MENU

मनोरञ्जन

​राजाले घुँडा टेकेको दिन कलाकार राजाको हाँस्यव्यंग्य साँझ

आज चैत २६, पहिलो जनआन्दोलन सफल भएको दिन । प्रजातन्त्र प्राप्तिका लागि २०४६ साल फागुन ७ गते सुरु भएको जनआन्दोलनले चैत २६ गते सफलता पाएको थियो । नागरिकको अधिकार फिर्ता गर्न तत्कालीन राजा बाध्य भएका थिए ।

राजाले घुँडा टेकेको त्यही दिन पारेर आज युवा हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको हाँस्यव्यंग्य साँझ हुँदैछ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा आर्मी अफिसर्स क्लव भद्रकालीमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ । कार्यक्रममा आफूले चोटिला हाँस्यव्यंग्य प्रस्तुतिमार्फत सन्देश र मनोरञ्जन दिन कोशिस गर्ने कलाकार पोखरेलले जानकारी दिए ।

सानो छँदा यसरी हँसाउँथे पोखरेल :

कलाकार पोखरेल सानैदेखि हाँस्यव्यंग्य र गीत संगीतमा रुची राख्थे । उनलाई मामाले सधैं ‘भान्जाले हँसाउँछ’ भन्थे । कलाकार पोखरेलले एउटा रमाइलो घटना सम्झिए ।

५ वर्षको छँदा उनी मामाघर गएका थिए । मामाघरमा कोठा लिएर बस्ने एकजना राती रक्सीले मातेर आएछन् । श्रीमतीले ढोका नखोलेपछि चार लात्ती हानेर ढोका फोरेछन् । पछि ढोका बनाउन २० रुपैयाँ लागेछ । त्यहीबेला राजेन्द्रले भनेछन् – एकलात्ती बराबर ५ रुपैयाँ परेछ ।

घरमा पनि पाहुना आएकोबेला धामीको शैलीमा हँसाउने, रेडियोमा समाचार सुनेर त्यसैगरी भन्ने, गीतलाई प्यारोडी बनाउने गरेको उनले सुनाए । यसरी सानैदेखि हाँस्यव्यंग्य र गीतसंगीतमा रुची राख्ने कलाकार पोखरेल हाँस्यव्यंग्यको क्षेत्रमा सफल भैसकेका छन् । ३० भन्दा धेरै गीत गाएका छन् । करिब ढेड दशक अघिदेखि उनी हाँस्य व्यङ्ग्य क्षेत्रमा क्रियाशील रहेका छन्। 

२०५८ सालदेखि कलेजमा हुने साँस्कृतिक कार्यक्रमहरु मार्फत हाँस्य व्यङ्ग्य क्षेत्रमा पाइला राखेका राजेन्द्र जनआन्दोलन २०६२/०६३ मा तत्कालीन शासकहरुको गलत रबैयालाई आफ्नो व्यङ्गात्मक प्रस्तुतिमार्फत अभिव्यक्त गरेर त्यसै समयमै प्रतिभाशाली कलाकारको रुप ग्रहण गरेका थिए । एक हजारभन्दा बढी ‘स्टेज प्रोग्राम’ हरुमा आफ्नो प्रस्तुति दिइसकेका राजा राजेन्द्रले ‘जिरे खोर्सानी’ र ‘मेरी बास्सै’ जस्ता चर्चित टेलिभिजन कार्यक्रमहरुमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन् ।

रेडियो अडियोबाट २०६५ सालदेखि निरन्तर हाँस्य व्यङ्ग्य कार्यक्रम सञ्चालन गरिरहेका उनका कमेडी क्लब, चिया चौतारी, सुपरफास्ट, चटपटे गरम मसलालगायतका कार्यक्रमहरु चर्चाका केन्द्रमा रहे । त्यसैगरी ई–२४, टेलिभिजनमा हाँस्य व्यङ्ग्य कार्यक्रम ‘गीत जात्रा’ र हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘जोक तन्त्र’ समेत सञ्चालन गरेका थिए ।

दर्जनौं गीतहरुमा शब्द तथा संगीत गरिसकेका राजा राजेन्द्रको ‘मेरो माया’ गीती एल्बम समेत बजारमा आइसकेको छ । मृगौला पीडित, क्यान्सर पीडित र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको हाँस्यव्यंग्य साँझमा राजनराज शिवाकोटी मिना निरौला ,बद्रि पंगेनी ,अमृत खाती लगायतका कलाकार हरुले राजा राजेन्द्रलाई साथ दिनेछन ।

रेडियो अडियो , नेपाल टेलिभिजन र न्यूज २४ बाट प्रत्येक्ष प्रसारण हुने कार्यक्रम बेलुकी ४ बजेदेखि सुरु हुने छ ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया