MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​विमान दुर्घटनामा घाइते पुस्तकको आँखा रसाउँदा...

मिलन तिमिल्सिना

म सधैँ उनको साथमा हुन्थें । कहिले ब्यागमा, कहिले हातमा । कहिले कोठामा, कहिले क्याम्पसमा । कहिले गाडीमा, कहिले जहाजमा । मलाई एकछिन हेर्न नभ्याउँदा, नपाउँदा उनलाई छटपटी हुन्थ्यो ।

उनी मलाई हेरिरहन, सुम्सुम्याइरहन, पल्टाइरहन, केही भनिरहन, मलाई हेरेर गुन्गुनाइरहन मन पराउँथिन् । म पनि उनको स्पर्श पाउन सधैँ लालायित हुन्थेँ । औँलाहरु मेरा पानापानामा सलबलाउँदै उनले गुनगुनाउँदा मलाई औधी खुशी लाग्थ्यो । मभित्र भएका सबै कुरा उनलाई कण्ठस्थ थिए ।

ब्याग, दराज र र्याकमा कहिलेकाहीँ मात्रै बस्न पाउँथे । नत्र धेरैपटक हातमा, कोठाभित्रको टेबुलमा र क्याम्पसको डेस्कमा उनीसँगै आमनेसामने भैरहन्थेँ । उनले मलाई कहिल्यै एक्लै छाडिनन् ।

मैले पनि उनलाई कहिल्यै एक्लै छाडिनँ । कहिलेकाहिँ के हुन्थ्यो कुन्नि उनले मलाई ओछ्यानमा हुर्याइदिन्थिन् । तर, उनको मनै कति कोमल । केही बेरमै आएर मलाई सुम्सुम्याई हाल्थिन् । हुन त म जस्तै पुस्तकलाई साथी बनाउने धेरै होलान् । तर मलाई जति माया गर्ने साथी त विरलै होलान् । मलाई नै हेरेर, मलाई नै छोएर, मेरै नाम जपेर उनी अब्बल भइन् ।

हातखुट्टा ठोक्किएमा के गर्ने ? आगोले पोलेको ठाउँमा के लगाउने ? धुवाँधुलोबाट कसरी जोगिने ? स्वस्थ हुन के खाने ? आनीबानी र जीवनशैली कस्तो अपनाउने ? घाइते र बिरामीको उपचार कसरी गर्ने ?

आयु लामो बनाउने विधिदेखि बिरामी र घाइतेको उपचार गर्ने पद्धति र जानकारी सबै थिए मभित्र । उनलाई यी सबै कुरा कण्ठस्थ थिए । मप्रतिको मोह, प्रेम, लगाव र झुकावले उनको परीक्षा पनि राम्रो भयो ।

नामको अघिल्तिर डाक्टर झुण्ड्याएर अरुको जीवन बचाउने सपना पूरा हुनै लाग्दा उनको मुहार धपक्क बलेको थियो । यही बलेको मुहार बाआमालाई देखाउन र खुशी साटासाट गर्न उनी घर फर्कने तयारीमा लागिन् ।

ठूलो ब्यागभित्र लुगाफाटासँगै म पनि थिएँ । मलाई एक्लै छाडेर उनी जानै सक्थिनन् । मलाई डर त थियो कतै मलाई र्याकमै बस भनेर उनी मात्रै जाने त होइनन् । ब्यागको अर्को साइडमा काईंयो, गाजल, लिपिस्टिक थिए ।

ब्याग बोक्नुअघि उनले ऐना हेरिन् । कपाल मिलाइन् । देबे्र आँखाको कुनामा गाजल थोरै लतपतिएको रहेछ, रुमालले पुछिन् । अनि मुसुक्क हाँसेर ब्याग बोकिन् । साथीहरुलाई भेटिन् । उनीहरु पनि उसैगरी घर जाने तयारीमा थिए । सबैको मुहारमा उस्तै खुशी, उत्साह र परिवारलाई भेट्ने व्यग्र प्रतीक्षाको भाव थियो ।

एकैछिनमा विमानस्थल पुगियो । विमानस्थलमा चेक गर्ने मेसिनले पनि मलाई चिन्यो र म सहितको ब्यागले सजिलै प्रवेश पायो । ब्याग खोतल्दै गरेका सुरक्षाकर्मीले मलाई हातमा लिएर ढोगे । मेरो आफ्नै मान, प्रतिष्ठा र शानको महत्व बुझेर म गद्गद् भएँ ।

एकैछिनको पखाईपछि विमानभित्र पस्ने बेला भयो । विमानको ढोकामै उभिएकी परिचारिकाले मन्द मुस्कानसहित नमस्कार गर्दा मलाई पनि मुस्काउन मन लाग्यो ।

म उनको ब्यागभित्र थिएँ । तै पनि सबै देख्दै थिएँ, अनुभव गर्दै थिएँ । उनले अर्को ब्याग सिटमाथि राखिन्, अनि म रहेको ब्याग काखमा राखेर सिटमा बसिन् । बेल्ट बाँधिन् । सँगैको सिटमा र अघिपछि अरु साथीहरु थिए ।

विमान उड्नुअघि परिचारिकाले अगाडि उभिएर सुरक्षाको उपायबारे जानकारी गराइन् । उनको सांकेतिक हाउभाउ हेर्दै र स्पिकरको आवाज सुन्दै गर्दा उनले सिटको अघिल्तिर राखिएको पुस्तिका समाइन् ।

मभन्दा पातलो त्यो पुस्तिकामा आपतकालीन अवस्थामा के गर्ने भन्ने महत्वपूर्ण जानकारी थियो ।

त्यो पढ्दै गर्दा उनको आँखा आपतकालीन अवस्थामा प्रयोग गर्ने ढोकातिर पुग्यो । अनि चुप लागेर त्यो पुस्तिकालाई सिट अघिल्तिरकै उ रहने ठाउँमा राखिन् । र झ्यालबाट पर आकाशतिर हेरिन् । मलाई थाहा थियो, उनको मन घर पुगिसकेको छ, बाआमाको अँगालोमा बेरिने हतारो छ ।

अर्कोपट्टि सिटमा रहेका एकजना भलाद्मी पत्रिका पढ्दै थिए । उनलाई पनि म राम्रोसँग चिन्छु । मलाई धेरै माया गर्ने मान्छे । मेरा पानापाना पढेर, गुदीगुदी केलाएर डाक्टर भएका मान्छे हुन् । उनले धेरै बिरामीलाई अकालमा ज्यान जानबाट बचाएका थिए ।

सबैले मान्ने र मलाई बुझ्ने ती डाक्टरको हातमा पत्रिका थियो । पत्रिकामा धेरै कुरा छापिएका थिए । विश्व राजनीति, अर्थ, खेलकूद, समाज, मनोरञ्जनका सामग्री । अलि पछिल्तिरको पानामा स्वस्थ रहन के खाने र जीवनशैली कस्तो अपनाउने भन्ने कुरा लेखिएको थियो ।

मानिसको स्वास्थ्यको विषयमा लेखिएका कुरा देख्दा मलाई निकै खुशी लाग्छ । किनकी मभित्र पनि मान्छेलाई कसरी स्वस्थ राख्ने, बिरामी तथा घाइतेलाई कसरी बचाउने भन्ने कुराहरु नै छन् ।

ब्यागको प्वालबाट मैले वरपर चियाइरहँदा मलाई माया गर्ने युवाहरु पढाईकै कुरा गर्दै थिए । ‘अब त डाक्टर हुने सपना पूरा हुने भयो है’ मलाई हरहमेशा साथ दिने र जहाँ जाँदा पनि साथ नछोड्ने किशोरी बोलिन् ।

‘अँ त नि बुवाआमा कति खुशी हुनु होला है ?’ सँगैकी साथी मुसुक्क हाँसिन् । 

‘मलाई त कहिले आमालाई अँगालो हालौं भैसक्यो’ पछिल्तिरकीले थपिन् । 

‘बाआमाले कति दुःख गरेर हामीलाई पढ्न पठाउनुभएको, हामी डाक्टर भएपछि त उहाँहरुको खुशी कस्तो होला’ मेरी उनी बोलिन् । 

‘अब विदेशमा पढियो, देशमै बसेर बिरामीको सेवा गर्नुपर्छ’ अघिल्तिर सिटमा रहेका अर्का किशोर बोले ।

उनीहरुको कुरा सुनेर म फेरि गद्गद् भएँ । मेरै संगत गरेर, मसँगै भएका कुरा जानेर यति धेरै बुझ्ने भएका युवाहरु, जसले बिरामीलाई अकाल मृत्युबाट बचाउँछन् । 

सोच्दासोच्दै विमानका कर्मचारी चिया र खाजा लिएर आए । मलाई थाहा थियो, घर जाने भनेपछि उनलाई भोकै लाग्दैन । कति बेला घर पुगँ भन्ने मात्रै ध्यान हुन्छ उनको ।  बिहान पनि जुठोमुखो मात्र गरेकी थिइन् । अलिकति खाइदिए हुन्थ्यो भन्ने लाग्यो । मेरो कुरा बुझिछिन् क्यारे । विमानका कर्मचारीले दिएका सबै खानेकुरा खान थालिन् । 

‘हेर न बिहान हतार भएर राम्रोसँग खान पाएको थिइन, कस्तो भोक लागिरहेको थियो’ सँगै बसेकी साथीसँग भनिन् । साथीले पनि बिहान राम्रोसँग खान पाएकी रहिनछिन् । दुवैले मुख मिठो गरी खाजा र चिया खाए ।

विमानमा रहेको स्पिकरमा बेलाबेला आवाज आउँदै थियो । स्पिकरबाट सिटमै बसिरहन र बेल्ट नफुकाल्न अनुरोध भयो । सबै चुपचाप बसे ।
एकछिनपछि विमान ओर्लने बेला भएछ क्यारे । अलि बढी हल्लिन थाल्यो । अघि उड्नेबेला र बीचमा कतैकतै पनि यसैगरी हल्लिएको थियो । अलिअलि अलिअलि गर्दै विमान त झनै बढी हल्लिन थाल्यो । 

म बसेको ब्याग तल झर्यो । सबै आत्तिन र कराउन थाले । सिट मुनी चेपिएर रहेको मैले उनलाई हेरेँ । उनी अत्तालिँदै साथीलाई अँगालो मार्दै थिइन् । के गर्ने कसो गर्ने कसैले मेसो पाएन ।

विमानमा आपतकालीन अवस्थामा के गर्ने भनेर लेखिएको पुस्तिका पनि मभन्दा पर छरपस्ट थियो । उसलाई पल्टाएर सुरक्षित हुने उपाय थाहा पाउन कसैले सकेन । 

मलाई थाहा थियो, जहाजमा आपतकालीन अवस्था आउँदा त्यसबारे पाइलटले विमानस्थलाई जानकारी गराउनुपर्छ । डाक्टरले मलाई पढेजस्तै पाइलटले पनि मेरै साथीलाई पढेका थिए । पाइलटले पढ्ने मेरो साथी पुस्तकमा उडान सुरक्षासँग सम्बन्धित सबै कुरा लेखिएको थियो । तर पाइलटले पनि त्यो किताब पल्टाउन पाएनन् । किताबै पढेर जानेको कुरा देखाउन सकेनन् ।

कसैले केही सोच्न नभ्याउँदै विमानभित्र धुवाँ र आगोको मुस्लो निस्कियो । कोलाहल मच्चियो । कोही कता ठोक्किए, कोही कता ढले । रुवाबासी र कोलाहलको बीचमा म पनि पछारिएँ । मलाई माया गर्ने, सधैँ साथमा बोक्ने मान्छेलाई त्यसपछि देख्न सकिन । नजिकै रहेका कसैको हात खुट्टा ठोक्किएको थियो, आगोले पोलेको थियो ।

मभित्र बिरामी र घाइतेहरुलाई कसरी उपचार गर्ने भन्ने उपाय त थियो । तर उपाय मात्रै भएर के गर्ने । यी उपाय जानेकाहरुलाई कसले जोगाउने ? के गर्ने कसो गर्ने भन्ने उपाय सोच्दासोच्दै वरपर सबै अन्धकार भयो । 

–सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा भेटिएको पुस्तक

ठूलो बोराभित्र धेरैबेर खाँदिएर, निस्सासिएर बाहिर निस्केजस्तो केहीबेरमा होस खुल्यो । मेरो होस खुल्दा मसँगै रहेका कोही पनि होसमा थिएनन् । मलाई माया गर्ने, सधैँ साथमा लिएर हिँड्ने उनी थिइनन् । उनका साथी थिएनन् । मलाई माया गर्ने डाक्टरसाब थिएनन् । कोही मुढो चाहिँ ढलिरहेका । कोही अंगार र खरानी बनिसकेका । कोही अलिअलि चलमलाउँदै गरेका । 

म आफैं पनि धुजाधुजा भैसकेछु । विमानमा आपतकालीन अवस्थाबारे यात्रुलाई सजक गराउने मेरो साथी पुस्तक खरानी भैसकेको थियो ।

के खाँदा आयु लम्बिन्छ भनेर लेखिएको अर्को साथी पत्रिकाको पनि नामोनिशान थिएन ।

हवाई सुरक्षाको उपाय लेखिएको अर्को साथी त्यही पढेर विमान उडाउन खप्पिस भएका पाइलटसँगै बेपत्ता थियो । 

विमानस्थलमा आकस्मिक उद्धार कसरी गर्ने भनेर पढेका, तालिम लिएका मान्छे ढिलो गरी आइपुगे । घाइतेहरुलाई अस्पताल लगे । मलाई समातेर पाखामा मिल्काए । आगोले डढ्दा र पानीले पखालिँदा पनि मेरो त अलिअलि अस्तित्व बाँकी रहेछ ।

तर मलाई पढेर बिरामीको ज्यान बचाउने कसम खाएका युवाहरु कोही शव पहिचानको उपाय पर्खेर शिक्षण अस्पतालको अँध्यारो कोठाभित्र अर्को जीवनको पर्खाईमा रहेका छन् । कोही अस्पतालमा सुतेर सकिनसकी सास फेर्दैछन् ।

मभित्र भएका स्वस्थ र लामो जीवन जिउन सिकाउने धेरैथोक डढेर सकिएपछि म पनि केही उपाय नभेटेर घाइते अवस्थामै अलपत्र छु । मलाई सधैँ सुम्सुम्याउने मान्छे गुमाएको मेरो पीडा सुनिदिने कोही छैन ।   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया