MENU

साहित्य/ कला

ujyaalo forign call inside

सडकको आत्मकथा : करोडका गाडी चढ्नेसित दुई पैसा कम बुध्दि !

मिलन तिमिल्सिना/उज्यालो ।

म सडक हु सडक ! तपाईलाई थाहै छ सडकलाई सबैले हेप्छन्, चेप्छन्, थुक्छन्, खकार्छन्, कोतर्छन्, पल्टाउँछन्, उचाल्छन् । थिलोथिलो पार्छन् । चाहिँदा भाँडो, नचाहिँदा ठाँडो जस्तो भएको छु म । उबेला ममाथि  लम्पसार परेर सुतेका थिए कतिजना ! ती अहिले घुम्ने घुर्सीमा बस्न पुगिसके । पहिले यहीँ मेरै छातिमा पुलिसको डन्डा खाँदै पछारिए । तिनलाई मैले थामे । अहिले उनीहरु झण्डा हल्लाउँदै मैलाई थिचेर हिँड्न थालिसके । उनीहरु सबैको अवस्था सुध्रियो, मेरो जिउँका तिउँ पनि रहेन, अरु बिग्रयो । धुलाम्मे हिलाम्मे, डुङडुङ गन्हाउने । शरीर बाहिर पाप्रैपाप्रा, भित्र पाइप र ढलको गुजुल्टो भएर म छटपटाएको छु । 

मैले थाम्न नसक्ने बडेमानका गाडी मलाई कुल्चेर गुड्छन् । पुतुतु धुवाँ उडाउँछन् । डिल जस्ता करंग भत्काउने गरी घ्यारघ्यार गर्छन् । एउटा आउँछ, तातो अलकत्रा पोख्छ । पिच गरेर चिल्लो बनाउँदासम्म खुशी लाग्छ । ममाथि गुड्ने मोटरको सिसामा ऐना हेरेर बेलाबेला मख्ख पनि पर्छु । तर के गर्नु उतिखेरै अर्को गैंची र साबेल बोकेर आउँछ । ब्वाङ कि ब्वाङ मै माथि खनिन्छ । पाप्रा उप्काउँछ । घाउ बनाउँछ । यता कोतर्छ, उता उप्काउँछ । मलाई बिरुप बनाउँछ । 

एउटाले पाइप खाँद्छ । अर्कोले ढलको ह्युमपाइप घुसार्छ । पाइपमा पानी बग्दैन, ढल मात्र बग्छ । डुङडुङ गनाउँछ । पेटभित्र ढल, पेट बाहिर पनि ढल । खोक्रो पाइप । त्यति मात्र हो र मेरो टाउकोमाथि टेलिफोन र बिजुलीका तार छरपस्ट टाँगिन्छ । वर्खामा खाल्डाखुल्डी पारेर मलाई हिलाम्मे बनाउँछन् ।  पानी नपरेको बेला धुलैधुलो बनाएर धुलाम्मे पार्छन् । 

धुलो र हिलोले त मलाई कहिल्यै छोडेन । त्यसमाथि फोहोरको डंगुर । घर बनाउँदा यहाँका मान्छेले बाँसको घनाभन्दा अग्लो र ठूलो बनाउने बुध्दि प्रयोग गरे, तर मलाई खाल्डाबाट माथि उठाउने तिनीहरुको बुद्धि कहिल्यै आएन । चिटिक्क लुगा मात्र लगाएर के गर्नु, तिनको मन कहिल्यै सफा भएन । घर भित्रबाट प्लाष्टिकमा फोहोरको पोका ल्याउँछन् । फुत्त मेरै ढाडमाथि हुत्याउँछन् र कुद्छन् ।

महानगरपालिकाको गाडीले पनि कहिलेकाहीँ मेरै छातीमाथि फोहोरको डुंगुर ल्याएर थुपार्छ । मेरो छेउ भएर एकछिन हिँड्नेले त नाकमुख थुन्छ भने सधैं त्यही फोहोर टाउकोमा राखेर बस्ने मलाई झन् कस्तो भएको होला ? करोडका गाडी चढ्नेसित र जनताको मन जितेर भोट पाउनेसित दुई पैसा बराबरको बुध्दि नदेख्दा मलाई हासो र पीर दुबै लागिरहन्छ । सोच्छु म भन्दा पनि बुध्दिहीनहरुले मेरो विनास किन नदेखेको होला ?   

हामी सडक सबैले उत्तिकै भुक्तमान पनि खेपेका छैनौं । नयाँ सडक, दरबारमार्ग सबैभन्दा भाग्यमानी सडक । प्रायः त्यहाँ कसैले भत्काउँदैन । भत्काइहाले पनि टाल्छ । फोहोर त बेलाबेला फाल्छन् नै । तैपनि तुलनात्मक रुपमा केही भाग्यमानी हुन् ती । 

त्यताका सडकमा त मान्छे पनि राम्रा राम्रा मात्रै देखिन्छन् । यसो जिउमा धर्को लुगा मात्रै लगाएका मान्छे । तर अरु देख्नेलाई भन्दा मलाई चाहिँ बढी लाज हुने गरेको छ । लजाउने भए पनि यताका सडक त भाग्यमानी । त्यसबाहेकका अरु त सबै अभागी । 

अहिले कलंकी–कोटेश्वर सडक पनि भाग्यमानी हुँदैछन् । तर तिनको खुशी पनि कहिलेसम्म टिक्ने हो, थाहा छैन ।

काठमाडौंको नाकैमुनिको नागढुंगा नाक सफा नगर्ने मान्छेजस्तै फोहोरी र विरुप छ । सधैं गाडीको लस्कर । धुवाँ र धुलो । जाम र हैरान । मर्मत गर्ने भन्दै ठेकेदारहरु यहीं ओइरिन्छन् । काम भन्दा धेरै दाम खल्तीमा हालेर कुलेलम ठोकेको मैले धेरैपल्ट देखेको छु । भनौं भने कसलाई भनौं । सुन्नेका कान कागले लगेर होला, आजकाल सुन्नु पर्ने मान्छे पनि कान नसुन्ने भैसकेका छन् ।

अहिले कलंकीदेखि नागढुंगासम्मको हालत त्यस्तै छ । विस्तार गर्ने काम निकै विस्तारै भएपछि धुलो र खाल्डाखुल्डीले हैरान भैसकियो । विस्तारलाई रफ्तार भन्ने नाम राख्दा काम छिटो हुन्थ्यो कि ?

सडक बनाउनेबाट त हैरान छु नै । पैदलयात्रु, यात्रु र छिमेकीहरुबाट पनि उत्तिकै हेपिएको छु । मेरो वरपर घर बनाएर बस्नेले मेरै छेउमा गाईवस्तु ल्याएर बाँध्छन् । आफ्नै आँगन ठान्छन् । भित्रबाट बढार्दै ल्याएर कसिंगर मेरै थाप्लोमा फाल्छन् । दिसापिसाब पनि मै माथि गर्छन् । लाजै नमानी मेरो छेउमा आएर कट्टु फुकाल्छन् । फोहोर गर्छन्, हिँड्छन् । तिनीहरुको ताल देख्दा म के जातिलाई भन्दा देख्नेलाई लाज भन्ने उखान सम्झन्छु । तर देख्नेलाई त लाज लाग्ने भन्ने उखान मेरो हकमा त फिका लाग्छ । किनभने मैले त तिनको गु र मूत आफ्नै थाप्लामा पर्दा पनि चुपचाप सहनु परेको छ । 

आर्थिक वर्षको अन्त्यमा पैसा सक्न ममाथि अलकत्रा र गिटी बालुवा हुत्याउँछन् । उतिखेरै अर्को आएर ठोकठाक पार्छ । नारा जुलुस हडताल गर्नेले पनि मैमाथि रिस फेर्छ । मैमाथि आएर उफ्रन्छ । कुर्लन्छ । यसो गर उसो गर भन्दै मलाई नै बजार्छ । मलाई यसो गरी गरी कतिजना मान्छे प्रधानमन्त्री र सयौ मान्छे मन्त्री भैसके । तर दिनरात मसँगै सुत्ने सडक बालकहरु चाहिँ कहिल्यै माथि पुगेनन् । मेरो जस्तै उनीहरुको अवस्था सुध्रेन ।

म कस्तो कस्तो खै ? मैले म आफैंलाई चिन्न सकिन । अभागी भनौं भने म जस्तो भाग्यमानी कोही छ जस्तै लाग्दैन । लाठी मुङग्री मसाल झण्डा बोक्दै नाडी निमोठ्दै धाक धम्की र घुर्की लगाउँदै म भएको ठाउँमा आएकालाई मैले शक्तिसाली ठाउँमा पुर्याएको छु । प्रधानमन्त्री, मन्त्री र ठूलो मान्छे बनाएको छु । निहुँ खोज्ने र घुर्की लगाउनेलाई ठाउँमा पुर्याउन सक्ने म भाग्यमानी होइन र ? हो नि । 

तर म जस्तो अभागी पनि कोही छैन । म आफू पनि अभागी, अनि मसँगै अलपत्र परेका अरु पनि अभागी । माग्न बसेका, घर नभएका मान्छे हेर्छु, दुईचार पैसाको लागि दिनहुँ नगर पुलिससँग लुक्दै भाग्दै गरेका व्यापारीलाई हेर्छु, सबै म जस्तै अभागी । फोहोर, हिलो, धुलो, ढल, दिसापिसाब, ठोकठाक, खनखान, नारा जुलुस, धर्ना अनसनले थिलोथिलो भैसकें म । कुरुप भैसकें । मेरो व्यथा बुझ्ने यो देशमा कोही भएन । म लमतन्न परेर यसैगरी सुतिरहने भएँ । म निदाएको बेला ममाथि बलात्कार भैराछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया