MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अलैँची खेतीमा डिल्लीरामका सपना

प्रकाश धौलाकोटी/उज्यालो ।

तेह्रथुम, २५ चैत । ३५ सालमा अलैँची खेती गर्ने चलन सुरु हुँदै गर्दा उहाँलाई त्यसको महत्व कत्ति पनि थाहा थिएन । बरु ‘अलैँचीे खेती गरेर पनि बिहान बेलुकाको छाक टर्ला र ?’ भन्ने प्रश्न उनको मनान उब्जिएको थियो । बिहान–बेलुका दुई छाक टार्न र मर्दा–पर्दा काम लाग्ला भनेर दुई रुपैयाँ जम्मा गर्नु बाहेक उहाँका अरु धेरै सपना पनि थिएनन् । त्यतिवेला लहै–लहैमा अलैँची खेती थालेका तीनै व्यक्ति अहिले अलैँची खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।

बिहानदेखि साँझसम्म अलैँची बगानमा स्याहार गरेर बिताउनुहुन्छ । उहाँको अलैँची बाहेक अरु कुनै बालीको खेती पनि छैन । आम्दानीको मुख्य स्रोत भनेकै अलैँची हो । बाबुबाजेले खोरिया फाँडेर बनाएको खेतबारी सबै अलैँची लगाएर जंगल बनाउनुभएको छ । अलैँची खेतीबाटै अब आफू आफ्ना छोरा र सन्ततीको जीवन चल्छ भन्ने उहाँको विश्वास छ ।

तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका ६३ वर्षीय किसान डिल्लीराम ढकालले अलैँची खेतीमा आफ्ना सपना सजाउनु भएको छ । अलैँची खेती गरेर परिवार धान्न नसकिएला कि ? भन्ने त्रासले अन्नबालीसँगै अलैँची खेती गर्दै झण्डै चार दशक बिताएका ढकालले अहिले सबै जमीनमा अलैँची खेती गरिरहनु भएको छ । अलैँचीबाटै उहाँको परिवार चलेको छ । उहाँको परिवारमा एक छोरा, बुहारी, नाति र श्रीमती गरी जम्मा ५ सदस्य रहेका छन् ।

ढकालले आफूसँग भएको ५० रोपनीभन्दा बढी जमीनमा अलैँची खेती लगाएको बताउनुभयो । ‘पहिले अलि डर लाग्यो, पछि अलैँचीबाटै कमाई गरेँ, र सम्भावना पनि देखेँ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले भएभरको सबै जमीनमा अलैँची खेती लगाएको हुँ ।’ ४० साल तिरको कुरा सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला फल्न पनि धेरै फल्दैन थियो, मूल्य पनि साह्रै कम थियो ।’

अन्यबाली भन्दा कम जनशक्ति लाग्ने, थोरै चिस्यान जमीन भए राम्रो उत्पादन हुने, धेरै मेहनत गर्नु नपर्नेलगायतका कारणले त्यसवेलै देखि क्रमशः अलैँची खेतीमा आकर्षित हुनु भएका ढकालले पहिलो पल्ट दश मन अलैँची फलाउँदा प्रति मन २८ हजारका दरले मूल्य पाउनुभएको थियो । उहाँ त्यतिबेला निकै हौसिनु पनि भएको थियो । उहाँलाई त्यसपछि निरन्तर अलैँची खेतीबाट राम्रो आम्दानी पनि मिल्यो ।
 
५ वर्षयता आफूले अलैँचीको व्यवसायिक खेती गरेर आम्दानी लिने बाटोमा लागेको उहाँले बताउनुभयो । ‘यही खेतीबाट जीवनमा थोरै आर्थिक प्रगति मिल्यो, गाउँमा काम गर्ने कामदार पनि पाउन छाडेँ’ उहाँ भन्नुहुन्छ ‘त्यसैले सजिलो र राम्रो सम्भावनासमेत भएको बाटोको रुपमा अलैँचीलाई रोजेको हुँ ।’ केही वर्षयता अलैँचीमा देखिएका विभिन्न प्रकारका रोगको संक्रमणले हैरान बनाएको उहाँले बताउनुभयो । ‘आफुलाई प्राविधिक ज्ञान थिएन, थरी–थरीका रोग किरा देखा पर्न थाले,’ उहाँले भन्नुभयो ।


 
बगानको स्याहारका लागि उहाँ आफैँ खटिनुहुन्छ । उहाँका छोरा र बुहारी पनि अलैँची बगानकै स्याहारमा खटिन्छन् । थप स्याहारका लागि एक जना अस्थायी कामदार पनि राख्नुभएको छ उहाँले ।

उहाँले यो वर्ष अलैँचीबाट ३ लाख रुपैयाँमात्रै आम्दानी गर्नुभयो । तर उहाँ कत्ति पनि विचलित हुनुभएको छैन । अहिले मूल्य पनि कम छ, उत्पादन पनि कम भयो । पहिले मूल्य पनि धेरै पाएँ, उत्पादन पनि राम्रो भयो । फेरि पनि यस्तै हुन्छ भनेर भन्न नसकिने अनिश्चित बजार भए पनि बजार छिट्टै टुंगिने कुनै सम्भावना नदेखेको उहाँले बताउनुभयो । सबै खर्च कटाएर पनि डेढ लाख रुपैयाँ यही वर्ष पनि आम्दानी गरेको उहाँले बताउनुभयो । त्यति रकम भए परिवार चलाउन कुनै सकस नहुने उहाँको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया