MENU

समाज

ujyaalo forign call inside

सँगै साउदी पुगेका एजेण्ट २२ जनालाई अलपत्र बनाएर भागे

रुपा राई / सिरहा ।

चैत २९ – सिरहा अर्नमा गाउँपालिका–१ महनौरका सन्जयकुमार उराव गाउँघरमा घर बनाउने ठेक्कापट्टाको काम गर्नुहुन्थ्यो । सगमलाल उराव पनि गाउँमै मेसनको काम गर्नुहुन्थ्यो । 

दुवैलाई घर परिवार चलाउन साह्रो थिएन । तर गाउँकै एजेण्ट प्रमोद उरावले विदेशमा राम्रो कमाइ हुने सपना देखाएपछि उनीहरुले गर्दा गर्दै काम छोडेर विदेश जाने सोचे ।  

प्रमोदले साउदीमा जति काम गर्न सक्यो त्यति नै धेरै पैसा कमाउन सकिन्छ भन्दै महिनाको ३५ सय रियालसम्म कमाउन सकिन्छ भनेपछि सन्जयकुमार र सगमलालसँगै २२ जना प्रिन्स इन्टरनेशनल इम्प्लोइमेण्ट सर्भिस प्रालिबाट साउदी पुगे । 

कमाइको लोभ देखाएका एजेण्टले काम चाहिँ लेबरकै भनेका थिए । उनीहरुलाई कम्पनीले खाने बस्ने व्यवस्था गर्यो । तर काममा लगाएन । ‘हामी साहुलाई जहिले पनि काममा लगा भन्थ्यौं तर उसले तिमीहरुको नसिबमा छ भने मात्र काम मिल्छ नत्र भात खाँदै बस्दै गर काम छैन भन्थ्यो’ सन्जयले भन्नुभयो ।

दुई महिनापछि एजेण्ट प्रमोद पनि उनीहरु भएकै कम्पनीमा काम गर्न भन्दै साउदी पुगे । पाँच महिनासम्म पनि काम दिन नसकेको कम्पनीले त्यसपछि खान दिन पनि छोड्यो । त्यतिञ्जेलसम्म उनीहरुको अकामा कार्ड (परिचय पत्र) बनेकै थिएन । ‘बाहिर निस्किने बित्तिकै प्रहरीले समातिहाल्थ्यो’ सगमलालले सुनाउनुभयो । 

उनीहरुले प्रमोदलाई काम दिन या त घर फर्काउन भने । केही दिन हुन्छ म प्रयास गर्छु भनेका प्रमोद त्यसपछि भागे । एकातिर काम पाएका थिएनन् । अर्कोतिर एजेण्ट पनि भागे । केही उपाय नलागेपछि उनीहरु मिथिला सहयोग समाजको सहयोगमा दूतावासमा पुगे ।

दूतावास पुगेपछि भने म्यानपावरले खाना खर्च भन्दै ५ हजार रियाल पठाइदियो । त्यसले केही दिनका लागि उनीहरुलाई राहत भयो । तर त्यो पैसा पनि सक्किएपछि उनीहरुले घरबाट ६० हजार रुपैयाँ घरबाट मगाए । 

घरबाट मगाएको पैसा पनि सक्किएपछि भने बल्ल म्यानपावरले फर्किने टिकट मिलाइदियो । तर कम्पनीले ८ महिनाको तलब बुझेको कागजमा सही गर्न लगायो । तलब नपाएकाले उनीहरुले त्यो कागजमा सही गर्न मानेनन् ।

कम्पनीले त्यसमा सही नगरेसम्म नेपाल फर्किन नदिने भनेपछि उनीहरु नलिएको तलब लिएँ भनेर हस्ताक्षर गर्न बाध्य भए । महिनाको ३५ सय रियाल कमाउने सपना लिएर उडेका उनीहरु ८ महिनामा उल्टै ऋण थपेर घर फर्किएका छन् ।

जाने बेलामा उनीहरुले जनही २ लाख ३० हजार तिरेका थिए । अहिले उनीहरु त्यही ऋण र त्यसको ब्याजले पिरोलिएका छन् । साउदीमा भागेका एजेण्ट अझै फेला परेका छैनन ।

त्यसैले एजेण्टलाई खोजिदिन आग्रह गर्दै सन्जयकुमार उराव, सगमलाल उरावसहित नविन कुमार उराव, युधिष्ठिर कामती,  देवकुमार उराव र रन्जित राउतसहित १० जनाले सुरक्षित आप्रवासना परियोजनाको सूचना केन्द्रमा निवेदन दिएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया