MENU

विचार/अनुभूति

​माझी बस्तीमा नयाँ घर, खुशीको बहारभन्दा दु:खको कहर

– सुनिता पहरी 

छिप्पिंदै गरेको गर्मी र हुरीबतासकाबीच रामेछापको मन्थली नगरपालिका अन्तरगत तामाकोशी तीरमै पर्ने माझी गाउँ पुग्दा स्थानीयबासिन्दालाई घर बनाउने चटारो थियो । तामाकोशीको किनारैकिनार बनाइएको कच्ची बाटोमा ट्याक्टरलाई सिमेन्ट, गिटी र पानी ओसार्न भ्याइनभ्याई थियो ।

भूकम्प प्रभावितलाई घर बनाउन सरकारले दिएको अनुदानबाट घर बनाइसक्नुपर्ने समयसीमा सकिन लागेपछि हतार हतारमा बन्दै थिए ‘भूकम्पका घर’ । 
भूकम्पले भत्काएपछि बन्दै गरेका घरलाई बस्तीमा आफ्नो घर भन्दा पनि भूकम्पको घर भन्दा रहेछन् । 

माझी बस्तीमा भूकम्पको चौथो वर्ष लाग्नैलाग्दा पुनर्निर्माणले केही गति लिएको रहेछ । १२ वर्षदेखि राम्ररी पानी नपरेर खडेरी परेको मन्थलीमा घर बनाउन पानी मुख्य समस्या बनेको पाइयो । घर बनाउने पानी त दुखमसुखम जुट्ला तर पानी र माछासँगै जोडीएको माझी समुदायको पेसा त लगभग लोप नै भैसकेको उनीहरुले गुनासो गरे ।

जसका कारण प्रकृतीले लगाइदिएको पानीको मात्र होइन आम्दानीको पनि खडेरी परेको छ । त्यसैले नयाँ घर बनाउने कुराले उनीहरुका लागि खुसीको बहारभन्दा त्यसका लागि चाहिने ऋण दुखको कहर बनेको छ । सरकारले दिने अनुदानको रकम नपाइएला भनेर पनि घर बनाउनुपर्ने तर त्यतिले मात्र खर्च नपुग्ने हुँदा बाँकी खर्चको जोहो कसरि गर्ने भन्ने चिन्ता मुख्य रहेको उनीहरुले बताए । 

तामाकोशीको किनारमा महिला गिटी कुटिरहेका भेटिन्छन् । उनीहरु ढलानवाला घर बनाउन आवश्यक पर्ने गिटीको जोहो गरिरहेका हुन् । बस्तीका महिला, केटाकेटी गिटी कुट्न व्यस्त हुँदा पुरुषहरु भने भक्तपुरका इट्टा भट्टामा काम गर्न हिडेको चार महिना पुग्न लागेको रहेछ । उनीहरुले बनाएका इट्टाले पक्कै पनि धेरैका घर बनिसके होलान् तर त्यसबापत पाउने ज्यालाले कहिले उनीहरुको घर ठड्याउन पुग्ने हो थाहा छैन । 

भूकम्पले भत्काएको आफ्नो घर बनाउन आवश्यक पर्ने पैसा ऋण खोजेर व्यवस्थापन गर्ने उनीहरुको तयारी छ । तर ऋण र त्यसको चर्को ब्याज तिर्ने बाटो भनेको ज्याला मजदुरी नै हो । त्यसबाट जुट्ने पैसाले घर खर्च कटाएर ऋण र ब्याज तिर्न कति वर्ष लाग्छ भन्ने कुनै टुंगो छैन । 

माझी बस्तीमा भूकम्पपछिको पुननिर्माण त ढिलोचाँडो सकिएला तर त्यसको ऋणले उनीहरुका बाँकी धेरै हिउँद बर्षा सकसको चाङले थिलथिलो हुने भने निश्चित जस्तै छ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया