MENU

साहित्य/ कला

ujyaalo forign call inside

कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

कमलराज रेग्मी

२००७ सालको क्रान्तिमा जताततै नेपाली कांग्रेसको नेतृत्व र निर्देशनमा सशस्त्र कारबाहीद्वारा जिल्लाका शासनसत्ता कब्जा गरिँदै थियो । यही क्रममा पाल्पामा भने नेपाली कांग्रेसकै आदर्श र सिद्धान्तको पिरीत साम्यवादी पार्टीको क्रियाकलाप र प्रभावको बलियो जगको शिलान्यास हुँदै थियो । 

काठमाडौं छँदै लेनिनको जीवनी पढ्दा सोभियत समाजवादी क्रान्तिको संक्षिप्त इतिहासको झलक पाइसकेको थिएँ । बनारस आएर यहाँको कम्युनिस्ट जमातमा मिसिएपछि त प्रगतिशील साहित्य पढ्नु नै मुख्य काम भएर गयो ।

प्रेमचन्द, राहुल साङ्कृत्यायन, किसन चन्दर, यशपाल, सआदत हसन मन्टो आदिका कृतिहरु रिठ्ठो नबिराएर पढिन्थ्यो । ‘नयाँ सबेरा’, ‘नवयुग’ कम्युनिस्ट पत्रिकाहरुको पनि निकै चल्तीफिर्ती थियो । त्यो बेला राहुल साङ्कृत्यायनको ‘भागो नहीँ दुनियाँको बदलो’, ‘भोल्गासे गङ्गातक’, यशपालको ‘बात बातमे बात’, ‘दादा कामरेड’, म्याक्सिम गोर्कीको ‘मदर’, प्रेमचन्दको ‘गोदान’ नपढ्ने कुनै कम्युनिस्ट भेटिँदैनथ्यो । राहुलको ‘भागो नहीँ दुनियाँको बदलो’ भन्ने पुस्तकले भारतमा जति कम्युनिस्ट जन्मायो, त्यति नेताहरुको भाषण र दौडधुपले जन्माउन सकेन भन्ने बयान पनि चलेको थियो । 

ल्यू शाओ चीको ‘हम अच्छे कम्युनिस्ट कैसे बनेँ’(हाउ टु बी ए गुड कम्युनिस्ट) भन्ने पुस्तकलाई त कम्युनिस्ट कार्यकर्ताले आफ्नो साथमा बाहुनले जनै र टुप्पीजस्तै गरेर राख्थे । मैले पाल्पामा ग्रामिण क्षेत्रमा समेत कार्यकर्तालाई प्रशिक्षण दिँदा यही पुस्तकलाई प्रमुख आधार बनाउने गर्थेँ । 

अर्को मज्जालाग्दो सम्झना पनि छ – २०२४ सालमा महेन्द्रबाट राष्ट्रिय पञ्चायतमा सम्बोधन गर्दै पञ्चहरुलाई कार्यक्रम भनेर दिइएको नीलो बोर्डर र रातो पृष्ठभूमि भएको ‘गाउँफर्क राष्ट्रिय अभियान’ नामक पुस्तकलाई त्यही सांसद लबीमा मेराअगाडि हल्लाउँदै डा. ऋषिकेश शाहले ‘लौ रेग्मीजी, तपाईँको ‘हाउ टु बी ए गुड कम्युनिस्ट’ को नेपाली संस्करण पास भयो, बधाई छ’ भन्नुभएको थियो । त्यो बेला मलाई नै ‘गाउँफर्क राष्ट्रिय अभियान’ को योजनाकार सम्झिइन्थ्यो र मलाई पञ्चायतमा लागे पनि कम्युनिस्टको विचार–बानी नछुटेको पात्रसरह नै व्यवहार गरिन्थ्यो । 

अँ त यता बनारसको कुरा नि, कार्ल मार्क्सको ‘दास क्यापिटल’ पढेर पोख्त हुनु भनेको साम्यवादमा पीएचडी गरेसरह मानिन्थ्यो । तर ‘सरप्लस भ्यालु’ को सिद्धान्त भने क्लास दिँदा सबैलाई सम्झाइन्थ्यो । अरु क्लासहरुमा खास गरेर नौलो जनवाद र चिनियाँ नेताहरुले आफ्नो समाजको जस्तो वर्ग–विश्लेषण गरेका हुन्थे, हुबहु त्यस्तै नेपाली समाजको पनि वर्ग–विश्लेषण गरेर सुनाइन्थ्यो । अहिले मलाई लाग्छ – त्यो बेलाको नेताहरुले नेपाली समाजको वास्तविक अध्ययन गरेर वर्ग–विश्लेषण गरेका हुँदैनथे । तर यति कुरा भने बुझिएको थियो कि रुसमा लेनिनले मजदुरवर्गलाई अगुवा बनाएर क्रान्ति गरे भने चीनमा माओत्सेतुङले किसानवर्गलाई लिएर पनि सफलता हासिल गरे । यस्तै–यस्तै अध्ययन र प्रशिक्षण प्राप्त गरेर म पनि कम्युनिस्ट कुरा गर्न सक्ने भइसकेको थिएँ ।

धनी जमिनदार परिवारका दादा कामरेड(विजयकुमार पौडेल) बनारसमा एउटा सुविधायुक्त घर बहालमा लिएर पढ्न बस्नुहुन्थ्यो । पढ्न बसेका उहाँका बहिनीहरु रेनु, जोयासमेत सबैको झुकाव र समर्पण कम्युनिस्ट पाटीतिर भैसकेको थियो । (स्मरणीय छ– प्रसिद्ध कांग्रेस नेतृ नोना कोइराला र बहुचर्चित अर्थमन्त्री रवीन्द्रनाथ शर्माकी धर्मपत्नी सरोज दादा कामरेडकै बहिनी हुनुहुन्छ ।)

‘कस्को तस्बिर झल्कियो मेरो मुटुको माझमा’ अति नै प्रसिद्धि पाएको यो गीत रेनुको मधुर कण्ठबाट गाइन्थ्यो, हामी सुन्थ्यौँ । पछि रेनुले यही गीत नेपाल रेडियोबाट गाएको पनि सुनियो । जोया– यी अति दुब्ली, पातली नवयुवती, तर आकर्षक चेहराकी उत्साही थिइन् । उनी २००७ सालको क्रान्तिको लगत्तै पाल्पामा कम्युनिस्ट पार्टीको होलटाइमर कार्यकर्ता बनेर होमिन पुगेकी थिइन् । दादा कामरेडबाटै पार्टीको निमित्त प्रचुर मात्रामा भौतिक साधन र आर्थिक सहयोग प्राप्त हुन्थ्यो । उहाँका शरीरमा लाउँदालाउँदैका स्वेटर, कोट, ब्याग, पोर्टफेलियो, सुटकेस आदिसमेत आवश्यक भएका केन्द्रीय नेताहरुलाई उपलब्ध गराउनुहुन्थ्यो । मैले जान्दासम्म उहाँ कम्युनिस्ट आन्दोलनको यात्रामा हिँडिरहनुभयो, सहयोग गरिरहनुभयो तर निःशब्द, निःस्वार्थ ।

हो, यिनै दादा कामरेडको बनारस निवासलाई कामरेडहरुले बराबर पार्टी क्रियाकलापको गोप्य र सम्पर्क थलो बनाएका थिए । पार्टी क्लास यहीँ चल्थ्यो । कामरेडहरु भात, रोटी खान्थे, राति यहीँ सुत्थे । बाहिरबाट आउनेले यहीँ सम्पर्क गर्दथे । म पाल्पामा आन्दोलन गर्न र प्रस्थान गर्दा शैलेन्द्रजीहरुले यही घरबाट मलाई बिदाई गर्नुभएको थियो र मैले यहाँ सम्पर्क गर्न अरु कसैलाई पठाउनुपर्दा निर्वाह गर्नुपर्ने गोप्य सांकेतिक विधि सिकाउनुभएको थियो ।

मैले पनि पाल्पामा सफल जनआन्लदोलनको सञ्चालन गरेपछि पार्टी–संगठन निम्ति अरु मार्गदर्शन प्राप्त गर्ने कामका लागि शैलेन्द्रकुमार उपाध्यायलाई लिन उहाँले सिकाएकै गोप्य टेक्निकअनुसार यही दादा कामरेडको निवासमा मेरा भतिजेभाइ ईश्वरीराज रेग्मी र अत्यन्त उदार हृदयका त्यागी पूर्णमान थैबलाई पठाएको थिएँ । अनि तुरुन्तै उहाँ पाल्पा आउनुभएको थियो र पाल्पामा नेपाल कम्युनिस्ट पार्टीको पहिलो औपचारिक संगठन प्रारम्भ गरिएको थियो । 

शैलेन्द्रजीको नामसँग मेरा सम्झनामा यति धेरै गुठुरीहरु छन् कि सबै फुकाउन साध्यै छैन । त्यही समयको एउटा गाँठो भने नफुकाई मन मान्दै मानेन । 
शैलेन्द्रकुमार पनि सम्पन्न र नयाँ सभ्य परिवारका हुनुहुन्थ्यो । त्यो बेला उहाँको घर भारतकै मुजफ्फरपुर, कर्नोलमा पर्दथ्यो । उहाँको आफ्नै घर, कर्नोलमा पनि पार्टीका अति गोप्य मिटिङ हुने गर्थे । उहाँले पश्चिम नेपाल, जसलाई त्यति बेला ‘कर्णाली प्रान्त’ नामाकरण गरिएको थियो, त्यो क्षेत्रको संगठन गर्ने जिम्मा लिनुभएको थियो । उहाँको जिम्मेवारीलाई अघि बढाउने कामका लागि उहाँको नजरमा म एउटा योग्य र पाइनसक्नु उम्मेदवार जँचेको थिएँ । त्यसै कारण शैलेन्द्रजीले मलाई पक्का कम्युनिस्ट बनाउन हरतरहले कोसिस गरिरहनुभएको थियो ।

प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ । शायद शैलेन्द्रजीलाई लागेछ– संस्कृत पढेको बाहुन, अकम्युनिस्ट भेषभूषा र खानपान, अड्डी लिने स्वभाव परकका कम्युनिस्ट बन्ने मार्गमा बाधा हुन्छ । त्यसकारण मलाई पक्का कम्युनिस्ट बनाउन त्यो बेलाको प्रचलित अचुक नुस्खाको प्रयोग गर्ने निर्णय भएछ । 

शैलेन्द्रजी अरु दुई जना कामरेडसहित विशेष कुरा छ भनेर एउटा राम्रो रेस्टुराँमा जाने कुरा भयो । रेस्टुराँमा धोती लगाएर जाँना नसुहाउँदो हुन्छ भनेर मलाई एउटा मिल्दो पतलुन पनि करैसँग लगाइदिनुभएको थियो । पहिलो पटक पतलुन लगाउँदा भएको असमञ्जस्य र लाजले गर्दा मेरो हाउभाउ, हिँडाई नै अचम्मको रह्यो । एउटा स्तरीय ‘रेस्टुराँ एण्ड बार’ को एउटा टेबुलको वरिपरि चारै जना बस्यौँ ।

जातपात, परम्परा, अन्धविश्वास, खानपान आदिबारे सच्चा कम्युनिस्टको कस्तो विचार र व्यवहार हुनुपर्छ भन्नेबारे कुरा चल्यो । अर्डरअनुसार मदिरा र अमलेट, अरु खानेकुरा टेबलमा सजाइए । रक्सी नखाने हो भने सच्चा कम्युनिस्ट हुनबाट च्यूत होइन्छ कि भन्ने आशंका मभित्र खेल्न थाल्यो । तर पनि, मैले त्यो उग्रगन्धे घाँटी पोल्ने झोल निल्ने साहस गर्न सकिनँ । मलाई जीन र सोडाको बन्दोबस्त गरियो । अपेक्षाकृत प्रिय सुगन्धी र सोडा जत्तिकै यो सुपेयलाई सुस्त–सुस्त उदरस्थ गर्दै गएँ । मैले जीवनमा पहिलो पटक मदिरा पिएँ । मनुस्मृति, धर्मशास्त्र तथा वर्णाश्रम धर्म परम्पराको विरुद्ध यसरी जीवनमा ज्यादै अप्ठेरो फड्को मारेको थिएँ । 

–कमलराज रेग्मीको कृति ‘आमा, म र पाल्पा’ बाट । साहित्यकार तथा राजनीतिज्ञ रेग्मीको बुधबार ९० वर्षको उमेरमा निधन भएको छ । रेग्मी ‘जयतु संस्कृतम आन्दोलन’ हुँदै नेपाली कम्युनिस्ट आन्दोलनमा होमिनुभएको थियो । पछि पञ्चायतमा संलग्न भए पनि २०३६ पछि राजनीतिबाट विमुख भै स्वतन्त्र जीवन बिताइरहनु भएको थियो ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया