MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​ओलीको भ्रमण : मोदीलाई नेपाल नीति सच्याउने मौका

हिरण्यलाल श्रेष्ठ 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा हुनुहुन्छ । ओलीले भ्रमणको शुरुवात भारतीय उद्योग व्यवसायीसँगको वार्ता र छलफलबाट गर्नु भएको छ । यसअघि राजनीतिक भेटवार्ताबाट भ्रमण शुरु हुन्थ्यो । तर ओलीको भ्रमण आर्थिक कुटनीति र लगानी भित्र्याउने उद्देश्यमा केन्द्रित रहनेगरी शुरु भएको छ । समृद्धिका लागि आर्थिक कुटनीति र भारतको पार्टनरशिप मुख्य उद्देश्य रहेछ, ओलीको भ्रमण । किनकि नागरिकको जनादेशअनुसार अब स्थिरता कायम भयो । अब आर्थिक विकास र समृद्धिद्वारा नागरिकलाई राम्रो नतिजा दिनुपर्छ भन्नेमा ओली सचेत हुनुहुन्छ भन्ने भारत भ्रमणले देखाएको छ । 

समृद्धिका लागि देशमै आर्थिक गतिविधि बढाउनुपर्छ भने अन्तराष्ट्रिय साझेदार संस्था र देशहरुसँग पनि समृद्धिका लागि सहयोग, लगानीका लागि आह्वान, व्यापार घाटा कम गर्ने उपायको अबलम्बन र भन्सारबाट आयात गरेर आम्दानी गर्नुपर्छ । अब गर्नुपर्ने काम भनेकै आयात होइन, निर्यात हो । निर्यात गरेर अन्तशुल्कमा जानुपर्ने छ । त्यसका लागि तयारीमा लाग्नुपर्ने छ । प्रधानमन्त्री ओलीको यसपालीको भ्रमण एउटा त, पहिलाको जस्तो तनावपूर्ण छैन । समृद्धिका लागि भ्रमणमा कुराकानी गर्न सजिलो भएको छ । बढी विश्वास आर्जन भएको छ । यसपाली नेपालले मात्र नभईकन भारतले नै ओलीको भ्रमणका लागि शुरुदेखि नै मेहनत पनि गरेको छ । 

भारतीय विदेशमन्त्री शुष्मा स्वराज काठमाडौं आएरै ओलीले प्रधानमन्त्रीको शपथ नखाँदै भ्रमणको निमन्त्रणा दिनु नयाँ र फरक कुरा हो । यसअघि यस्तो थिएन् । त्यसैले यसपटक भारत आफैले ओलीको भ्रमणका लागि बढी मेहनत गरेको देखिएकै छ । त्यसैले तनावरहित अझ सन् १९५० को सन्धीलाई के गर्ने ? भन्ने विषयमा प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले काम गरिरहेको छ । चाँडै टुंगिन्छ भन्ने आशा पनि छ । त्यसैले ओलीको अहिलेको भ्रमण भनेको दुई देशबीचको वर्षौदेखिको मैत्रीपूर्ण सम्बन्धलाई पुनर्भाषित गर्ने, परिष्कृत गर्ने र समानताका आधारमा सम्बन्धलाई अग्रगामी दिशा प्रदान गर्ने मूल उद्देश्य भएको देखिएको छ ।

विगतका प्रधानमन्त्रीभन्दा ओलीको भारत भ्रमण फरक किन ?

विगतका भ्रमण भनिरहँदा पहिला त यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा ओलीकै भ्रमणको कुरा गरौँ । त्यो बेला संविधानमा चित्त नबुझेको हुनाले भारतले नाकाबन्दी लगायो । र संविधान संशोधन तुरुन्त गर भन्ने पनि दबाब थियो । तर अहिले त्यो दबाब नेपालका कुनै राजनीतिक दल र स्वयम् ओलीलाई पनि छैन । आफ्नै देशका राजनीतिक दलबाहेक । 

एक किसिमले विदेशमन्त्री शुष्मा स्वराजलाई पठाएर सपथग्रहण अघि नै भारतले पुरानो तिक्ततालाई विर्सेर सम्बन्धलाई अगाडि बढाउ भन्ने सन्देश दिएको थियो । नेपालले के भन्छ भने एकले अर्कालाई सम्मान गरौँ । समान व्यवहार गरौँ । सम्बन्धलाई सुमधुर गति त्यो बेलाबाट दिन सकिन्छ । जब एकले अर्काको सम्मान र समान व्यवहार गरिन्छ । र आपसी हितको सन्तुलन हुन्छ । पारस्परिक लाभको सम्बन्ध हुन्छ ।

सम्बन्धलाई दाजुभाइको होइन, सम्बन्धलाई मित्र–मित्रको रुपमा लिनुपर्छ भन्ने कुरा पूर्वप्रधानमन्त्रीहरुको बैठकमा पनि उठेको छ । त्यसैले पनि भारत र नेपालबीचको सम्बन्ध पुरानो बेलायती अंग्रेज शासन कालको औपनिवेशिक, नेहरु कालको प्रभुत्ववादी जस्तो होइन् । सार्वभौम समानताको आधारमा समान सम्बन्ध हुर्काउने अभिप्राय जस्तो देखिएको छ । जसले सम्बन्धमा नयाँ दिशा प्रदान गर्छ ।

ओलीको यसपटकको भ्रमण अर्थपूर्ण किन ? 

ओलीको भ्रमण किन अर्थपूर्ण छ भने यसले यथास्थिति होइन । पुरानो अनि गलत ढंगले नेपाललाई दबाब र प्रभावमा पार्ने पनि होइन । यस किमिमको दबाबमुक्त, बिना हस्तक्षेपमा आधारित, नयाँ ढंगले सम्बन्धको विकासमा फरक ल्याउने चाहना प्रधानमन्त्री ओलीमा छ । 

अर्कोतर्फ यो दुईबीचको सम्बन्धलाई हिजोसम्म भारत निर्भर अर्थतन्त्र र राजनीति थियो । अब अन्तरनिर्भरतामा जोड दिने भन्ने छ । लिने कुरा मात्र होइन्, दिने कुरामा पनि जोड दिने । त्यो दिने कुरा यो दश बर्षभित्रमा हामी बिजुलीको निर्यात गर्न सक्ने हुन्छाैँ । 

भारतीय पर्यटक धेरै नेपालमा आइरहेका छन् । अब बढी पर्यटक आउन सक्ने वातावरण अहिले बनेको छ । यसले गर्दा व्यापार घाटा कम हुन्छ । अतिरिक्त बिजुलीलाई भारत र भारतकै बाटोबाट बंगादेशलाई पनि निर्यात गर्नुपर्छ । यसैले दुई देशबीचमा ‘कनेक्टिभिटी’ बढाउने योजना ओलीको मुख्य प्राथमिकतामा देखिन्छ । कनेक्टिभिटीमा भारत र चीनको प्रतिस्पर्धा पनि देखिएको छ । चीनले रसुवा भएर काठमाडौं, पोखरा हुँदै लुुम्बिनीसम्म रेल चलाउन चाहेको छ । भारतले कोलकत्ता र दिल्लीबाट नेपालमा रेल ल्याउने भनिरहेको छ । यसमा चीनभन्दा पनि आफू अगाडि पर्न पाए हुन्थ्यो भन्ने भारतको मनशाय छ । यसरी १० बर्षभित्र उत्तर र दक्षिणबाट काठमाडौंमा रेल आउने लगभग पक्का छ । अहिले ग्लोबलमा पनि चीनको बृह्त परियोजना ‘वान बेल्ट वान रोड’का कारण अरुदेशसँग नेपालको व्यापार बढ्ने छ । 

भारतको रेल पनि नेपालमा आउने भएपछि भारत भएर सार्क देशहरु बीच, सार्क रेल–वे (रेलमार्ग), सार्क हाइ–वे (सडकसञ्जाल), सार्क रिभर–वे (जलमार्ग) सँग जोडिदै छन् । अब यसमा पनि प्रधानमन्त्री ओलीले इच्छा र तीव्र चाहना राखेको विषय हो, जलमार्ग । यसले गर्दा पनि कनेक्टिभिटीमा बढी जोड दिइएको देखिएको छ । त्यसैले पहिलेको भन्दा एजेन्डा स्पष्ट छ । समृद्धिका लागि लक्ष्य स्पष्ट छ । प्रधानमन्त्री ओली भारत भ्रमणमा राजनीतिक कुटनीति भन्दा आर्थिक कुटनीतिमा बढी केन्द्रित भएको देखिन्छ ।

भारतको हस्तक्षेप निस्तेज होला त ?

प्रधानमन्त्री ओलीले यसपटक नागरिकबाट झण्डै दुईतिहाई बहुमत पाएका छन । बहुमत अनि स्थिर सरकारकै हैसियतमा भारत भ्रमणमा जाँदा यसअघिको भारतीय हस्तक्षेप निस्तेज पार्न सक्ने क्षमता पनि ओलीले राख्नुभएको छ । भारतका नेपाल विशेषज्ञ एसडी मुनिले चुनाव लगत्तै भन्नुभएको थियो, ‘नेपालमा ओलीले चुनाव जित्नु भनेको कम्युनिज्मको जित होइन, यो त नेपाली राष्ट्रवादको जित हो, त्यसैले भारतले अब नेपालसँग सम्बन्ध सुधार गर्न ओलीसँग राम्रोसँग छलफल गर्नुपर्छ ।’ 

मुनिको यो भनाइपछि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्ध सुधारको सक्रियता देखाउनु भएको हो । त्यस्तै भारतीय विपक्षी दलले पनि अब छिमेकी देशलाई चिढ्याउनु हुँदैन, सबैसँग सम्बन्ध सुधार गर्नुपर्छ भनिरहेका छन् । खासगरी मोदीले नेपाल नीतिमा परिवर्तन गर्नुपर्छ । नाकाबन्दी लगाएर नेपालजस्तो छिमेकीलाई चिढ्याउनु हुदैन् भनेर भनिरहेका कुरा आइरहेकै छन् ।

नेपालको फाइदा र भारतका प्रतिपक्षीहरुको समग्र चाहना हेर्दा मोदीले अब कति छिमेकीलाई चिढ्याउने ? पाकस्तिानसँग सम्बन्ध राम्रो छैन् । माल्दिभ्ससँग पनि राम्रो छैन् । भुटान, बंगलादेश र श्रीलंकासँगको सम्बन्ध पनि उस्तै छ । यसैले पनि मोदीले सबैलाई चिढ्याउने र नेपाललाई पनि चिढ्याएर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बदनाम गर्नुहुन्न भनेर पनि सम्बन्ध सुधार गर्न चाहेको देखिन्छ । र ओलीको भ्रमणपछि मोदीको नेपाल नीति सच्चिने छ ।

सीमा नाका व्यवस्थित गर्ने मौका 

हामी केही साथीहरु केही समय अगाडी भारतसँग सीमा जोडिएको पर्साको छप्कैया पुगेका थियौँ । जहाँ नेपाल भारतबीच सीमानाका विवाद थियो र छ । हामीले सीमा स्तम्भ हेरेपछि भारतका कन्सल्ट्यान्ट जनरल र नेपालका लागि भारतीय राजदुतलाई भेटेर ठोस सुझाव दिएका थियौ । हाम्रा पुर्खा बुद्धिमतापूर्ण र दुरदर्शी छन् । उनीहरुले दुईदेशबीचको सीमानामा दशगजा खाली राख्ने भनेर ‘नो मेन्सल्याण्ड’ को धारणा ल्याएका थिए ।

दशगजा खाली राखेका बेला सीमा पनि छर्लङगै देखिन्थ्यो । विवाद पनि थिएन् । तर अहिले दशगजा मिचिएको छ । र ठाउँठाउँमा विवाद छ । अब दशगजालाई पुनस्र्थापना गरौँ । अनि दुईतिरैबाट फूलहरु रोप्ने गरी वार्ता गरौँ । भेट्नेगरी एउटा स्थायी ठाउँ बनाउ । तर दशगजा नै हडप्ने, मेटाउने र सीमास्तम्भ आफू अनुकुल सार्ने काम नगरौँ । र यसको सुरुवात प्रधानमन्त्रीको यसपालीको भारत भ्रमणबाटै गरौँ भनेर मैले भनेको थिएँ । 

पहिला त सीमालाई व्यवस्थित गरेर सम्बन्ध सुधार गरौँ । अहिले भइरहेका जति पनि अपराध छन् । जति पनि चेलीबेटी बेचबिखनका घटना छन् । ती सबै सीमा नाकाको व्यवस्थापनका लागि दुवै देशको लापरवाहीले गर्दा हो । यसको अन्त्य गरौँ भन्ने मेरो जोड रहँदै आएको छ । सीमा व्यवस्थितका लागि सीमा नाकामा पर्खाल लगाउने होइन । तर यो पनि होइनी कि अपराध, लागुपदार्थ ओसारपसार र चेलीबेटी बेचबिखन गर्ने स्वर्ग पनि नबनाऔँ ।

त्यसैले अहिले प्रधानमन्त्री ओलीको भ्रमणमा यस विषयमा स्पष्ट हुन जरुरी छ । अन्तर्राष्ट्रिय सीमानाकामा वार पार गरिरहनेलाई परिचयपत्र र टाढाकालाई राहदानीको व्यवस्था गरेमात्र सीमा व्यवस्थित हुन सक्छ । यो विषयलाई प्रधानमन्त्रीले स्पष्टसँग भारतसँग कुरा गरेर समाधानका लागि पहल थाल्न आवश्यक छ । 

– उज्यालो अनलाइनका लागि विष्णु विश्वकर्मासँगको कुराकानीमा आधारित ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया