MENU

अर्थ

प्रधानमन्त्रीको भारत भ्रमणपछि पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्राथमिकता पाउने आशा

बैतडी, चैत २२ – प्रधानमन्त्रीको यही चैत २३ गतेदेखि हुने भारत भ्रमणले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्राथमिकता पाउने बैतडीका स्थानीयबासिन्दाले आशा गरेका छन् ।

लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर आयोजनाको काम अघि बढ्न नसकेकाले यसलाई अघि बढाउनका लागि यो भ्रमणले सहयोग पुग्ने आशा गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

पञ्चेश्वर आयोजना धेरै पहिलादेखि चर्चामा रहेको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेकाले यसलाई कार्यान्वयनमा ल्याउनका लागि भ्रमणका बेला प्रधानमन्त्रीले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले पञ्चेश्वर आयोजनाको कामलाई अघि बढाउन यसअघिका भ्रमणका बेला पनि चर्चा हुने गरेको बताउनुभयो । उहाँले अब काम हुने हिसाबले चर्चा हुनुपर्ने बताउनुभयो ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना बैतडीमात्रै नभएर प्रदेश ७ को समृद्धिसँग जोडिएको आयोजना भएकाले यसलाई जसरी पनि अघि बढाउनुपर्ने स्थानीयबासिन्दाको भनाई छ ।

नेपालका तर्फबाट सन् १९९५ मा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन बनेको भए पनि खासै काम अघि बढ्न सकेको छैन् ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबाट ६ हजार ४ सय ८० मेगावाट विद्युत उत्पादन हुने देखिएको छ । भारतले यो आयोजना निर्माणका लागि चासो नदेखाएको कतिपय जानकारहरुले बताएका छन् । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सन् १९५६ देखि नै भारतीय पक्षले पहिचान गरेको थियो । सन् १९७१ र सन् १९९१ मा यस आयोजनाको बाँध निर्माणको सम्भाब्यता र पञ्चेश्वर आयोजनाबाट उत्पादन हुने विद्युतको प्रतिवेदन तयार पारिएको थियो ।

सन् १९९१ मा बाँध ३१५ मिटरको बनाउँदा कुल विद्युत उत्पादन ६४८० मेगावाट हुने नेपाल–भारतको सयुक्त टोलीले प्रतिवेदनमा उल्लेख गरेको थियो। सन् १९९५ मा यस आयोजनाको नेपाल तर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो ।

सीमा नदी भएको कारणले आयोजना सम्पन्न गर्न दुइपक्षीय सहमति गर्न नेपाल र भारतले विभिन्न चरणमा वार्ता गरेका थिए ।

नेपाल सरकार तथा भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा वि.स. २०५२ माघ २९ गते सन्धि सम्पन्न भएपछि यो आयोजना दुई राष्ट्रको लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो ।

वि.स. २०६६ मंसिर ९ गते नेपाल सरकारको जलस्रोत मन्त्रालयका सचिव तथा भारत सरकारको जलस्रोतको संयुक्त समितिको बैठकमा पञ्चेश्वर विकास प्राधिकरणको गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको थियो ।
तर आयोजनाले अझै पूर्णता पाउन सकेको छैन् ।

केपी ओलीको सरकारले विद्युत र सडकमा विशेष चासो देखाएकाले पञ्चेश्वर आयोजनाले विशेष प्राथमिकता पाउने आशा गरिएको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया