MENU

राजनीति

ujyaalo forign call inside

​किन गर्यो कांग्रेसले श्वेतपत्रको विरोध ?

काठमाडौं, चैत २८ – सरकारले यथार्थपत्र भन्दै देशको आर्थिक गतिविधिको जानकारी गराउन जारी गरेको ‘श्वेतपत्र’लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘लालपत्र’को संज्ञा दियो ।

अर्थमन्त्री डा.युवराज खतिवडाले जारी गर्नुभएको ‘श्वेतपत्र’ राजनीतिक पूर्वाग्रहबाट आएको भन्दै कांग्रेसले पत्रकार सम्मेलन गरेर विरोध जनाएको हो । देशको अर्थिक सञ्चिती, मौजुदा अवस्था र अब सरकारले गर्ने कामको विवरण समेटेर श्वेतपत्र सार्वजनिक गरेको थियो । गएका सरकारको अदूरदर्शी नीति र मनलाग्दी बजेट विनियोजनले देशको ढुकुटी नै रित्तिन पुगेको श्वेतपत्रमा उल्लेख छ । 

नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारका सबै निर्णयहरु गलत रहेको भन्ने भ्रम छर्ने प्रयत्न स्वरुप श्वेतपत्र आएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसले श्वेतपत्र अबौद्धिक र अव्यावसायिक मुचुल्का भनेको छ । 

किन गर्‍यो कांग्रेसले विरोध ?

अघिल्लो सरकारको नेतृत्व कांग्रेसले सम्हालेको थियो । शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले विकास निर्माण, वैदेशिक लगानी भित्र्याउने तथा अन्य गतविधि गर्न नसकेपनि तीनै चरणको चुनाव शान्तिपूर्ण सम्पन्न गराउन भने महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

अहिलेको सरकारले अघिल्लो सरकारका उपलब्धिलाई नजर अन्दाज गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाउनुभयो ।  

सरकारले हालसम्मको आर्थिक उपलब्धिलाई नकारेको र शून्यबाट समृद्धिको सुरुवात गर्न लागेको भन्ने भ्रम स्थापित गर्न श्वेतपत्रमा काँग्रेस नेतृत्वको सरकारलाई मात्रै दोष थोपर्न खोजिएको कांग्रेसको आरोप छ ।  

‛दशवर्ष यता एमाले माओवादीकै सरकारको हालिमुहाली छ, काँग्रेसलाई मात्रै दोष थोपार्नु उचित छैन′, प्रवक्ता शर्माले भन्नुभयो । अहिले फेरि एमाले माओवादी नै मिलेर सरकार चलाएका बेला कांग्रेसलाई मात्रै दोष थोपरेर उनीहरु उम्किन खोजेको उहाँले बताउनुभयो । 

बितेका २५ वर्षको अवधीमा ६२ गुणाले राजस्व वृद्धि भएको तथ्यलाई ओली नेतृत्वको सरकारले देखेन तर केही कमजोरीहरुलाई अतिरञ्जनापूर्ण तरिकाले श्वेतपत्रमा प्रस्तुत गरेको उसको आरोप छ । एमाले माओवादीले कांग्रेसलाई मात्रै गलत देखाउन खोज्नु राजनीतिक पूर्वाग्रह बाहेक केही नरहेको कांग्रेसले आरोप लगाएको छ । 

कांग्रेसको यो आरोप र बिरोध जायज छ त ? जवाफ सजिलो छ, जायज या नजायज जे भएपनि कांग्रेसलाई सरकारको विरोध गर्न केही न केही बहाना चाहिएको छ ।
संसदमा विशेष प्रस्ताव समेत पेश गर्न नसक्ने हैसियतमा छ, कांग्रेस । सरकारको विरोध गर्न पनि कांग्रेसले श्वेत पत्र बाहेक अन्य बिजनेश पाएको छैन ।    

श्वेतपत्रले कसैलाई आरोप लगाउन खोजेको नभई देशको अर्थव्यवस्थाको वास्तविक चित्रण मात्रै देखाएको सरकारले बताएको छ ।    

दश वर्षयता कुन कुन पार्टीले चलाए सरकार ? 

२०७४ देखि यता अर्थात १० वर्षको अवधीमा नेपालले दशै जना प्रधानमन्त्री पायो । संविधानसभा पहिलो चुनावबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार सञ्चालन भयो ।

त्यसपछि माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र अहिले फेरि केपी ओलीले दोस्रो कार्यकाल सम्हालिरहनुभएको छ । 

जसमध्ये प्रचण्ड र बाबुराम भट्टराई माओवादीबाट प्रधानमन्त्री बन्नुभएको हो भने, झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओलीले एमालेबाट सरकारको नेतृत्व गर्नुभएको हो । कांग्रेसका सुशील कोइराला र शेरबहादुर देउवाले यो अवधिमा सरकारको नेतृत्व सम्हाल्नु भयो । 

देशको अर्थव्यवस्था बिग्रनुमा कांग्रेसलाई मात्रै दोषी देख्नु उचित होइन । तर शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकारले अर्थ व्यवस्थामा दीर्घकालीन असर पार्ने केही काम भने अवश्य गर्‍यो । 

६५ वर्ष पुगेकालाई अध्ययनबिना नै बृद्धभत्ता दिने निर्णय गर्नु, गैरबजेटरी रकम बाँड्नु, सरकारी संस्थानलाई धमाधम निजीकरण गर्नु, खारेज गर्नु लगायतका निर्णयले देशको अर्थतन्त्रलाई ठूलो नोक्सान पुगेको अर्थविद्हरु नै बताउँछन् ।  

अहिले संसदमा रचनात्मक प्रतिपक्षको खाँचो छ न कि विरोध कै लागि विरोध गर्ने दलको । त्यसैले कांग्रेसले वाम गठबन्धनको सरकारका राम्रा कामको प्रशंसा र गलत कामको रचनात्मक तरिकाले सुधारका लागि आवाज उठाउनु जायज हुनेछ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया