MENU

बातावरण-कृषि

अतिक्रमण रोक्न ‘कबुलियति वन’

कपिल कोइराला/उज्यालो । 

काभ्रे, चैत ६ – जिल्लामा सामुदायिक वन अतिक्रमण नरोकिएपछि अतिक्रमण भएको ठाँउलाई कव्लियति बन बनाइएको छ । काभ्रेको पाँचखाल नगरपालिका १० र १२ नम्बर वडाको बेलाखोले सामुदायिक वन भित्र दुई ठाँउमा कबुलियति वन बनाइएको छ । 

बेलाखोले सामुदायिक वन भित्र १३ घर परिवारले अतिक्रमण गरको ठाँउमा जुरेली थुम्का कबुलियति वन समूह र ८ परिवारले अतिक्रमण गरेको ठाँउमा सालथुम्की कबुलियति वन समूह बनाएर काम अघि बढाइएको छ । वन भित्रको १० हेक्टर अतिक्रमण गरेर मकै, गहुँ, आलुलगायतका अन्नबाली लगाइएको थियो । द्वन्द्वकालमा वन समितिलाई धम्क्याएर रुख कटान भएपछि गह्रा –गह्रा रहेको जुरेली थुम्का र सालथुम्कामा स्थानीयले अतिक्रमण गरेका थिए ।

कुल १ सय २३ हेक्टर वन पहिलेकै अवस्थामा पुर्‍याउनको लागि अतिक्रमण भएको ठाउँमा कबुलियति बनाईएको बेलाखोले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बासुदेव प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कबुलियति बनाइएको ठाउँमा मकै गहुँको सट्टा कागती, कटहर, अम्बा, आँप, लिचि, चाँप, लप्सी, सल्ला र हर्रो जातका फलफूल तथा रुखविरुवा रोपिएको छ । 

वन कार्यालयको रोहवरमा वन समितिले कबुलियति वन समूहलाई २० वर्षको लागि जिम्मा दिएको छ । पहिले जग्गा अतिक्रमणका लागि लागेकाहरु नै कबुलियति वन समूहमा बसेर बन जोगाउन लागेका छन् । अरुको लहै–लहैमा लागेर जंगल फाँडेर बारी बनाउनु भएका जितबहादुर लामा नै वन जोगाउन लाग्नुभएको छ । उहाँ जुरेली थुम्का कबुलियति वन समूहको अध्यक्ष हुनुहुन्छ । ‘पहिला अरुले वन फाँडेर बारी बनाएपछि आफू पनि पछि लागेर वन फाँडेर बारी बनाइयो, अहिले आएर थाहा भयो अब संरक्षणमा लाग्छु ।’ उहाँको समूहले फडानी गरेर बारी बनाएको ठाँउमा लप्सी, चाँप, अम्बा, आँप, कागतीलगायतका विरुवाहरु रोपेर संरक्षणमा जुटेको छ ।  

बनले नसकेको ‘माकुरा’ले मिलायो विवाद

सामुदायिक वन अतिक्रमण भए पछि समितिले जिल्ला वन कार्यालयलाई धेरै  पटक ताकेता ग¥यो । वन कार्यालयका कर्मचारी पनि त्यस ठाउँमा विवाद मिलाउन धेरै पटक पुगे तर विवाद मिलाउन सकेनन् । जिल्ला वनकै आग्रहमा २०७२ सालमा प्रकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्रले विवाद मिलाउन जब माकुरा समूह बनाएर काम सुरु ग¥यो र २०५८ सालदेखि भएको विवाद नै टुङ्गियो । 

२०७२ साल पुष २८ गते वन कार्यालय, सामुदयिक वन समिति तथा केन्द्रबीचमा पूर्व तयारी बैठक बस्यो । चैत्र २७ गते समस्याको पहिचान र त्यसको समाधान खोजेर साझा सवाल प्रस्तुत भए पछि सबै पक्षको उपस्थितिमा १७ बुँदामा सहमति गर्दै विवाद टुङ्गिएपछि अहिले वन संरक्षणमा लागेका छन् । ‘केन्द्रले सुरुमा द्वन्द्व के हो ? कसरी उब्जियो ? कसरी झाङ्गियो  र द्वन्द्वले के प्रभाव पारेको छ विस्तृतमा बुझ्छ ।’ आफूहरुको काम गर्ने तरिकाबारे जानकारी दिँदै प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रीय क्षेत्रीय संयोजक रमिला हुमागाईँले भन्नुभयो–‘अनि द्वन्द्व समाधानको निर्णयले असर पर्ने र निर्णयलाई असर पार्ने पक्षहरू पनि पहिचान गर्छौँ र सबै पक्षहरूलाई राखेर छलफलमा पुगेर द्वन्द्व समाधानमा लैजान्छौँ ।’

कसरी मिलाइन्छ माकुरा समूहबाट ?

जसरी माकुराले विन्दुहरुमा पुगी धागोहरुलाई जोडेर जालो बनाउने काम गर्छ, त्यसैगरी काम गर्न सक्ने व्यक्तिहरुलाई समावेश गरेर माकुरा समूह बनाइन्छ । माकुरा समूहको नेतृत्व लिने व्यक्ति दुवै समूहले पत्याएको र विश्वास गरेको व्यक्ति हुनुपर्छ ।

दुबै समूहबाट १–१ जना छानिएपछि तालिम दिइन्छ । तालिम लिइसकेपछि उनीहरुले आ–आफ्नो समूहको प्रतिनीधिहरुसँग भेटी सबैको समस्या सुक्ष्म रुपमा केलाउने प्रयास गर्छन । दुई ओटै समूहका सुक्ष्म कुराहरुलाई लिएर दुबै पक्षको संयुक्त बैठक राखिन्छ र छलफल चलाइन्छ ।  छलफलमा निस्किएका विकल्पहरुको समिक्षा गर्दै माकुरा समूहका सदस्यले अगाडीको बाटो तय गर्दछन् । 

माकुरा समूहले दुबै पक्षका साझा विकल्प दिएपछि विवादित दुई समूह एक विकल्पमा मान्न बाध्य हुन्छ । यो द्वन्द्व रुपान्तरण प्रकृयाको निचोडमा पुग्ने चरण हो । र त्यसपछि दुई ओटै समूह सहमतिमा आएर सहमति कार्यान्वयनमा लाग्छन् । यही पक्रियालाई ‘माकुरा’ भनिन्छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया