MENU

बातावरण-कृषि

नदीजन्य वस्तुको अनियन्त्रित निकासीका कारण गाउँ नै जोखिममा

गोपाल भण्डारी/कपिलवस्तु । 

कपिलवस्तु, चैत्र १२ – वाणगंगा नदीबाट जथाभावी नदीजन्य वस्तुको उत्खनन् कार्य भइरहेको छ । वाणगंगा नदीका विभिन्न घाटहरुमा जिल्ला समन्वय समिति कपिलवस्तुले लगाएको नदीजन्य वस्तुको ठेक्का अन्र्तगत नियम विपरित उत्खनन् कार्य भैरहेको हो । 

अव्यवस्थित ढंगबाट नदीजन्य वस्तुको निकासी हुँदा वाणगंगा नदी नजिकको बस्ती उच्च जोखिममा परेको छ भने वन क्षेत्र मरभूमिकरण बन्दै गएको छ । दैनिकजसो सयौं ट्रयाक्टरहरुले जथाभावी रुपमा नदीजन्य वस्तु उत्खनन् गर्न थालेपछि नदी किनारका गाउँहरु उच्च जोखिममा परेका छन् । 

अव्यवस्थित निकासीका कारण वर्षौदेखि कृषकहरुले सिँचाइका लागि निर्माण गरेको बाँध पनि भत्कन थालेको छ । ६४ विगाहा क्षेत्रफलमा सिँचाई हुने बाँध भत्कन थालेपछि कृषकहरु चिन्तित बनेका छन् । यसका साथै अनियन्त्रित निकासीका कारण नदी किनारका गाउँहरुमा बाढी आउने डरले स्थानीय बासिन्दा निकै चिन्तित छन् । 

मापदण्ड अनुसार नदीजन्य वस्तु उत्खनन् गर्दा आफ्नो रकम न उठ्ने भएपछि ठेकेदार पक्षले नै जथाभावी ढंगबाट उत्खनन् कार्यलाई अघि बढाएका छन् ।  नदीजन्य वस्तु उत्खनन्को मापदण्डका बारेमा ठेकेदार पक्षले भने मजदुर र ट्रयाक्टर व्यवसायीहरुलाई बताएका छैनन् । 

नदीजन्य वस्तुको ठेक्का लगाएर आम्दानी गर्ने तर यसको नियमनमा जिल्ला समन्वय समितिले चासो नदेखाएको स्थानीयको गुनासो छ । नदी क्षेत्र भन्दा बाहिर गई जथाभावी उत्खनन् हुन थालेपछि वन क्षेत्र पनि खतरामा परेको भन्दै जिल्ला वन कार्यालयले आफ्नो गम्भीर ध्यानआकर्षण भएको जनाएको छ ।

वन क्षेत्रसमेत संकटमा पर्न थालेपछि यसको प्रभावकारी अनुगमन हुनु पर्ने जिल्ला वन अधिकृत कृष्ण दत्त भट्टले बताउनुभयो । 

ठेकेदार पक्षले जिल्ला समन्वय समितिसँग गरेको ठेक्का सम्झौता अनुरुपको परिमाणमा नदीजन्यवस्तु उत्खनन् भैसकेको भए पनि यसको प्रभावकारी अनुगमन हुन नसक्दा ठेकेदार पक्षले सम्झौता भन्दा बढी वस्तुहरु उत्खनन् गरिरहेको कपिलवस्तु नगरपालिका वडा नम्बर – ६ का युवा अनिल क्षेत्रीले बताउनुभयो । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया