MENU

अन्तर्वार्ता

जीवन गुजार्न यता उता गर्नु नपरे खेलाडीले राम्रो खेल्छन् : कप्तान पारस

नेपालले क्रिकेटमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि यति बेला विश्वभर नै नेपाली क्रिकेटको प्रशंशा भैरहेको छ । डिभिजन टुमा क्यानडा माथिको नाटकीय जितसँगै विश्वकप छनौटमा पुगेको नेपाल सुपर सिक्समा त पुग्न सकेन । तर ४ वर्षको लागि एकदिवशीय मान्यता पाएर आफूलाई अब्बल सावित गरेको छ । ४ वर्षको लागि एक दिवशीय मान्यता पाएको नेपाली टोलीका सबैजसो खेलाडीमा यो उपलब्धी सदुपयोग हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । यसै सन्दर्भमा उज्यालो अनलाइनलका लागि अर्जुन पोख्रेलले नेपाली टोलीका कप्तान पारस खड्कासँग गरेको कुराकानी : 

पारस जी के मा व्यस्त हुनुहुन्छ हिजोआज ?

अहिले त शनिबारदेखि १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग डिपिएलको तयारी भैरहेको छ ।  हामी अहिले त्यसैको अभ्यासमा छौँ ।

विश्वकप छनोट खेलेर फर्कनु भयो । समूह चरणको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो, तर एकदिवशीय मान्यता पाउने या नपाउने भन्ने कुरा नेदरल्याण्ड्स र हङकङबीचको खेलमा पनि निर्भर थियो, नेदरल्याण्ड्सले हङकङलाई हरायो र नेपालले एकदिवशीय मान्यता पाउँदा त्यो बेला मनमा झ्वाट्ट के आयो ?

हो, हामीले त पीएनजीलाई हराएका थियौँ । तर अन्तिम खेल अघि नै एकदिवशीय पाउने या अन्तिम खेलले नै एकदिवशीय मान्यता पाउने भन्ने कुरा नेदरल्याण्ड्स र हङकङबीचको खेलले निर्धारण गथ्र्यो । त्यसैले हाम्रो खेल सकिएपछि पनि हामीले ती दुई देशबीचको खेल खुब नोटिस गरेका थियौँ । नतिजा हामीले खोजे झैै आयो । त्यसपछि एक अर्कालाई अंगालो मार्‍यौं, खुशी मनायौं । मैले २२ वर्षदेखिको क्रिकेटको संघर्ष सम्झिएँ, आनन्द लाग्यो ।

एकदिवशीय मान्यता पाएर त्रिभुवन विमानस्थलमा ओर्लँदा तपाइँको अनुहारमा चमकसँगै केही गाम्भिर्यता पनि देखिन्थ्यो । किन त्यस्तो ? मनमा के कुरा खेलिरहेको थियो र ? 

हो, चमक त नहुने कुरै भएन । हामीले ऐतिहासिक सफलता दिलाएर आएका थियौँ ।  हामीले गर्न सक्ने भनेको त ग्राउन्ड भित्रको राम्रो प्रदर्शन हो । त्यो हामीले गरेका थियाैँ। हाम्रो कन्ट्रोलमा हुने कुरामा हामीले सफलता पाएका थियौँ, तर नियामक निकायको कन्ट्रोलमा भएका कुरा किन बिग्रिए होलान भनेर चिन्ता पनि थियो । अब हामीले चुनौतीलाई चिर्दै अघि बढ्नुपर्छ । प्रशासनमा रहेका मान्छेहरुले स्वार्थ छाडेर क्रिकेटलाई विवादबाट माथि उठाउछन् भन्ने आशा पनि पलाएको थियो ।

तपाईँकै कप्तानीमा नेपालले क्रिकेटमा एकदिवशीय मान्यता पायो, अहिले फुरुङ्ख त सबैजना भैरहेका छौं । यो सफलताले थप दायित्व बढेको जस्तो लाग्दैन ?

दायित्व त पक्कै पनि थपिएको छ । अब हामीले यो योग्यता, क्षमताको सदुपयोग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो । जिम्मेवारीसँग हामीले भोलि हुने चुनौतीसँग जुध्न पनि तयार भैरहनुपर्छ ।

क्रिकेटलाई भर विनाको खेल पनि भनिन्छ, एकजना खेलाडी चम्किए पनि जित्न पर्याप्त हुने रहेछ भन्ने करण केसीले नै प्रमाणित गरिसके । अफगानिस्ताले पनि समूह चरणमा नेपालले जस्तै जम्मा १ खेल जितेको थियो, तर अन्तिममा उपाधि नै जित्यो, समग्रमा हेर्दा विश्वकप छनौट नेपालका लागि कतिको भर विनाको खेल बन्यो ?

हो, क्रिकेटमा कहिले काहिँ अपत्यारिलो पनि हुन्छ । तर हामीले हरेक गेममा राम्रो खेल्ने प्रयास गरेकै हौँ । डिभिजन टुदेखि लगातार खेल्दा हामीले राम्रो फर्म भेटाइसकेका थियौँ । सबैको लगनशिलले नै हामीले यो उपाधि जितेको हौँ । यो प्रतियोगितामा केही म्याजिक पनि भए तर धेरै त मेहेनत नै भयो । सबैको मेहेनतले सफलता पायौँ त्यसैमा खुशी हुनुपर्छ र अबको बाटोको बारेमा पनि सोच्नुपर्छ ।

सबै खेल र सबै सिजनमा चम्कने त विश्वमै दुर्लभ खेलाडी मात्रै छन्, तपाईँको नजरमा यो विश्वकप छनौटमा नेपालले केही त्यस्ता प्रतिभा पाएको छ ?

सबैले राम्रो प्रदर्शन गर्ने हो भने त सायद हामीले विश्वकप नै जित्थ्यौँ होला । तर कुनै पनि खेलमा सबैले राम्रो प्रदर्शन गर्न सक्दैनन् । ११ जनाले नै राम्रो प्रदर्शन गरे भने त टिम कस्तो हुन्छ भन्नुस त । तर हाम्रो खेलाडीले चाहिएको बेला राम्रो खेलेर जिताए, नयाँ खेलाडीको प्रदर्शनले झनै सन्तुष्ट बनाएको छ ।

यसअघि पनि हामीले अन्तर्राष्ट्रिय ट्वेन्टी–ट्वेन्टी मान्यता पाएका थियौं, तर खासै सदुपयोग गर्न सकेनौँ । अहिले पाएको एकदिवशीय मान्यता पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता छ । अब यो सफलतालाई अझ धेरै अवसरमा बदल्न के गर्नुपर्ला ?

सबैभन्दा पहिले त हाम्रो गभर्निङ बडी छ त्यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नुपर्‍यो । सामाधानको लागि सबैले केही योगदान गर्नुपर्‍यो । आफ्नो स्वार्थ मात्रै हेरेर भएन । खेलाडीहरुलाई खेलमै व्यस्त बनाउनुपर्छ । खेलाडीलाई कन्ट्रयाक सिस्टमा राखेर भए पनि निरन्तर रुपमा क्रिकेट खेल्ने वातावरण बनाउनुपर्यो । यी सबै कुरा गर्न फेरि पनि कुरा म्यानेजमेन्टको भूमिका देखिन्छ । त्यसैले राम्रो म्यानेजमेन्ट आउनुपर्यो । पहिला त्यस्तो राम्रो क्यान बनोस् अनि त्यसले राम्रा नियम ल्याएपछि नेपाली क्रिकेट अवश्य राम्रो हुनेछ ।

म्यानेजमेन्टको कुरा गरिहाल्नुभयो । आइतबार मात्रै नेपाली क्रिकेट खेलाडी संघको वार्षिक साधारणसभा पछिको पत्रकार सम्मेलनमा तपाईँहरुले गर्न नसक्नेले क्रिकेटको नेतृत्व छाड्नुपर्ने बताउनुभएको थियो । यदी सक्दैनन् भने हामी पनि गर्छौ भन्न खोज्नुभएको हो ?

त्यहाँ नेपालले एसोसियट मान्यता प्राप्त गरेदेखिका कप्तानहरु पनि सँगै हुनुुहुन्थ्यो । सबै पूर्व कप्तान, खेलाडी र पूर्व खेलाडीको चिन्ता के थियो भने क्यान पदाधिकारीबीच जुन मनमुटाव छ,  क्रिकेटका कुनै पनि काम भएका छैनन् । यस्तो अवस्थामा खेलाडि अघि आएर लिड गर्नुपर्ने हो कि भन्ने हामीलाई लाग्यो । मलाई लाग्छ यदी जिम्मेवारी दिने हो भने खेलाडीले पनि अघि बढाउन सक्छन् ।

पूर्व खेलाडी पनि हामीले क्रिकेटमा केही गर्नुपर्छ है भनेर आएको हुनाले त्यस्तो धारणा आएको हो । अब जो आए पनि क्रिकेटलाई प्राथमिकतामा गर्नुपर्‍यो । काम गर्नुपर्‍यो, जिम्मेवारी पूरा गर्नुपर्‍यो, यदि जिम्मेवारी पूरा गरेमा नेपाली क्रिकेटले अविश्वसनीय सफलता पाउन सक्छ ।

अहिले क्रिकेट समर्थकलाई सबैभन्दा चासोको कुरा चाहिँ क्यानको फुकुवा हुन्छ या खारेज हुन्छ भन्ने नै हो । यो बारेको पछिल्लो प्रगतिबारे तपार्इँलाई कतिको थाहा छ ?

मुख्य कुरा त अब सबैले आँखा खोल्नुपर्‍यो । अब नगरे कहिले गर्ने त भन्ने हेक्का राख्नुपर्‍यो । अब जुन महिनामा आईसीसीको मिटिङले हामीलाई खारेज गर्‍यो भने त्यो हाम्रो लागि सबैभन्दा धेरै दुर्भाग्य हुनेछ । त्यो दिन आउन नदिन हामी सबैजना एकै ठाउँमा बसेर आईसीसीको नियम पालना गर्नैपर्छ ।  हामीले सुरुमै आफ्नो समस्या आफैँ समाधान गरेको भए यो अवस्था आउने थिएन, हाम्रो कमजोरीले विवाद आईसीसीमा पुग्यो भनेपछि त अब आईसीसीको कुरा त मान्नुपर्‍यो ।

अब हामीले एकदिवशीय मान्यता पाए पनि भारत अष्ट्रेलियालगायतका ठूला देशसँग खेल्ने कुरा त टाढैको भयो । हाम्रै दाँजोका रहेका युएई, जिम्बावे, नेदरल्याण्ड्सलगायतका देशसँग एकदिवशीय सिरिज तत्कालै खेल्ने सम्भावना कतिको छ ?

अब हुने नै त्यै हो । अहिले आईसीसीको क्यालेन्डरमा हाम्रो लागि केही पनि नभएको भएर, होम एन्ड अवे म्याच हामी आफैँले गर्न सक्छौँ । त्यसपछि १/२ महिनामा आईसीसीले पनि ओडीआई राष्ट्रले के गर्ने भन्ने नियम र क्यालेन्डर ल्याउछ होला । त्यसैले आशा गरौं कि हामीले आउँदा दिनमा राम्रो रणनीति बनाएर राम्रो क्रिकेट खेल्नेछौँ ।

हामी आफैँले खेल्ने निम्ता दियौँ र विभिन्न देश आउन तयार भए भने हाम्रा भौतिक संरचनाले त्यो स्टान्डर्ड पूरा गर्छन त ?

विश्व क्रिकेट लिगमा नामिविया, केन्यालगायतका देश आएर यहाँ खेलेकै हुन् । मैदानमा सुधार्नुपर्ने पक्ष त छन्, तर काम गर्दै जाने हो भने त्यति गाह्रो पर्ने काम पनि होइनन् । विशेषगरी यो बर्खामा हाम्रो मैदानलाई सम्याउने, राम्रो घाँस ल्याउने, पिचको माटो फेरवदल गर्ने, मूलपानी मैदानलाई सुधार्नेलगायतका कुरा गरेमा अवश्य हामीले राम्रा देशलाई यहाँ बोलाएर खेलाउन सक्छौँ । 

खेल क्षेत्रका पदाधिकारीले मात्र होइन, सरकार स्वयम् प्रधानमन्त्री र मन्त्रीले पनि क्रिकेट मैदान बन्छ र बनाउछौं भनेको सुनिन्छ । समर्थकहरु यै कुरा सुनेर फुरुङ्ख हुन्छन् । तर खास अवस्थाबारे उनीहरुसँग त तपाइँहरुको कुरा हुन्छ होला । के भन्छन उनीहरु ?

हामीले वर्षौँदेखि एउटा क्रिकेट मैदानको गुहार गरिरहेका छौँ । कोहि आएर क्रिकेट मैदान बनाइदिन्छ कि भनेर आशा गरिरहेका छौँ । हामीले मागेको कुरा त एकदमै साधारण हो, जुन क्रिकेटर र क्रिकेटको लागि नभई हुन्न ।  हामी त फिल्डभित्र राम्रो खेल्ने हो, फिल्डबाहिर के हुन्छ भन्ने चासो हुन्न । कसैले राम्रो मैदान बनाइदिए त देशकै लागि राम्रो हुने हो । काम गर्न सक्ने भनिएका व्यक्तिसँग पनि हामीले बारम्बर यै भन्दै आएका छौँ । 

तपाईँहरुले राम्रो गर्ने वित्तिकै सरकार र अन्य निकायले नगद पुरस्कारको घोषणा गर्छन् । तपाईँहरुलाई नगद दिनुको साटो त्यो पैसा मैदान निर्माणमा लगाए हुन्थ्यो भन्ने कुरा पनि आउछन् । के यस्ता कुरा ठिक हुन ?

खेलाडीले राम्रो गरेवापत सरकारले नगद दिन्छ भने त राम्रो हो । तर मैदान निर्माणको लागि त छुट्टै बजेट छुटउनुपर्‍यो नि । विशेषगरी सरकारले क्रिकेटलाई छुट्टै प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ ।  यो खेलले १२/१५ वर्षदेखि निरन्तर नतिजा दिँदै आएको छ ।

तपाईँ त कप्तान पनि  हो, खेलाडीसँग अलि बढी घुलमिल हुनुहुन्छ । टिममा रहेका खेलाडीको आर्थिक अवस्था कस्तो छ ?

पहिलाको भन्दा सुधार त भएको छ, तर खास राम्रो छैन । तर यसलाई हामीले चाँडै नै सुधार गर्न सक्छौँ । जुन हिसाबले क्रिकेटले सफलता पाएको छ त्यही अनुसार खेलाडीको रेखदेख पनि हुनुपर्‍यो । खेलाडीले जीवन गुजार्न यता उति गर्न परेन भने खेल राम्रो हुन्छ । आशैआशमा यहाँसम्म आइपुग्यौं, अझै आशा बाँकी छ ।
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया