MENU

विचार/अनुभूति

‘चौकिनीको कथा’ को कथा

- विद्या चापागाई

अघिल्लो साता हामी काठमाडौंमै थियौं । शहरमा नारी दिवसको रमझम थियो । मान्छेहरु महिलाका अधिकारबारे आफ्ना बेजोड धारणाले सामाजिक सञ्जालका भित्ताहरु रङ्गीन बनाइरहेका थिए । ‘भजाइना मोनोलोग’ जस्ता नवीन विषयहरुले नारी दिवसका एजेन्डाहरुलाई थप रोमान्चित बनाएको थियो । हामी भने ढोरपाटनमा भेटिएका चौकिनीहरुको कथाका पानाहरु पल्टाउँदै सम्पादनको चरणमा थियौं ।

बोवाङ

ढोरपाटन जाँदा हामी बोवाङमा बास बस्यौं । बाक्लो बस्ति थियो । अँध्यारो हुनै लाग्दा पुगेका थियौं हामी । होटलहरु बिरलै रहेछन् ।

‘यहाँ होटलको समस्या छ । एउटा घरमा खाने बस्ने व्यवस्था मिलाएका छौं’ वडा अध्यक्ष दीपक थापाले सहयोग गरे । एउटा घरमा पुर्याएर हामीलाई छोडिदए ।

अँगेना वरिपरि एक आमा र दुई छोरी बसेका थिए । आफूहरुको लागि बेलुकाको खाना पकाइसकेका उनीहरुलाई हामीले बोझ थपिदियौंको भनेर अफ्ठ्यारो लाग्यो । उनीहरुले अफ्ठ्यारोलाई छिनभरमै दूर गरिदिए ।

११ पढ्ने जेठी छोरी प्रमिला । १० मा पढ्ने शर्मिला र ८ मा पढ्ने कान्छो छोरो । कान्छो भर्खर किताब कापी च्यापेर ट्युशनबाट फर्केको थियो । भान्छाको गुन्द्री ओछ्याइएको खाटमा किताब थन्क्याएर उ आमा र दिदीहरुलाई सघाउन भिड्यो ।

प्रमिला चाहिँ शिकार आरक्षभित्र काम पनि गर्दिरहिछन् । उनी कार्यलयमै बस्छिन् । छुट्टि पारेर आमा भेट्न आएकी । भोलि उनको फर्कने दिन रहेछ । भोलि विहानै ढोरपाटन तिर उकालो लाग्दा उनी हाम्री सहयात्री हुने भइन् । हामी दङ्ग पर्यौं ।

आमा चाहिँ ढोरपाटनको गाउँमा एक्लै बस्छिन् । अहिले जाडो छल्न बोवाङ आएकी सारा गाउँसँगै ओरालो लागेर । फागुन अन्तिम साता उनी पनि ढोरपाटन जान्छिन् । बोवाङको घरमा चाहिँ १० मा पढ्ने माइली छोरी र ८ मा पढ्ने कान्छो छोरो बस्छन् प्राय । किनभने ढोरपाटनमा हाइस्कूल छैन । उनीहरु पढ्नको लागि बोवाङ बस्नुपर्छ ।

हामी जस्ता पाहुनाहरु बेला बेला आइरहँदा रहेछन् । प्राय अचानक यस्तै साँझमा आइपुग्ने पाउनाहरुलाई बस्ने खाने सप्पै व्यवस्था यी ८ कक्षामा र १० कक्षामा पढ्ने दिदी भाइले गर्दा रहेछन् ।

भाइ भित्र बाहिर गरिरहन्थ्यो । कहिले गाग्रीभरि पानी बोकेर ल्याउँथ्यो । कहिले जुठा भाँडा उठाएर बाहिर लगिहाल्थ्यो । आमा छोराछोरीलाई यसो गर उसो गर भनिरहन्थिन् । मैले शहरतिर देखिने भेटिने उही उमेरका केटाकेटीहरुलाई मनमनै सम्झिएँ र उही उमेरका आमाहरुलाई पनि सम्झिएँ ।

यी केटकेटी सानै हुँदा बुबाले हेला गरेर अर्को बिहे गरेर पाखा लागेछन् । बुबाको माया विरानो भयो । आमाले दुःख जिलो गरेर तीन जना केटकेटी हुर्काइन् । यसै पनि बिरानो भइसकेका बुबा एकदिन बितेछन् । उनीहरुले खबर मात्र पाए । तर खम्बा झैं आमाको स्कूलिङ पाएका उनीहरु विचलित भएनन् ।

भोलिपल्ट विहानै आमा छोराले मकै भुटेर फिक्का चिया पकाइसकेछन् । हामीले त्यो खायौं र हिँड्ने सुरसार गर्यौं ।

बोवाङमा बिस्तारै न्याना दिनहरु आउने बेला भएको थियो । अब बोइलर हुर्किन्छन् । माइली छोरी विहानै बोइलरको चल्ला लिन बुर्तिबाङ जाने सल्लाह अघिल्लो साँझ नै भएको थियो ।

‘यो लुगा लाएर जाँदा हुन्छ?’ शर्मिलाले दिदी प्रमिलालाई सोधिन् ।

‘जाडो होला ज्याकेट पनि लगा कान्छी’ कान्छीले ज्याकेट लगाएर आइन् । आमाले बोइलरका चल्ला किन्ने पैसा दिँदै छोरीलाई सम्झाइन्:

‘हिसाबकिताब राम्ररी गर्नु’
‘राम्रा चल्ला छान्नु ठूला टाउका भएका’
‘ध्यान दिनु’
‘धेरै अबेर नगर्नु’

आमाका सल्लाह सुनेर माइली ३ घन्टा टाढाको बुर्तिबाङतिर पैदलै ओरालो लागिन् । हामी मोटर चढेर ढोरपाटनतिर उकालो लाग्यौं ।

ढोरपाटन

थुप्रै डाँडा काँडा काटियो । कहिले खोला कहिले जंगल । कुहिरो लागेको धमिलो मौसम थियो बाटोभरि । अचानक देउरालीबाट ढोरपाटन देखियो ।

ओहो कति सफा आकाश । कति राम्रा जंगल । हामीलाई के गरौं कसो गरौं भयो । न धुँवा धुलो । न हल्लाखल्ला । जाडोले खाएका ढोरपाटनका फाँटहरु पराल जस्तो देखिएका थिए । पाटनको बिचबाट सानो खोला बगेका थियो । ठाउँठाउँमा घरहरु थिए । पर पर घोडाहरु चरिरहेका थिए ।

हामी केही दिन अघि परेका हिउँ कुल्चँदं पाटन झरेर ढोरका गाउँ छिर्यौं । गाउँमा त कोही पनि छैन । प्राय घर ताल्चा लागेका । हामीले थाहा पाइसकेका थियौं । ढोरपाटन जाडोभरि बोवाङ झर्छ र न्यानो लागेपछि फेरि यतै फर्किन्छ भनेर ।

‘गाउँ रेखदेख चाहिँ कसले गर्छ?’

फाट्फुट्ट भेटिएका गाउँलेले सुनाए ‘चौकिनीले’

अनि हाम्रो कथाको विषय तिनै चौकिनी बने ।

उनीहरुको जीवनकालमै ढोरपाटन ७० पटक औलमा झरिसक्यो । उनीहरु यहिँका सुख्खा माटोमै रमाएर बसेका रहेछन् ।

कलिमा बिक र उनकी सौता अहिले चौकिनी रहेछन् । विहान बेलुकी सारा गाउँ डुलेर रेखदेख गर्ने उनीहरु नै ।

दाँतहरु झरेर एक दुइटा मात्र बाँकि थिए कलिमाका तर उनको जति हक्की आवाज मैले बिरलै सुनेकी थिएँ । गालाहरु चाउरी परेर ढोरपाटनका फाँटहरु जस्तै भइसकेका थिए । तर उनको जस्तो मीठो मुस्कान बिरलै देखेकी थिएँ मैले ।

ओहो यी बुढी आमैहरु सारा बलियाहरुलाई बेँसी पठाएर गाउँ कुरेर बसेका रहेछन् । चोर आयो भने समातेर लठ्ठीले हान्छु भन्छन् ।

ओहो यी बुढी आमैहरु कति एक्ला छन् । साथमा परिवार पनि छैन गाउँले पनि छैनन् । तर यहाँका खोला नाला र वन जंगलसँग कस्तो प्रेम उनीहरुको । जिन्दगी प्रति कुनै गुनासो नि छैन । अधिकार र मागका केही कुरा नि गर्न परेका छैन । राज्यले यो दिएन र त्यो दिएन भन्न सिकाउन पनि कोही आएको छैन ।

उनीहरु सुखी हुन् कि दुःखी ? शायद यो प्रश्न उनीहरुको मनमा कहिले नि आउँदैन।

चौकिनीहरुलाई भेट्दा त एउटा ध्यान शिविरमा गएर आएजस्तै भयो । साँच्चै आनन्द लाग्यो मनभित्र ।

फेरि बोवाङ

साँझ अबेर आएर शर्मिलाकै घरमा बास बस्यौं । भोलिपल्ट विहान उठेर हिँड्ने बेला कलिलो घाम लागिसकेको थियो । शर्मिला हिजो बुर्तिबाङबाट ल्याएका चल्लालाई घाम तपाउँदै थिइन् ।

‍-हेर्ने कथा आम मानिसको कथा हो । सामान्यतः विषय हुन नसकेका विषयहरु नै हेर्ने कथाका विषय हुन् । हेर्ने कथा महिनामा २ पटक, अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा उज्यालाे अनलाइन र हेर्ने कथा डट कममा प्रकाशन तथा प्रसारण हुन्छ । हामी बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गर्छौं । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया