MENU

विचार/अनुभूति

आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ?

-मिलन तिमिल्सिना

अरुलाई पेट मिचीमिची हँसाउने मान्छे डाँको छोडेर धुरुधुरु रोए । हँसाउने मान्छेले रुनै हुँदैन थियो भनेझैं गरी मदनकृष्ण रोए भनेर हल्ला भयो । यूट्युब र सामाजिक सञ्जालमा मदनकृष्ण रोएको दृश्य भाइरल नै बन्यो । सधैं हँसाइराख्ने, हाँसिरहने मान्छे रोएको देखेर अरुको पनि आँखा रसायो । सबैका आँखा रसाउनेगरी रोएका मदनकृष्णले आँसु पुछ्दै फेसबुकमा चार हरफको कविता कोरे :

सबैले माया मारेर केभो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्यार गर्ने

सबैको मनमा बस्न सफल भएका मदनकृष्णलाई माया मार्न सक्ने त कोही थिएनन् र छैनन् । तर जीवनसंगीले दिनेजस्तो माया अरुबाट मिल्न पनि गाह्रो हुन्छ नि । त्यसैले यशोदा हुँदासम्म मदनकृष्णलाई प्यारको कुनै कमी थिएन । यशोदाले छोडेपछि त्यस्तै प्यार दिने मान्छे हुने छैनन् । प्यार गर्ने मान्छे सम्झेर आँसु खसाल्ने र त्यही आँसुको स्याहारमा बाँच्ने भनेर मदनकृष्णको मनले भन्यो ।

आँसुको सहारा खोज्नुअघि साथ दिने जीवनसँगी थिइन् । तर जीवनसंगी यशोदासँगको साथ सधैंलाई छुट्यो । वर्षौंदेखि ओछ्यानमा थलिएर रहेकी यशोदाको लागि उनले के मात्र गरेनन् । उनलाई खुशी र सुखी देख्न पाँच वर्षदेखि व्रत बसे । देश विदेशका सबै अस्पताल पुर्याए । लाखौं रुपैयाँ खर्च गरे । तर कुनै उपाय काम लागेन । 
ओछ्यानमा थलिएकी यशोदाले केही गर्न नसकेपनि उनलाई देख्दा सबैथोक पूर्ण थियो । तर यशोदा नभएपछि सबैथोक भएर पनि मदनकृष्णलाई अपुरो भएको छ ।

अघिल्लो रात अस्पतालमा यशोदाले आँखा चिम्लिँदा संसारै अन्धकार भयो, त्योबेला पनि मदनकृष्ण डाँको छोडेर रोए । छोराबुहारी र नातिनीले आँसु पुछिदिए । तैपनि आँसुको भेल रोकिएन । त्योबेला उनी भक्कानिएको, आँखाबाट बलिन्द्रधारा आँसु खसालेको परिवार र आफन्तले मात्रै देखे । नजिक गएर क्यामरा तेर्साउने र टाढा उभिएर हेर्ने अरुले देखेनन् । देख्न नपर्नेले नदेखेपछि मदनकृष्ण दिल खोलेर रोए । आफूलाई स्याहार गर्न पुग्ने आँसु खसालेर रोए । रुँदा रुँदा आँसु सकिने बेला भयो, तैपनि रुवाई रोकिएन । 

भोलिपल्ट पशुपतिमा यशोदालाई अन्तिम बिदाई गर्नेबेला भयो । त्यतिबेला पनि मदनकृष्णलाई आँसुकै सहारा चाहियो । उनी फेरि भक्कानिए । अस्पतालदेखि साथ नछाडेका हरिवंशले सम्हाल्न खोजे । तर सम्हालिन कति गाह्रो हुन्छ भन्ने कुरा उनले पनि केही वर्षअघि भोगिसकेका थिए । जिन्दगीभर सहारा दिने मान्छेले छाडेर जाँदा आँसुको सहारा चाहिन्छ भन्ने उनलाई पनि राम्रोसँग थाहा थियो । त्यसैले मदनकृष्णको आँखाबाट बगेको उनको सहारालाई उनले रोक्न सकेनन् । यसअघि मदनकृष्णले आफूलाई दिएको आँसुको पैंचो तिरे, उनको आँखामा पनि आँसु छचल्कियो । मदनकृष्णलाई माया गर्ने अरु मान्छे, कलाकार, समाजसेवीले पनि उस्तै साथ दिए ।

यशोदाले सधैंका लागि अस्पतालमा आँखा चिम्लिएको र आर्यघाटबाट बिदाई गर्ने दुवै क्षणमा मदनकृष्णका लागि आँसु नै सबैभन्दा ठूलो सहारा थियो । योबेला दिल खोलेर रुन र आँसु खसाल्न पाउनु उनको अधिकार थियो । उनको व्यक्तिगत अधिकारमा कसैले पनि अवरोध गर्न मिल्दैन थियो । 

तर उनले रुन थाल्दा दर्जनौं क्यामरा उनीतिर तेर्सिए । उनी डाँको छोडेर रोएको क्यामरावालाहरुलाई बिकाउ मसला भयो । पशुपतिमा क्यामरा तेर्साएर बसेका ‘यूट्युबे पत्रकारले मदनकृष्णको आँसु सबैलाई देखाइदिए । मदनकृष्णको आँसु बेचेर केही यूट्युब हिट भए । हुँदाहुँदा ब्रह्मनालमा यशोदाको पार्थिव शरीरलाई राख्ने बेलामा पत्रकारहरुले गरेको व्यवहारलाई कसरी सम्झने ? यतिसम्म संवेदनहीन बन्नुपर्ने कारण के पैसाकै लागि हो  त ?

मदनकृष्ण सेलिबे्रटी हुन, सार्वजनिक व्यक्ति हुन्, त्यसैले उनका निजी कुरा अरुका लागि पनि सरोकारका विषय हुन्छन् भनेर तर्क गर्न सकिएला । अरु रुनु र मदनकृष्ण रुनु फरक हो, त्यसैले उनले रोएको अरुले पनि थाहा पाउनुपर्छ भन्नेहरु पनि होलान् । 

तर मदनकृष्ण रोएको नदेखाउँदा नागरिकलाई सूचना र जानकारीको अभाव हुन्थ्यो र ? श्रीमतीको निधन हुँदा मदनकृष्ण कसरी रुँदा रहेछन् भनेर हेर्ने धोको सबैको थियो र ? मदनकृष्ण भक्कानिएको भिडियो र तस्बिर नराखेको समाचार अपुरो हुन्थ्यो र ? मदनकृष्ण रोएको तस्विर र भिडियो देखेर आमपाठक र दर्शकलाई के फाइदा भयो ? 

यशोदालाई ब्रम्हनालमा राखेको र मदनकृष्णले धुरुधुरु रोएको दृश्य फोकस गरीगरी क्यामरा तेर्साउनेहरुसँग चित्तबुझ्दो जवाफ छ ? पक्कै छैन । आर्यघाटको त्यो क्यामराले न आँसु देख्नेलाई फाइदा गर्यो, न आँसु खसाउनेलाई । आँसुको सहारामा बाँच्न लागेका मदनकृष्णलाई त क्यामराले अवरोध गर्यो । वरिपरि क्यामरा देख्दा उनले दिल खोलेर रुन पाएनन् । आफूलाई स्याहार गर्न पुग्ने आँसु खसाल्न सकेनन् । आफू रोएको कसैले हेरिरहेको छ कि, कसैले फोटो र भिडियो हेरिरहेको छ कि भन्ने डरले उनको गला र भक्कानो अड्कियो । रुनु पर्ने बेला भक्कानिएर रुन नपाउँदा कस्तो हुन्छ भन्ने ती क्यामरावालाहरुलाई के थाहा ?

हाँस्नुजस्तै दिल खोलेर रुन पाउनु पनि व्यक्तिको निजी अधिकार हो । पीडा, वेदना र अभावलाई आँसुले केही हदसम्म मल्हमको काम गर्छ । मदनकृष्णले पनि आँसुमा यस्तै मल्हम र शक्ति खोजेका हुन् । शरीरलाई कमजोर होइन, शक्ति दिने आँसु मदनकृष्णले अझै खसाल्न पाउनुपर्छ । प्रिय मान्छेको सम्झनाले कमजोर भएको मनलाई तागत दिने आँसुमा अवरोध गर्ने अधिकार कसैलाई छैन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया