MENU

साहित्य/ कला

ujyaalo forign call inside

कुहिराे

प्रमाेद प्याकुरेल

जीवनको उत्तराद्र्घमा मलाई आफू एक्लो भएकाले बाँच्नका लागि सामाजिक सुरक्षा आवश्यकता महसुस हुन थाल्यो । आफ्नाे विगतका क्रियाकलापहरूको एक पटक समीक्षा र गल्तीहरूको प्रायश्चित्त गर्नु आवश्यक ठानेँ मैले । महानास्तिकताबाट माथि उठेर ईश्वरको अस्तित्व नियाल्ने चाहना हुन थाल्यो । मृत्युपछिको लोक खोज्न मन लाग्यो । पुराना परम्परा, रीति, संस्कार आदि तोड्नु नै आफ्नाे जीवनको उद्देश्य बनाएको म आज त्यही परम्परा जोगाउने प्रयास गर्दै छु । 
 
सायद मानिसको उमेरले पनि उसको धारणा परिवर्तन गराउँदो रहेछ । आफन्तहरूका माया ममताको न्यानोमा पुनः गुडुल्किन पाउने आशाले यो अपार्टमेन्ट मैले अमेरिका छँदै किनिसकेको थिएँ । अमेरिकाबाट फर्केदेखि नै मेरा दिनहरू प्रायः आराध्यदेव पशुपतिनाथका सेरोफरोमै बित्दछन् । पशुपतिनाथ मन्दिरको पछाडि रहेका ढुङ्गाका सिँढी उक्लदै विश्वरूपपट्टि जाँदै गर्दा प्राय म अव्यक्त रूपमा भक्कानिने गर्छु । सिँढीका प्रत्येक ढुङ्गा तथा जङ्गलका बाँदरहरूसँग नाता गाँसिएझैँ लाग्छ, प्रिय लाग्छन् । मैले उनीहरूमा बाँड्ने बिस्कुटका स्वाद चाखिसकेका बाँदरहरूको हुल मलाई घेर्न आइपुग्ने गर्छन् । उनीहरूका व्यवहार मेराभन्दा अलि पाको लाग्दछन् । म प्रायः बहिनीलाई साथ लिएर जाने गर्दछु । बहिनीमाथि भने बल्लतल्ल आफ्नाे अधिकार जमाएँ मैले । त्यो पनि दिउँसो घुम्न निस्किनका लागि मात्र । बेलुकी पुनः काकाको घरमा छोडिदिने सर्तमा । बहिनीलाई छोडेर म अपार्टमेन्टमा फर्किएपछि त्यसै झोक्राएर बस्छु । दिउँसो किनेर ल्याएको कर्नफ्लेक्स डेरीको दुधमा ढड्याएर खान्छु र सुत्छु ।
 
चार दशकभन्दा बढी समयपछि देशको माटो छोएँ मैले । एयरपोर्टबाट ओर्लिएपछि ट्याक्सी चडेर सिधै यही अपार्टमेन्टमा आएँ । भोलिपल्ट दिउँसो गएर गाडी किनेँ । नम्बरसमेत नलेखी सिधै काकाको घर खोज्दै गएँ । आपले बाल्यकालमा कुदेका खेतका गहराहरू सबैमा भौतिक संरचनाहरू कोचाकोच गरी अस्तव्यस्त रूपमा खाँदिएका रहेछन् । पुराना काँचा इँटाका घरहरूको बस्तीलाई स्मृतिको कुनाबाट उघारेर काकाको घर खोज्न थाले । जङ्गलका सस्याना रैथाने बुट्यानहरूलाई मिचाहा झार वनमाराको डसाइबाट आफ्नाे अस्तित्व जोगाउन मुस्किल परेजस्तो अवस्थामा रहेको काकाको घर पत्ता लगाउन हम्मेहम्मे पर्‍यो । बल्लतल्ल फेला पारेँ । डोर बेल थिचेँ । एउटी बैसालु विवाहिता बाहिर निस्किइन् । को हुन् मैले लख काट्न सकिनँ । 
 
“ काका हुनुहुन्छ ?,” मैले सोधेँ । “को काका.....?” विवाहिताले मेरो उमेरको अन्दाज लगाउँदै प्रतिप्रश्न गरिन् ।
 
 “को हजुरबा.....?” मैलो अँध्यारोमा गोली चलाएँ “हो ...हो ।”
 
म विवाहिताको पछि लागेँ । डुब्ने बेलाको घाम तापेर तमाखु तान्दै हुनुँहुदोरहेछ काका । बत्ती कात्दै गरेकी काकीसँगै पलंँटी मारेर बसेकी बहिनी अगाडि पछाडि हल्लिरहेकी थिई, केटाकेटीदेखिको बानी बुढेसकालसम्म अझै गएको रहेनछ । 
 
“हजुरबा ! हजुरलाई भेट्न मान्छे आउनुभा छ,” टाउकामा धोती चढाएकी विवाहिता तुरुन्तै फर्किइन् ।
 
मैले पनि समयमै बिहे गरेको भए यस्तै बुहारी भित्रिइसक्ने रहिछन् । मैले काका अघिल्तिर गएर टाउको निहुराएँ । 
 
“चिन्न अलि गाह्रो पर्‍यो नि बाबु ।” काकाको जिज्ञासालाई समाधान गर्नुअघि काकी अघिल्तिर पनि निहुिरएँ । 
 
“काका...म...ठुले !” काकाको अनुहारमा क्रोधाग्नि प्रज्वल्लित भयो ।
 
 “थुक्क कुलाङ्गार......के खोज्न आइस् यहाँ.....म्लेच्छका देशाँ गाडिन छोडेर ?” बहिनीले अनुहार रुँलारुँला जस्तो पारी ।
 हुत्तिएर आइपुगेकी बुहारीले काकीलाई साङ्केतिक प्रश्न गरिन् । 
 
“के खोज्न आइस्.... आफ्नाे अंश खोज्न ?.... लैजा तँजस्ता कुलाङ्गारको सम्पत्ति कसैले छुँदैन यहाँ.... दाजुकै नाममा छ, जा गएर नामसारी गर् । ” काकाको रौद्र रूप थामिइने लक्षण देखिएन । 
 
 
अनुहारमा झल्किएको मातृवात्सल्यलाई काकाको अगाडि लुकाउने प्रयास गर्दै हुनुहुन्थ्यो काकी । काकीले साङ्केतिक भाषामा म उसको दाजु भएको कुरा बताइदिनुभयो बहिनीलाई । काने टोपीले मोरिएको टाउको हल्लाउँदै बोली नफुटेको बच्चा जसरी कराउँदै खुसी हुँदै मसँग टाँसिन आइपुगी बहिनी । बहिनीका बाल सुलभताले काकालाई पगाल्यो ।
 
“खबरदार यसमाथि पनि अधिकार खोज्लास्........कुलद्रोही ।” गहभरि आँसु पार्दै काका तमाखु बोकेर कोठाभित्र पस्नुभयो ।
 
कान नसुन्ने, बोल्न नसक्ने, सुस्त मनस्थिति भनेर पूरै सुस्त पनि होइन, यस्ती छ मेरी बहिनी । आमा बित्नुहुँदा दश वर्षकी मात्र थिई यो । म तेह्र वर्षको । क्षयरोगले थलिनुभएकी आमाका नजिक कसैलाई पनि जाने अनुमति थिएन । बहिनीले अटेर गरेर नजिक जान खोजे पनि आमाले दिनुहुन्नथियो, नजिक भएका वस्तुहरूले प्रहार गरेर बाली खान पसेको बस्तुलाई झैँ लखेटेनुहुन्थ्यो । आमाले मन बाँधिसक्नुभएको थियो । 
 
“बहिनीको विचार गर्नू है बाबु.....यस्को तँ बाहेक को छ र ?” आमा सम्झाउने प्रयास गर्नुहुन्थ्यो । 
 
बहिनीका भाषा आमा, बुवा, काका, काकी, फुपुहरू सबै जना राम्ररी बुझ्नुहुन्थ्यो । तर मैले कहिल्यै बुझिनँ वा बुझ्न चाहिनँ । मलाई पटक्कै मन नपर्नेहरूमा यो बहिनी पनि पर्दथी । सबैलाई पिर्न जन्मिएकी जस्तो लाग्दथ्यो । मेरी बहिनी लाटी छ भन्ने थाहा पाएका साथीहरूले कक्षामा हल्ला फैलाइदिएलान् भन्ने त्रास सधैँ रहिरहन्थ्यो । मेरा मनमा मानवीय संवेदना पलाउनु भनेको ढुङ्गा टुसाउनुजस्तै थियो । 
 
“बहिनीलाई माया गर्ने तपार्इंहरू हुँदै हुनुहुन्छ नि ! मैले किन माया गर्नुपर्‍यो ?” म काँचो जवाफले आमालाई प्रहार गर्थेँ ।
 
मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । 
सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले । उमेरमा साना ठूला सबै साथीहरू, फुपूका छोराछोरीहरू, मामाका छोराछोरीहरू मेरो नजिक पर्न डराउँथे । उनीहरूसँग पैसा भएको गन्ध आएमा फकाएर हुन्छ कि तर्साएर हुन्छ जसरी पनि म फुत्काएरै छोड्थेँ ।
 
परिआएमा मुक्का प्रहार गर्नमा पनि हिच्किचाउने बानी थिएन मेरो । चढ्दो उमेरसगै मेरो महत्वाकाङ्क्षामा पनि वृृद्घि हुन थाल्यो । महत्वाकाङ्क्षा र घमण्डको कुहिरोभित्र भुल्नमा आनन्द लाग्न थाल्यो । आइएस्सी पढ्न थालेदेखि नै कमाउन थालेको मलाई कहिल्यै घर कसरी चलिरहेको छ भनेर बुबालाई सोध्ने आवश्यकता महसुस भएन । बरु बुवाले धार्मिक कार्यमा गर्नुहुने खर्चहरू, बहिनीका उपचार तथा पढाइमा गरिने खर्चहरू, यदाकदा गरीब निमुखाहरूलाई दिइने दानहरू तथा जङ्गलका बाँदरहरूलाई बाँडिने बिस्कुटहरू सबै फजुल खर्चहरू हुन् भन्ने मेरो धारणा थियो । धेरै कुरामा बुवासँग मेरा राय बाझिन थाले । आफन्त इष्टमित्र सबैलाई मतियारको उपाधि भिराइदिएँ मैले । सरकारी छात्रबृत्तिमा रुस पुगेको मैले अध्ययन पूरा गरेपछि स्वदेश फर्कनुपर्ने आवश्यकता महसुस गरिनँ । त्यहाँबाट सिधै अमेरिका पुगेर अर्थशास्त्रमा विद्यावारिधि गरेँ ।
 
रुस जानुअघि नै बुवा मेरो विवाह गरिदिन चाहनुहुन्थ्यो, मैले टेरिनँ । सुरुसुरुका दिनमा अलिअलि आफन्तका र धेरै बुवाका चिठ्ठीहरू आउँथे । तिनीहरूमध्ये अत्यन्त कमका मात्र जवाफ फर्काउन आवश्यक ठानेँ मैले । पछिपछि टेलिफोन र इमेल इन्टरनेटमा नेपालीको पहँुच पुग्दासम्म बुवाबाहेक अरूले सम्पर्कको प्रयास व्यर्थ रहेको महसुस गरिसकेका थिए । अमेरिकामा छँदा यदाकदा बुवाले फोन गर्नुहुन्थ्यो । सुरुका दिनमा म फर्किएर विवाह गरूँ भन्ने चाहना व्यक्त गर्नुहुन्थ्यो । पछि उतै भए पनि एउटी कुलकी कन्या खोजेर बिहे गर्नु भन्न थाल्नुभयो । अन्त्यमा हार मानेपछि आफ्नाे पिण्ड पानी रोकिने भयो भन्दै एकदुई पटक सुँकसुँकाउनु पनि भयो । अमेरिकामा प्रगतिका खुड्किलाहरू चढ्दै गरेको मेरो भेडो मस्तिष्कमा बुवाका कुराहरूले रङ्ग भर्न सकेनन् । डाइनोसरको अन्तिम पुस्ताजस्तो जोगाउनैपर्ने वंश ठानिनँ मैले आफ्नाे । रुस बसाइका क्रममा पाएका केटी साथीहरूका संसर्गले मेरो वैवाहिक जीवनप्रतिको मोह भङ्ग भइसकेको थियो । एउटी विदेशी सहपाठी महिला र म सँगै बस्थ्याैँ । वास्तवमै भन्दा सहपाठीको सहबोको थिएँ म । 
 
अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा प्रा.डा. हुन पाएको तथा आफूले लेखेका लेखहरू विभिन्न अन्तर्राष्ट्रिय अखबारहरूमा छापिनुले मेरो अभिमान उत्कर्षमा पुग्यो । आफूभन्दा कनिष्टहरूको महत्त्व देखिनँ मैले । एक पटक नेपालका उच्च राजनीतिज्ञले अमेरिका भ्रमणका क्रममा योजना आयोगको नेतृत्व सम्हालेर देश विकासमा हातेमालो गर्न गरेको अनुरोधलाई नेपालजस्तो मुलुकले आफूलाई पाल्न नसक्ने भन्दै ओठे जवाफ फर्काइदिएँ मैले । 
 
मैले लेखेको पुस्तकलाई अर्थशास्त्रतर्फको नोबल पुरस्कारका लागि सिफारिस गर्ने सम्बन्धमा विश्वविद्यालयमा छलफल चलिरहेको बेला लामो समयपछि नेपालबाट फोन आयो । फोन काकाले गर्नुभएको थियो । मैले नेपाल छोडेपछि पहिलो पटक काकाको स्वर मेरो कानमा गुन्जँदै थियो । पशुपतिका सिँढी उक्लिने क्रममा चिप्लिएर बुवा अचेत हुनुभएको र जीवन मृत्युको दोसाँधमा पुग्नुभएको जानकारी गराउनुभयो काकाले । एकदुई दिनमा मिलाएर आउने आश्वासन त दिएँ मैले काकालाई तर आफ्नाे अनुपस्थितिमा सिफारिसको माहौल बिग्रिन सक्ने कुराले चिन्तित गरायो । फर्कने या नफर्कने दोधारे मनस्थितिमा लामो समय भने मैले बस्नुपरेन । केही घण्टापछि नै बुवा बित्नुभएको खबर आयो । मैले काकालाई आफू तुरुन्त आउन सक्ने अवस्था नरहेको बताएँ । हुने कुरा भइसकेकोले आफू पछि समय मिलाएर आउने भन्दै म पन्छिएँ । त्यसपछि भने मेरो सम्पर्क नेपालसँग पूर्ण रूपमा विच्छेद भएको थियो । त्यसपछि सहपाठी महिलाले पनि लात हानिन् । चर्चामै नरहेकी उनले पुरस्कारका लागि सिफारिस उछिट्टयाइन् ।
 
आजकल मलाई आफू कुहिरोभित्र हराएको पूर्ण महसुस भएको छ । नेपालकै कुहिरोमा अलमलिएको मलाई, अलमलिँदै बाटो बिराउँदै कुहिरेका देशको कुहिरोभित्र लगेर मिल्क्काइदिएछ मेरा प्रदूषित सोचाइले । पशुपतिका ढुङ्गाका सिँढीमा आफ्नाे बाबुका पद चिह्नहरू देख्न पाउने मृगतृष्णामा भौतारिने गर्दछु अचेल । यी बाँदरहरूमध्ये कतिलाई बिस्कुट खुवाउने क्रममा सुम्सुम्याउनु भयो होला बुवाले । मानवीय सामीप्यका हिसाबमा यी बाँदरहरू मभन्दा भाग्यमानी छन् । यिनीहरू मेरा बाबुका मृत्युका प्रत्यक्षदर्शी हुन् । बुवा कहाँ लड्नुभयो कसैलाई सोध्ने आँट गरिहाल्न सकेको छैन मैले । मैले कसैसँग खुलेर कुरा गर्ने अधिकार गुमाइसकेँ । मैले सोध्न सक्ने भनेको केवल यी बाँदरहरू हुन् । यिनीहरूसँग कुरा गर्ने भाषा छैन मसँग । भाषा त मसँग बहिनीसँग कुरा गर्ने पनि छैन । आफूनै बहिनीका भाषा त बुझ्न प्रयास नगर्ने मजस्तो पाखण्डीले बाँदरका भाषा कसरी बुझ्नु ! हरेक कुरा पाउनका लागि लगाव चाहिन्छ । आफन्तसँगको सम्बन्ध बिगार्नमा प्रयोग गरिएको लगाव बहिनीका भाषा बुझ्नमा लगाउन सके केही उपलब्धि पक्कै हुन्थ्यो होला ।
 
सिँढी उक्लन थालेपछि नै गम्भीर मुद्रामा बहिनी तत्याङ्मत्याङ् गर्न थाल्छे । ऊ अवश्य बुवाकै कुरा गर्छे । सायद भन्दी हो, बुवा यहीँ लड्नुभयो वा अलि माथि लड्नुभयो । लडेर तीन खुड्किला गुल्टिनुभएछ, वा ठेस लागेर यसो लड्दा टाउको ठोकिएछ । टाउकामा रगत बगिरहेको थियो, वा बाहिर चोट केही देखिएकै थिएन, तै पनि....आदि आदि । ठाउँठाउँमा रोकिन्छे । शारीरिक हाउभाउ देखाउँछे । के के गर्छे के के । म केही बुझ्न सक्दिनँ । एउटा अबोध बालकझैं म बहिनीका पछि लागिरहन्छु । कुहिरोमा हराएको कागजस्तै । बाँदरहरूतर्फ बिस्कुटका ठेउकाहरू मिल्काउँदै हिँडिरहेछु, एक दिन कुहिरोलाई चिरेर बाहिर निस्कने आशमा । 
 
प्रमोद प्याकुरेलद्वारा लिखित कथासंग्रह ‘झुल्या कागत’ बाट । बुलबुल प्रकाशनद्वारा प्रकाशित यो कथासंग्रह शनिबार काठमाडौंमा सार्वजनिक हुँदैछ । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया