MENU

बातावरण-कृषि

सप्तरीमा चैते धान रोप्ने चटारो, सिंचाईको व्यवस्था नहुँदा किसान समस्यामा

शुभ नारायण यादव/उज्यालो । 

सप्तरी, चैत ९ – समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाएका सप्तरीका किसानहरुलाई यतिबेला चैते धान लगाउन चटारो परेको छ । चैते धान रोपाईँका लागि किसानहरु विहानदेखि साँझसम्म खेतमै व्यस्त हुने गरेका छन् । कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमित रुपमा पानी आउने नआउनेबारे निश्चित नभए पनि पम्पसेट, भपलेटर, मोटर आदी वैकल्पिक माध्यमबाट चैते धान रोप्नका लागि किसानहरु लागि परेका छन् । 

सप्तरीको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा, देउरी भरुवा, बोरियालगायतका ठाँउमा चैते धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

वैकल्पिक बालीको रुपमा मानिएको चैते धान खेती गर्ने किसानहरुलाई सरकारले समयमा सिंचाईको व्यवस्था गर्न नसकेको बरही बीरपुर–७ का कृषक वौआ लाल यादवले गुनासो गर्नुभयो ।

जिल्लामा २ वटा नहर छन् तर चैते धानका लागि पानी आउने नआउने सुनिश्चितता छैन, उहाँले भन्नुभयो,‘ त्यसैले हामीहरु सिंचाईका लागि वैकल्पिक माध्यमको भर पर्नु बाहेक विकल्प नै छैन ।’ उहाँले सुख्खा खडेरीका कारण धान खेती हुन नसकेको र बाध्य भएर चैते धान लगाउन थालेको बताउनुभयो ।

चैते धान राम्रोसँग सप्रियो भने वर्षभरिका लागि घर परिवार धान्न सहज हुने उहाँको भनाई छ । तर पनी तान्ने पम्पीङ्गसेट, भपलेटर डिजेल तथा मट्टीतेलबाट चल्ने भएकाले महँगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिमा लगानी हुन नसकेकाले व्यवसायिक रुपमा धान खेती हुन नसकेको अर्का किसान सुर्यनारायण यादवको भनाई छ ।
चैते धान लगाउन निक्कै मेहनत र लागत लाग्ने गरेपनि धानको उचित मूल्य निर्धारण हुन नसक्दा निम्न वर्गीय किसानहरु मारमा पर्ने गरेको छ ।

‘गएको वर्ष ५ कठ्ठामा मात्र चैते धान खेती गरेकोमा यसपाली थप पाँच कट्ठामा चैते धान लगाएको छु’, यादवले भन्नुभयो,‘नहरमा पानी आउने सुनिश्चितता भईदिएको भए कम्तिमा एक–डेढ बिगहामा खेती गर्थे ।’ खेतीको समयमा भारत सरकारले समयमा पानी नछाड्ने गरेका कारण खेती गर्न समस्या हुने गरेको किसानहरुले गुनासो गरेका छन् । 

२०५९ सालदेखि तेस्रो प्रमुख बालीको रुपमा रहेको चैते धान खेतीमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयका नायव सुब्बा दिनेश प्रसाद यादवले जानकारी दिनुभयो । हिँउदे धानखेती राम्रो नभएकोले कम्तिमा पाँच हजार हेक्टरमा चैते धान खेति हुनसक्ने जिल्ला कृषि विकास कार्यालयको अनुमान छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया