MENU

समाज

मेलम्चीमा ऐतिहासिक उपलब्धि : सकियो सुरुङ खन्ने काम, दसैँमा धारामा पानी आउने पक्का

काठमाडौं, चैत २७ – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम सकिएको छ । 

२६ किलोमिटर लामो सुरुङमध्ये सिन्धु–ग्याल्थुम खण्डको ७ दशमलब ५ किलोमिटर खण्डमा मंगलबार अन्तिम विस्फोट गराएर सुन्दरीजल र मेलम्चीतर्फको सुरुङ जोडिएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

 

दुईवटा सुरुङ जोड्ने काम अर्थात ब्रेक थ्रु गर्ने अवसरमा सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले आफूले चुनौतीको विषय ठोनेको मेलम्चीको सुरुङ ब्रेक थ्रु हुँदा खुशी लागेको बताउनुभयो । सुरुङको ब्रेक थ्रु भएको खुसियालीमा आउँदो बिहीबार मेलम्चीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष कार्यक्रम गरिने आयोजनाले जनाएको छ ।

अब सुरुङ सफा गर्ने, पानी प्रशोधन गर्ने र पाइप बिच्छ्याउने काम तीव्र बनाएर ढिलोमा दसैँसम्म काठमाडौंमा मेलम्चीको पानी आउने आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । 

२००८ मा सुरु भएको काम १० वर्षमा सकिने पक्का 

सन् २००८ मा एसियाली विकास बैंक एडीबी र सरकारबीच सहमति भएपछि आयोजनाको मुख्य सुरुङ बनाउने कामको कागजी प्रक्रिया सुरु भएको थियो । सन् २००९ मा हेडवकर््स तथा सुरुङ निर्माणको लागि सीआरसीसी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । कम्पनीले सन् २०१० को जुन महिनाबाट काम थालेको थियो । तर कम्पनीले तोकिएको समयमा काम पूरा नगर्ने गरी काम गरेको र शर्त नमानेको पाइएपछि सरकारले सन् २०१२ मा सीआरसीसीसँगको ठेक्का तोडेको थियो । त्यतिबेलासम्म जम्मा साढे ६ किलोमिटर मात्रै सुरुङ खनिएको थियो । 

सन् २०१३ मा इटालियन कम्पनी सीएमसी दि रेभिन्नासँग फेरि सम्झौता भयो । रेभिन्नाले सन् २०१४ बाट काम थाल्यो । यो कम्पनीले पनि तोकिएको समयमा काम सकेको त छैन । तर काम भने गरिरहेको छ । अहिले आयोजनाको ८४ प्रतिशत काम सकिएको छ ।

गलबार अन्तिम सुरुङको ब्रेक थ्रु भएसँगै  तीनवटै सुरुङको काम लगभग सकिएको छ । अब सुरुङ सफा गर्न र अन्तिम परीक्षण मात्रै बाँकी छ । मुख्य प्रवेशद्वार र हेड वक्र्सको काम पनि भैरहेको छ । सुरुङको कामलाई मुख्य चुनौती मानिएकोमा अब त्यो चुनौती सकिएको छ । यससँगै अब काठमाडौंमा  मेलम्चीको पानी आउने आशा यथार्थमा परिणत हुने निश्चित जस्तै भएको आयोजनाको भनाई छ ।

पानी प्रशोधन केन्द्र निर्माणमा पनि सन्तोषनजक प्रगति

पहिलो चरणमा काठमाडौंमा आउने मेलम्ची खोलाको १७ करोड लिटर पानी प्रशोधनको लागि सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र निर्माण भैरहेको छ । साढे ८ करोड लिटर पानी प्रशोधन गर्ने पहिलो प्रशोधन केन्द्रको काम गएको माघमा सकिएको छ । यस्तै साढे ८ करोड लिटर पानी शुद्ध बनाउने दोस्रो प्रशोधन केन्द्रको काम पनि २५ प्रतिशत सकिएको छ ।

आउँदो पुससम्म यो पनि सकिने आयोजनाले जनाएको छ । मेलम्चीको पानी यसै पनि शुद्ध भएकाले प्रशोधन केन्द्र निर्माणकै कारण पानी वितरणमा समस्या नहुने कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनुभयो । काठमाडौंमा बिच्छाउनुपर्ने एकहजार किलोमिटर पाइपमध्ये नौ सय किलोमिटर बिच्छ्याइसकिएको आयोजनाले जनाएको छ । 

याङ्ग्री र लार्के खोलाको पानी ल्याउने डीपीआर बन्दै

आयोजनाका अनुसार पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी दसैँसम्म काठमाडौं आउनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७-१७ करोड लिटर पानी ल्याउने विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ । 

दुईटै खोलाको पानी पनि सुरुङबाट मेलम्ची खोलामा मिसाउने र  दैनिक ५१ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । अबको तीन महिनासम्ममा डीपीआर तयार हुने आयोजनाको दावी छ । दोस्रो चरणको कामको लागि सहयोग र अनुदान दिन एसियाली विकास बैंक एडीबी सकारात्मक रहेकाले सन् २०२५ सम्म काम सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया