MENU

अन्तर्राष्ट्रिय

​बाख्रालाई बचाउन बाघसँग घम्साघम्सी, त्यसपछि लिइन् सेल्फी

चैत २१ – बाघको पञ्जाबाट फुत्केर आएकी एक युवती घरमा छिर्नेबित्तिकै के गरिन् होला ? बाघको आक्रमणबाट गम्भीर घाइते भएकी ती युवतीको शरीर रगताम्मे थियो । तर उनले घरभित्र छिर्नेबित्तिकै आफ्नो मोबाइल निकालेर आफू र आफ्नी आमाको सेल्फी लिइन् । 

उनीहरु घरभित्र भए पनि बाघ बाहिर नै थियो । सुरक्षाको कुनै ग्यारेन्टी थिएन । त्यसैले उनीहरु आफ्नो अवस्थालाई क्यामेरामा कैद गर्न चाहन्थे । कमर्समा स्नातक २१ वर्षीया रुपाली मेश्राम एक ग्रामिण युवती हुन् । साधारण परिवारकी यी युवतीको टाउको, दुवै हात र खुट्टा तथा कम्मरमा अहिले पनि घाउको दाग रहेको छ । टाउको र कम्मरको घाउ गहिरो थियो । 

महाराष्ट्रको नागपुरको एउटा सरकारी मेडिकल कलेज परिसरमा उनले देखाएको डिस्चार्ज कार्डमा घाउको कारण लेखिएको छ, जंगली वन्यजन्तुको आक्रमण (बाघ) ।

वास्तविक कहानी त उनले र उनकी आमाले बाघसँग भिडेर कसरी ज्यान बचाए भन्नेमा छ । 

पूर्वी विदर्भको भण्डारा जिल्लामा नागझिरा क्षेत्रमा रहेको एउटा वन्यजन्तु आरक्षसँगै जोडिएको गाउँमा छ रुपालीको सानो घर ।

उनकी आमा जीजाबाई र दाइ वन विभागमा दैनिक ज्यालादारीका रुपमा मजदुरी गर्छन् । साथै उनीहरुले केही बाख्रा पनि पालेका छन् । जसबाट केही आम्दानी पनि हुने गरेको छ । 

मार्च २४ को रात थियो । एक्कासी बाख्रा कराउन थाले । रुपालीलगायत उनको परिवार सुतिसकेको थियो । बाख्रा कराएपछि रुपाली उठिन् र घरको ढोका खोलिन् । 

आँगनमा बाँधिएको बाख्रा रगतले लत्पतिएको थियो । नजिकै हल्का प्रकाशमा बाघको छायाँ पनि थियो । बाघलाई बाख्राबाट छुटाउन रुपालीले एउटा चिर्पट उठाएर बाघलाई हानिन् । दाउराले लाग्नेबित्तिकै बाघले रुपालीमाथि धावा बोल्यो । 

‘बाघको पञ्जाको आक्रमणबाट मेरो टाउकोबाट रगत बगिरहेको थियो । तर पनि मैले चिर्पटले उसलाई हानिरहेँ । म चिच्याउँदै आमालाई बाघको बारेमा बताएँ ।’

रुपालीकी आमा जीजाबाई भन्छिन्, ‘जब रुपालीको चित्कार सुनेर म बाहिर आएँ, उसको कपडा रगताम्मे भैसकेको थियो । मलाई लाग्यो कि उ अब रहनेछैन । उसको अगाडि नै बाघ थियो । मैले पनि दाउरा उठाएर बाघलाई हानेँ । मेरो दाहिने आँखामा बाघको पञ्जाले लाग्यो । बल्लबल्ल मैले रुपालीलाई भित्र ल्याउन सकेँ । हामीले भित्रबाट ढोका लगायौँ । सानो बस्ती भए पनि घरहरु टाढाटाढा रहेका छन् । सायद कसैले हाम्रो आवाज सुनेनन् होला ।’

त्यसै बेला रुपालीको मनमा के आयो, उनले मोबाइल निकालिन् र आफ्नो र आमाको केही सेल्फी खिचिहालिन् । 

‘बाँच्दिनजस्तो लागेको थियो’

उनी यसको कारण बताउँदै भन्छिन्, ‘बाघ बाहिरै थियो, हामी बाच्छौँ भन्ने कुनै ग्यारेन्टी नै थिएन । मेरो टाउको र कम्मरबाट रगत बगिरहेको थियो । कपडा रगताम्मे भएको थियो । म हामीसँग भएको घटनाको रेकर्ड राख्न चाहन्थेँ । आमाले कसैलाई फोन गर्न भन्नुभयो । मैले केहीलाई फोन गरेर पनि बताएँ । एक वनकर्मी आधा घण्टामा आइपुगेका थिए । हामी पनि बाहिर निस्कियौँ । त्यतिबेलासम्म बाघ गइसकेको थियो ।’

रुपाली भन्छिन्, ‘मेरो धड्कन असामान्य तरिकाले बढिरहेको थियो । मलाई बाँच्दिनजस्तो लाग्यो । गाउँका डाक्टरको सल्लाहअनुसार एम्बुलेन्स बोलाएर मलाई अस्पताल लगियो । जहाँ मेरो घाउमा टाँका लगाइयो । त्यसपछि हामीलाई जिल्ला अस्पताल पठाइयो । दुई दिनपछि नागपुरको सरकारी अस्पताल पठाइयो । यहाँ एक्सरे, सोनोग्राफीलगायतका टेस्ट गरियो ।’

मंगलबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई यसै महिना दुईपल्ट अस्पताल आउन भनिएको छ ।

अस्पतालका सर्जरी विभागका प्रमुख डाक्टर राज गजभियेले अहिले दुवै जनाको घाउ पुरिँदै गएको बताए, ‘तर ती घाउ हेरेरै थाहा हुन्छ कि उनीहरु बाघको पञ्जाबाट फुत्किन कति संघर्ष भन्ने कुरा । सबैभन्दा ठूलो कुरा त उनीहरुले आफूलाई बहादुरीका साथ बचाए । हामीले उनीहरुलाई रेबिज तथा त्यस्तै प्रकृतिका अन्य संक्रमण नदेखियोस् भनेर पर्याप्त औषधि दिएका छौँ ।

तर उनीहरुको समस्याका पहाड यहीँ सकिँदैन । दश दिनदेखि आमा र दाइ दुवै काममा जान सकेका छैनन् । परिवारको आर्थिक समस्याले गर्दा जोहो टार्नै समस्या रहेको छ । 

रुपालीका अनुसार त्यस क्षेत्रका पूर्व सांसद शिशुपाल पटेलले फोन गरेर सहयोग गर्ने आश्वासन दिएका छन् । पूर्व सांसद पटेलले रुपाली एक बहादुर युवती भएको भन्दै वन विभागमा जागिर दिलाउनका लागि पहल गर्ने बताएका छन् । 

घर फर्कन डर लाग्छ ?

भर्खरै बाख्राको रगत पिएर मात्तिएको बाघको अगाडि एउटा चिर्पट लिएर उभिँदा रुपालीको मस्तिष्कमा के चलिरहेको थियो ? रुपाली भन्छिन्, ‘केही समय त यस्तो लाग्यो कि अब म बाँच्दिनँ । तर मैले सशक्त बनाए कि मलाई हार्नु छैन ।’

के घर फर्किन उनी डराइरहेकी छिन् ? उनको उत्तर यस्तो छ, ‘चिन्ता हुन सक्छ तर डर कदापि छैन । अब म जीवनमा कहिल्यै पनि कुनै बाघसँग डराउने छैन ।’

कमर्समा स्नातक रुपाली के बन्न चाहन्छिन् त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘कुनै बैंकमा जागिर पाउने सपना देखिरहेकी छु । त्यसको लागि कोचिङ पढ्न जरुरी छ । मसाग पैसा छैन । यस्तोमा ठिकैको केही काम पाए गर्नुको विकल्प पनि त छैन ।’ यति भन्दै उनी आत्मालाप गर्छिन्, ‘तर कुनै जंगली बाघबाट डराउने त प्रश्नै उठ्दैन ।’

–बीबीसी हिन्दीबाट  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया