैरहेको छ । तर ठेकेदारले भने ढिला काम गरिरहेका कारण बेलैमा सकिएको छैन । यहाँ १३ वटा बिजुलीका पोल र १२ वटा टेलिफोन तथा इन्टरनेटका तार हटाइएको छ । यस्तै पेप्सीकोला–सल्लाघारी सडकमा पनि मुआब्जा विवाद, विजुलीका पोल र टेलिफोनका तारले समस्या भैरहेको छ ।

पुल निर्माणमा समस्या

अहिले तिनकुनेमा वाग्मती खोला नेटवर्क आर्च व्रिज र  विजुलीबजारमा धोवीखोला नेटवर्क आर्च वृज निर्माणको काम भैरहेको छ । यहाँ पनि बिजुली र टेलिफोनका तार तथा पोलले गर्दा काममा ढिलाई भैरहेको छ । वाग्मतीको पूल बन्ने ठाउँमा खानेपानीका ४ वटा ठूला पाइपमध्ये एउटा हटाउन बाँकी छ भने ३ वटा ढल हटाउन बाँकी छ ।

यस्तै विजुलीबजारमा २ वटा ढल, एउटा खानेपानीको पाइप र एउटा बिजुलीको पोल नहट्दा काममा ढिलाई भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । 

विद्युत प्राधिकरण भन्छ – घर टहरा हटाइयोस्, पोल हामी तत्कालै सार्छाैं

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले घर टहरा नहटाउनु र बिजुली पोल नसार्नु नै सडक विस्तारको मुख्य समस्या रहेको जनाएको छ । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने सडकमा पर्ने घरटहरा नभत्काउँदा बिजुलीका पोल सार्न नसकिएको बताउनुभयो ।

घर टहरा भत्काउने बित्तिकै पोल सार्ने र अहिले घर टहरा भत्काएका ठाउँमा विजुलीका तार सडक विस्तारको अवरोधका रुपमा नरहेका पनि उहाँले प्रष्ट पार्नुभयो । घर टहरा भत्काउन सर्वोच्च अदालतको आदेश मुख्य समस्याको रुपमा देखिएको छ ।

धेरै ठाउँमा सर्वोच्चले अन्तरिम आदेश दिँदा घर टहरा भत्काउन मिलेको छैन । भत्काउन मिलेको ठाउँमा पनि बजेट नभएकाले समस्या भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले गुनासो गर्नुभयो ।

उहाँले झण्डै ७६ करोड रुपैयाँ अभाव भएको जानकारी दिनुभयो । तर यसबारेमा अर्थ मन्त्रालयमा भने कुनै पनि जानकारी नै नआएको अर्थसचिव शंकरप्रसाद अधिकारी बताउनहुुन्छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया