MENU

बातावरण-कृषि

चिडियाखानामा हाइकु यात्रा

 

काठमाडौं, चैत ११ –  सदर चिडियाखाना, जावलाखेलमा शनिबार एक हुल हाइजिन (हाइकु रचनाकार) पसे र त्यहाँका पशुपंक्षी, बोटविरुवा र वातावरणलाई विषय बनाई सय थान हाइकु रचना गरे । 

नेपाल हाइकु केन्द्रले आयोजना गरेको वसन्त हाइकु यात्राका सहभागी रामकुमार पाँडे, सुवर्णराम जोशी, लालबहादुर भुजेल, श्रीहरि फुयाँल, श्याम रिमाल, मुकुन्द पथिक, रमेश सागर, मित्रबन्धु पौडेल, शेरबहादुर तामाङ र विभव अधिकारीले चिडियाखानाका पशुअधिकार, स्वतन्त्रताकोे महत्व, कैदी जीवनको विवशता, वसन्त ऋतुको सौन्दर्य, मानिस र जनावरको भिन्नता, यातनामा रमाउने मान्छेको प्रवृत्ति आदिलाई ऋतुबोधक र विम्वात्मक पाराले हाइकुमा पोखे ।

चिडियाखाना घुम्दै आउनुभएका राधिका पन्तले पनि सो अवसरमा आशावादी कविता सुनाउनुभयो । एक घण्टासम्म चिडियाखानामा यात्रा गर्दै हाइजिनले लेखेका बहुसङ्ख्यक कवितामा स्वतन्त्रतालाई नै सबैले प्राथमिकता दिएका थिए र पशुअधिकारबारे वकालत गरेका थिए – 

नथुन्नू अब 
पशु र चरालाई 
रमिता हेर्न । (मुकुन्द पथिक) 

उल्टो नियम 
उड्नेलाई थुनेर 
थुन्ने उड्या छ । (मित्रबन्धु पौडेल) 

बन्दी होइन 
चराचुरुङ्गीहरु 
आकाश माग्छन् । (श्रीहरि फुयाँल) 

यो अवसरमा हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले केन्द्रले प्रायः सबै छ ऋतु र घोडेजात्रामा कार्यक्रम आयोजना गरेको, हाइजिनहरुले प्रायः यात्रामार्फत हाइकु लेख्दै आएको र केन्द्रले प्रकाशन पनि गरेको जानकारी दिँदै नेपाली साहित्यलाई जापानी शैलीको हाइकु ९तीन हरफ, पाँच–सात–पाँच अक्षर, ऋतुबोधक शब्द र विम्बसहित०ले धनी बनाएको र यसप्रति स्रष्टाको आकर्षण बढिरहेको बताउनुभयो । 

मयूरी नाच 
बन्धन भए पनि 
बाँच्ने उत्साह । (विभव अधिकारी) ।
– रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया