MENU

समाज

सुरु भयो भक्तपुरमा बिस्केटजात्राको रौनक

भक्तपुर चैत २७ – भक्तपुरमा विस्केट जात्रा सुरु भएको छ ।
 
नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालिन बिस्केट जात्रा मंगलबारबाट सुरु भएको छ ।
 
मंगलबार बिहान भैरवनाथको पूजा सुरुभएसँगै दिउँसो स्थानीयले गुठीको पूजा गरेर साँझबाट रथ तानेसँगै विधिवत रुपमा जात्रा सुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
 
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भएर नयाँ वर्षको पाँचदिन पछिसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरका बासिन्दाले ८ रात ९ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । बिस्केट जात्राको पहिलो दिन मंगलबार बिहानैदेखि भैरव र भद्रकालीको पूजा गरेपछि दिउँसोबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।
परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु्र्‍याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्‍याएपछि मंगलबार पहिलो दिनको रथयात्रा बिसर्जन गरिन्छ ।  
भैरवनाथको रथमा तलेजुका पूजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइके नरेन्द्र जोशीले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न सुरु गरिन्छ । बिक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको तलेजुका नाइके जोशीले बताउनुभयो । 
मुख्य गरी चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहे अनुसार यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्‍यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदै पछि विश्वजात्रा, भएर अपभ्रंशबाट विस्केट जात्रा हुन गएको स्थानीय बूढापाकाहरू बताउँछन् ।
किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि  राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।
 
एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे । 
 
भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुशी भएर राजाले पनि छोरीलाई अथाह धनसम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा ठड्याउने गरिन्छ ।
 
यो लिङ्गो भक्तपुरको चित्तपोल गाविसको सल्लाघारी जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजा गरी बोकाले छोएकै रूखमा बोकाको बली चढाइ सोही रूख काटी ल्याउने प्रचलन अहिलेसम्म चल्दै आएको छ । लिङ्गोमा राख्ने ध्वजा एकजोडी र लिङ्गो ठड्याउने आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अंकित हुन्छ ।
 
प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।
 
नेपाल सम्वत २६८ अर्थात लिच्छवीकालभन्दा अगाडिको यो जात्रा नागनागिनी मारिएको खुशीयालीमा मनाउन लागेको र यो जात्रालाई मल्ल राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल सम्बत ८२७ मा राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।
 
गएको २२ वर्षअघि देखि जात्रामा रथ तान्दा झगडा हुने र ढुङ्गा प्रहार गर्ने परम्परा बसेपछि यसलाई हटाउन यसवर्ष भक्तपुर जिल्ला प्रशासन र प्रहरीले सुरक्षामा कडा नीति अगाडि सारेका छन् ।
 
तल्लो टोल र माथिल्लो टोलका बासिन्दाले रथलाई आ–आफ्नो टोलमा लैजादा रथ तान्दा ढुङ्गा हानाहान हुँदा अप्रिय घटना समेत घट्ने गरेको छ । झगडा हुन नदिन यसवर्ष १३ सय भन्दा बढी सुरक्षाकर्मी खटाइएको र ३४ वटा सीसी क्यामरा जडान गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले झगडा गर्नेलाई सार्वजनिक मुद्धा लगाएर कारवाही गर्ने बताउनुभयो । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया