MENU

अर्थ

​३० पेज लामो श्वेतपत्र : यस्तो छ देशको आर्थिक अवस्था

काठमाडौं, चैत १६ – ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने लक्ष्यका साथ गठन भएको सरकारले देशको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराउने उद्देश्यसहित शुक्रबार श्वेतपत्र जारी गरेको छ ।  

अर्थमन्त्री डा.युवराज खतिवडाले जारी गर्नुभएको ३० पृष्ठ लामो श्वेतपत्रको अधिकांश बुँदामा अर्थतन्त्र चुनौतिपूर्ण, पूँजी निर्माणका क्रियाकलाप सुस्त, लगानीको आधार न्यून, राजस्व प्रणाली प्रगतिशील र नतिजामुखी नभएको उल्लेख छ ।

डा.खतिवडाले श्वेतपत्र जारी गर्दै अर्थतन्त्रका सम्पूर्ण परिसूचक नकारात्मक रहेको बताउनुभयो । बजेट अनुशासन उल्लंघन भएको कारण देशको सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको उहाँले बताउनुभयो । सरकार गठन हुँदा नेपालको अर्थतन्त्र निकै चुतौनीपूर्ण रहेको भन्दै मन्त्री खतिवडाले सहज व्यवसायिक वातारणको अभावमा आर्थिक क्रियाकलापहरु विस्तार हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले उत्पादनमूलकभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धि हात पार्न नसकिने अवस्था आएको बताउनुभयो ।

श्वेतपत्रमा अनौपचारिक अर्थतन्त्र मौलाएका कारण राजश्वको दायरा संकुचित भएको, स्थानीय तहलाई उपलब्ध गराइएको अनुदानबाट भए गरेको खर्च र प्राप्त उपलब्धिको अनुगमन र मापन गर्न नसकिएको उल्लेख छ । गएको आर्थिक वर्षमा स्रोतको सुनिश्चितता दिइएका आयोजनाहरु यस वर्षको बजेटमा समावेश नगरिएका कारण बजेटको वास्तविक आकार पहिल्याउन पनि कठिन भएको श्वेतपत्रमा उल्लेख छ । 

स्रोतको अनिश्चितताबीच तयार पारिएको बजेट कार्यान्वयन हुन नसक्ने र गैर बजेटरी खर्च वृद्धि हुने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै अर्थमन्त्री खतिवडाले प्रतिवद्धता प्राप्त भएको वैदेशिक सहायता पूर्ण उपलब्ध नभएको र उपलब्ध सहायताको परिचालन प्रभावकारी हुन नसकेको जानकारी दिनुभयो ।  

गैर बजेटरी खर्च कटौती गर्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै खतिवडाले उत्पादन लागत भने बढ्दै गएको जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणदेखि खर्चसम्म आर्थिक गतिविधि सकारात्मक हुन नसकेको उल्लेख गर्दै पुँजीगत खर्च न्यून भएपछि विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणको गति सुस्त रहेको भन्दै तीन वर्ष बित्दासमेत १५ प्रतिशत मात्रै व्यक्तिगत आवास पुनर्निर्माण हुनु निराशाजनक रहेको श्वेतपत्रमा उल्लेख छ । सन् २०२२ सम्ममा नेपाललाई विकासउन्मुख राष्ट्रको सूचीबाट विकासशील राष्ट्रका रुपमा सूचीकृत गर्ने दाबी पनि श्वेतपत्रमा गरिएको छ ।  

श्वेतपत्रमा नेपाल सरकार(मन्त्रिपरिषद्),अर्थमन्त्रालय, विभिन्न मन्त्रालयहरुबाट हचुवाको भरमा र निहीत राजनैतिक स्वार्थका कारण भएका निर्णयबाट राज्यकोषमाथि दीर्घकालीन रुपमा ठूलो दायित्व थपिएकाले सस्तो लोकप्रियताका लागि गरिएका कतिपय निर्णय कार्यान्वयन गर्न सकिने अवस्थामा नरहेको उल्लेख छ ।

व्यापार घाटा बढ्दै जानु, रेमिट्यान्स घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनु, अर्थतन्त्र आयातमुखी हुनु लगायतका कारण पनि नेपालको अर्थतन्त्रमा समस्या आएको अर्थमन्त्रीले बताउनुभएको छ ।  

सरकारले सञ्चालन गरेका उद्योग तथा संस्थाहरु आवश्यकतामा आधारित नभइ लहडको आधारमा पूर्ववर्ती सरकारले निजीकरण गरेकाले सरकारी सम्पत्ति धरासायी भएको श्वेतपत्रमा उल्लेख छ । 

नेपालमा निजीकरणको नीतिलाई तत्कालीन कांग्रेसको नेतृत्वमा रहेको सरकारका पूर्व अर्थमन्त्री डा.रामशरण महतले प्रवर्द्धन गर्नुभएको थियो । अहिले खतिवडाले यो निजीकरणको अभ्यास ‘गलत भएको बताउनुभएको हो ।   

खतिवडाले निजीकरण भएका संस्थानहरु उद्देश्यअनुरुप सञ्चालन हुन नसकेको र यसबाट सेवा उत्पादन र रोजगारीको अभिवृद्धि गर्न पनि सकिएको बताउनुभयो ।

सार्वजनिक सस्थानहरुको लगानी, व्यवस्थापन र सञ्चालनमा स्पष्ट नीति नहुनुको साथै व्यवसायीक कौशलता कमजोर हुँदा अधिकांश सस्थानहरुको कार्यसम्पादना सन्तोषजनक नरहेको उल्लेख छ । 

कर्मचारीलाई बिदा दिएर कारोबार बन्द भएका जनकपुर चुरोट कारखाना, वीरगञ्ज चिनी कारखाना, बुटवल धागो कारखाना, कृषि औजार कारखानाको सम्पत्तिको कुनै उपयोग हुन नसक्नुले सरकारलाई थप आर्थिक भार मात्रै पारेको उल्लेख छ ।  

यस्तै श्वेतपत्रमा सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आएको उल्लेख छ । यो वर्ष पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा यसरी नै बढ्ने हो भने ३ खर्ब रुपैयाँले पेन्सन नाघ्ने भन्दै खतिवडाले अब देशले पेन्सन धान्न नसक्ने बताउँदै यसलाई पुनर्विचार गर्नुपर्ने बताउनुभयो ।

श्वेतपत्रमा निजीकरणका लागि अबलम्बन गरिएका तरिका, मूल्यांकन र प्रक्रिया यथार्थतामा आधारित नभएको उल्लेख छ । नेपालको आर्थिक वृद्धिका मुख्य आधार पर्यटन, निर्माण र कृषि भएकाले यी क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीले निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।  

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै सुशासन र द्रुत आर्थिक विकास मार्फत समृद्धिको यात्रा प्रारम्भ गर्न उपलब्ध सबै साधन, सम्भावना र अवसरलाई यो सरकारले उपयोग गर्ने पनि उहाँले बताउनुभयो ।  

३० पृष्ठ लामो उक्त श्वेतपत्रमा विभिन्न ८९ बुँदामा अहिले सम्मको मुलुकको आर्थिक अवस्था र त्यसलाई सुधार गर्न अवलम्बन गर्नुर्पे उपाय समेटिएको छ ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया