MENU

साहित्य/ कला

ujyaalo forign call inside

‘महात्मा लेनिन’ले कम्युनिस्ट बनायो

-कमलराज रेग्मी

म २००४ सालको ऐतिहासिक ‘जयतु संस्कृतम्’ छात्र आन्दोलनमा भाग लिएपछि बनारस गएँ । म बनारसमा पुग्दा नेपाली राष्ट्रिय कांग्रेसको सभापति को ? विश्वेश्वरप्रसाद कोइराला कि डिल्लीरमण रेग्मी भन्ने बारेमा ठूलो विवाद चलिरहेको थियो । पर्चा र बुकलेटहरु निकालेर आ आफ्ना पक्षपोषण गर्ने कार्यमा दुवै थरी लागेका थिए । एउटाले सत्य के भनेर पर्चा निकाल्दा अर्कोले सत्य यो भनेर जवाफ दिन्थे । त्यसैगरी स्पष्टिकरण नं १, स्पष्टिकरण नं २ आदि बुकलेटहरु पनि निक्लिए । गणेशमान सिंहले बीपी कोइरालाको पक्षबाट सत्य के र प्रेमबहादुर कंसाकारले डिल्लीरमण रेग्मीको पक्षबाट सत्य यो लेख्नुभएको हो । पद र प्रतिष्ठाको विवाद पहिलादेखि नै थियो ।

म डिल्लीरमण रेग्मीकहाँ गइरहन्थेँ । उहाँले प्रजातन्त्र, समाजवाद र साम्यवादकाबारेमा शिक्षा दिनुहुन्थ्यो । मैले सेमेस्टिक ढंगले राजनीतिक सिद्धान्त र दर्शनको बारेमा प्रारम्भिक परिचय प्राप्त गरेको डिल्लीरमण रेग्मीज्यूकै सम्पर्कबाट हो । उहाँ स्वयम् अध्ययनशील, लेखनशील व्यक्ति हुनुहुन्थ्यो ।
 
डिल्लीरमण रेग्मीज्यूकहाँ आउँदा जाँदा पुष्पलाल श्रेष्ठ शैलेन्द्रकुमार उपाध्याय र राधाप्रसाद घिमिरेहरुसँग भेट हुन थाल्यो । मलाई त्यो बेलामा फकाउने र प्रभावित पार्ने व्यक्ति शैलेन्द्रकुमार उपाध्याय हुन् । यो समय सन्दर्भ २००६ साल तिरको हो । बीपी कोइरालाहरु भारतीय सोसलिस्ट जे.बी.कृपलानी, लोहिया (राममनोहर) जयप्रकाशहरुको नजिक थिए भने डिल्लीरमण रेग्मीलाई भारतीय कांग्रेसका जवाहरलाल नेहरुले नजिक पार्न खोजेका थिए । त्यसै गरी पुष्पलाल, मनमोहन, शैलेन्द्र राधा घिमिरेहरु कम्युनिष्टहरुको नजिकमा पुगेका थिए ।

एक दिन शैलेन्द्रकुमार उपाध्यायले मलाई वामपन्थीहरुको गोप्य सभामा लैजानुभयो । त्यो सभा  विश्व शान्ति आन्दोलन सम्बन्धमा थियो । त्यहाँ मलाई सभाको अध्यक्षता गर्न लगाइयो र अन्त्यमा बोल्न पनि लगाइयो । त्यहाँ हिटलरी फासिष्टवादको विरोध र सोभियत समाजको सक्दो प्रशंशा गरिएको थियो । त्यो बेलासम्ममा दोस्रो महायुद्धले विश्वसमाजको मुटुमा लगाएको चोटमा खाटा बसिसकेको थिएन । त्यो बेला कसैलाई घृणा वा गाली गर्नुपर्यो भने हिटलर अथवा फसिष्ट भन्ने गरिन्थ्यो । म साम्यवादीहरसँग लहसिँदै गएँ ।

१९९९ सालमा काठमाडौं आएपछि डा. दिनेशनाथ गाेंगल (प्रसिद्ध वरिष्ठ सर्जन)कहाँ डेरामा बसेको थिएँ । अहिलेका यी डाक्टर त्यो बेला १० कक्षामा पढ्थे । यिनका पिताजी कृष्णबहादुर गोंगल अध्ययनशील व्यक्ति हुनुहुन्थ्यो । रुपन्देही जिल्लामा जमिनदारीमा खेतीको रेखदेख गर्न जाँदा महत्वपूर्ण पुस्तक किन्ने, अध्ययन र संग्रह गर्ने बानी रहेछ उहाँको । म पनि अध्ययनशील नै थिएँ ।

आठ वर्षको उमेरमा ब्रतबन्ध गर्दा मलाई एक आबाल ब्रम्हचारी विद्वानले गायत्री मन्त्र सुनाउनुभएको थियो र त्यसपछि एक वर्ष आफ्नै साथमा राखी वेदको अध्ययन, उपनिषद् र पुराणका कथाहरु सुनाएर गरुज्यूले मलाई जिज्ञासु र अध्ययनशील बनाइदिनु भएको थियो । वटुटोलको गोंगल परिवारसँग एकात्म भएर बस्दा दराजका पुस्तकहरु मैले पनि रुचिपूर्वक पढ्न थालेँ ।  एक दिन बाबा राघवदासले लेखेको  ‘महात्मा लेनिन’ नामक लेनिनको जीवनी पुस्तक पढ्ने अवसर मिल्यो ।
 
पुस्तकको अग्रभागमा लेनिनको ‘ शोषण मानव समाजको पिठ्यूँमा एउठा भीषण खटिरा हो, समयमै यसलाई अप्रेसन (शल्यक्रिया) गरेर नमिल्काउने हो भने यसले सम्पूर्ण शरीरलाई विशाक्त पारिदिने छ’ भन्ने महावाणी थियो । सो महावाणी तथा लेनिनको जीवनीबाट म प्रभावित भइसकेको थिएँ । त्यसै कारणले पनि श्रीभद्र, काशीनाथहरुले कांग्रेस पार्टीको सदस्य भएर काम गर्दा मलाई त्यसो गर्ने उत्साह भएन । मलाई राजनीतिमा लाग्न प्रेरणा मिलेकै लेनिनको जीवनी पढेर हो ।

त्यसपछि मेरा निमित्त पहिलो पटक आयोजना गरेको क्लास (साम्यवादी शिक्षणमा) ‘द्वन्दात्मक भौतिकवाद’, ‘वैज्ञानिक समाजवाद’ बारे बताइएको थियो । आध्यात्मिक विचारको सम्पूर्णतः खण्डन त्यस अवसरमा मैले पूरै पचाउन नसकेको कुरा अहिले पनि सम्झन्छु  । मेरो शिक्षाको जग नै अध्यात्म– धर्म र दर्शनमा आधारमा थियो । यो विश्व ब्रम्हाण्डको आनदित्व र अनन्तप्रतिको चिन्तनमा म सानै उमेरदेखि नै भावाभिभूत हुन्थेँ । केटाकेटीमा कोठामा सुत्दादेखि नै दलिन, दलिनमाथि बुइँगल, बुइँगलमाथि छाना, धुरी धुरीमाथि आकाश, महाकाश अनन्त आकाश, अ...न...न्त... अ...न...न्त...। कतिबेला निदाउँथेँ थाहा हुँदैनथ्यो आदि कुरा सम्झन्छु । म सानैदेखि जिद्धीवाल थिएँ । चित्त नबुझेको कुरा मरिकाट्टे मान्दैनथेँ । हामीलाई प्रशिक्षण दिने शैलेन्द्रजीहरुलाई मैले त्यसै बेला सोधेको थिएँ, विज्ञानले यो आकाशको अनन्ततालाई फेला पार्न सक्छ र ? अर्को मेरो जिज्ञासा थियो, यदी पुनर्जन्म हुँदैन/छैन भने पुनर्जन्ममा विश्वास गर्ने एउटा कम्युनिस्टलाई खुसीराजीपूर्वक फाँसीमा झुन्डिन, जेल यातना भोग्न र त्यागमय जीवन विताउन कुन भावनाले प्रेरित गर्दछ त ? उहाँहरुले मेरो शंका निवारण गर्ने कोसिस गर्नुभयो तर म पूर्णरुपमा सन्तुष्ट हुन सकिनँ ।

शोषणको विरुद्ध, अन्याय अत्याचार विरुद्ध, स्वतन्त्रताको पक्षमा, समानताको पक्षमा, ढोंगी, अन्धविश्वासी र पाखण्डी कर्मकाण्डी विश्वासबाट मलाई मुक्त हुन केही गाह्रो परेन । तर विज्ञानले जतिसुकै परम र चरम विकास गरे पनि यो विश्व ब्रम्हाण्ड अजेय नै रहन्छ र हाँसीहाँसी परमानन्दपूर्वक जीवन बलिदान गर्ने शहीद कोरा भौतिकवादबाट मात्र प्रभावित रहेको हुन्छ भन्ने कुरामा म कन्भिन्स हुन सकिन ।

आजसम्म पनि मैले विभिन्न दर्शन र सिद्धान्तका प्रवचनहरु सुनेँ । शास्त्रका अध्ययनहरु गरेँ । तर त्यस बेलादेखिको जिज्ञासा छँदै छ । संसारका सबै दर्शन र सिद्धान्तहरु समन्वयित गरेर सार निकाले पनि यो जीवन र जगतबारेको मानवी जिज्ञासा शान्त हुन सक्दैन भन्ने निष्कर्षमा म पुगेको छु । आध्यात्मवाद र भौतिकवादबीचको प्रचलित विवादको फैसला हुन सक्दैन भन्ने कुरा पनि त्यत्तिकै सत्य छ ।

–वाङ्गमय प्रज्ञा प्रतिष्ठान, पाल्पाद्वारा वि.सं. २०६६ सालमा प्रकाशित कमलराज रेग्मीका ‘आमा, म र पाल्पा’ कृतिबाट 
राजनीतिज्ञ तथा साहित्यकार कमलराज रेग्मीको बिहीबार बिहान झम्सिखेलमा रहेको आफ्नै निवासमा निधन भएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया