MENU

समाज

ujyaalo forign call inside

त्रिभुवन विमानस्थल किन सँधै रद्दीको सूचीमा ?

लक्ष्मण कार्की/उज्यालो । 

काठमाडौं, चैत २९ – नेपालमा यातायात चाहे त्यो जमिनको होस् वा आकाशको भरपर्दो छैन । 

सार्वजनिक गाडी र बसपार्कको भद्रगोल र बेथीतिको कुरा त गरिसाध्य नै छैन । विमान र विमानस्थलको अवस्था पनि उस्तैउस्तै छ । बरु बसपार्कबाट समयमा गाडी छुट्लान् तर विमानस्थलबाट समयमा जहाज उड्लान भन्ठान्नु बेकार हुन थालेको छ । यति मात्र होइन आकाशमा लामो समय होल्ड हुदा बल्लतल्ल उडेका जहाज पनि भनेको समयमा अवतरण हुँदैनन् । 

उड्ययन क्षेत्रमा चासो राख्ने पत्रकार कुन्द दीक्षितले केही दिनअघि काठमाडौंको आकाशमा एक घण्टादेखि ६ वटा विमान अवतरण गर्न नसकेर घुमिरहेको अर्थात होल्ड भइराखेको तस्बिरसहित ट्वीट गर्नुभयो । यसले नेपालको अर्थतन्त्रलाई नै असर पुर्‍याइरहेको भन्दै उहाँले काठमाडौं इन्टरनेशनल एयरपोर्टलाई ‘काठमाडौ इर्यासनल एयरपोर्ट’ भनेर व्यंग्य गर्नुभएको छ ।

केही दिनअघि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान नउडेपछि यात्रुहरु भुइँमै अलपत्र र असरल्ल बसिरहेको तस्बिरसहित आफूलाई मेन्सन गरिएका केही ट्वीटमा जवाफ दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले तत्काल केही कुर्सीको प्रबन्ध गर्न लगाएको र थप कुर्सीको प्रबन्ध गर्ने प्रतिवद्धता जनाउनुभयो । 

गाडीभन्दा छिटो हुन्छ भनेर धेरै पैसा तिरेर चढिने हवाइजहाज उड्न घण्टौं पर्खनुपर्ने दुःख मात्र होइन पर्खिँदा बस्ने ठाउँसमेत नहुने लाजमर्दो अवस्था यात्रुले भोग्नुपरिरहेको छ । यसले केवल एउटा विमान कम्पनीको विश्वसनीयतालाई मात्र होइन समग्र देशकै छविमा कालो पोतिरहेको छ । 

विमानस्थल व्यवस्थापन कसरी हुनसक्छ त ? 

विमानस्थलको मात्र होइन समग्र उड्ययन क्षेत्रको व्यवस्थापनको जिम्मा अब संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको काँधमा छ । यसै क्रममा उहाँले हवाई क्षेत्रको सुधारका लागि आफ्नै अध्यक्षतामा २० सदस्यीय विज्ञ समूह गठन गर्नुभएको छ ।

टोलीमा सहभागी व्यक्ति र उनीहरुका प्रोफाइल हेर्दा केही आशा त गर्न सकिन्छ तर सँगै प्रश्न पनि उठाउन सकिन्छ कि वर्षाैँसम्म नेपाली उड्ययन क्षेत्रका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेको अहिलेका विज्ञ समूहका सदस्यहरुले किन गतिलो काम यसअघि गर्न सकेनन् त ? आशा गराैँ यसको जवाफ पनि मन्त्री अधिकारीकै अध्यक्षतामा रहेको विज्ञ टोलीले केही समयमा कामबाटै दिनेछ । 

त्रिभुवन विमानस्थलको भद्रगोल कसरी हटाउन सकिएला त ? 

त्रिभुवन विमानस्थलको भद्रगोल अहिले एक्कासि आएको होइन । एउटा मात्र धावन मार्ग रहेको, पर्याप्त क्षेत्रफल नरहेको र अरु पूर्वाधार तथा सुरक्षाको प्रबन्ध नगरिएको भनेर वर्षाैँदेखि प्रश्न उठे पनि विमानस्थललाई सुधारभन्दा पनि यनकेन प्रकारेण काम चलाउन विमानस्थलका रुपमा मात्र प्रयोग गरिएको हो । अहिलेको अवस्था आउन नदिन २०–२५ वर्ष पहिले नै काम हुनुपर्ने भए पनि त्यसो हुन सकेन । तैपनि अब गर्ने आशा भनेको राम्रो काम गर्न कहिल्यै पनि ढिलो हुँदैन, भन्ने हो । 

विमानस्थलमा भद्रगोल हुँदा यसले सबैलाई घाटा भइरहेको छ । त्रिभुवन विमानस्थलको भद्रगोलका कारण नेपाल नै रद्दी विमानस्थल भएको देशका रुपमा संसारभर बेइज्जती भोगिरहेको छ । हरेकपटक जब विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन वा रोलक्रमहरु प्रकाशित हुन्छन्, त्रिभुवन विमानस्थल पुछारतिरबाट आउँछ । विमानस्थल सुधारका विकल्पहरु के–के छन् त ? 

स्लट म्यानेजमेन्ट 

विमानस्थलको व्यवस्थापनका लागि एर ट्राफिक व्यवस्थापन अर्थात स्लट व्यवस्थापन मुख्य कुरा हो । विमानस्थलमा धेरैजसो विमान कम्पनीले आफूलाई र यात्रुलाई पनि अनुुकुल हुने समयमा विमानको उडान र अवतरण गर्न चाहन्छन् । यसो गर्दा विमानको चाप बढ्न जान्छ जसले गर्दा विमान आकाशमा धेरै समय होल्ड गर्नुपर्ने वा निर्धारित समयमा उडान गर्न नसक्ने हुन्छ । त्रिभुवन विमानस्थलको रन वे अर्थात धावन मार्ग एउटा छ तर एकै समयमा पाँच छ वटासम्म विमान उड्ने तालिका तोकिएको हुन्छ । 

एउटा मात्र धावन मार्गमा एकैपपटक पाँच छ वटा विमान कसरि उड्छन् ? हाँस उठ्दो हो । वरिष्ठ पाइलट केबी लिम्बू भन्नुहुन्छ विमानको उडान र अवतरणमा पनि अफिस आवर जस्तो गरेर हुन्छ  त ? २४ घण्टा नभए पनि दिनमा २०–२१ घण्टा विमानस्थल खुला गर्न सके अहिलेको जाम कम हुन्छ । रातिको समयमा विमान अवतरण र उडान गर्न प्रोत्साहन गर्नुपर्ने क्याप्टेन लिम्बूको सुझाव छ ।

राति विमान अवतरण गर्नेलाई पार्किङ शुल्क कम गर्ने लगायतका राहतका कार्यक्रम ल्याउन सकिने उहाँ बताउनुहुन्छ । त्यस्तै नयाँ कम्पनीलाई दिउँसोको स्लट नदिन सकिन्छ । यो तत्कालै गर्न सकिने काम हो । कर्मचारीको व्यवस्थापन र केही सिफ्ट थप गरेर यसलाई लागू गर्न सकिन्छ । 

ट्याक्सी रन वे व्यवस्थापन 

त्रिभुवन विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल बाहिरको ट्याक्सी पार्किङ व्यवस्थापन गर्न सके पनि विमानस्थललाई केही हदसम्म व्यवस्थापन गर्न सकिने विज्ञहरुको सुझाव छ । दक्षिणतर्फको जिरो टू रन वेबाट ट्याक्सी पाकिङलाई कोटेश्वरतर्फ विस्तार गर्न सकिने क्याप्टेन लिम्बू बताउनुहुन्छ ।

यसका लागि अहिले आयल निगमको इन्धन भण्डारण स्थललाई सार्ने र अर्कोतर्फ रहेको राडारलाई पनि स्थानान्तरण गर्न सकिने उहाँले बताउनुभयो । उत्तरतिर रहेको राडरलाई स्थानान्तरण गरेर ट्याक्सी वेलाई टू जिरोको रनवेको पुछारतिर जोड्न सकिने उहाँले बताउनुभयो । 

यसका साथै फाष्ट एक्जिट ट्याक्सी वेज पनि बनाउन सकिने अर्को विकल्प पनि रहेको लिम्बूको भनाई छ । 

उडान अवतरण सहज बनाउन प्राविधिक सुधार 

त्रिभुवन विमानस्थलमा विमानको धेरै जाम हुने कारणमध्येको एक कारण भिजिबिलिटी पनि हो । काठमाडौंमा मात्र होइन, विराटनगर धनगढी, सुर्खेत नेपालगञ्ज, पोखरा वा जनकपुर लगायतका विमानस्थलमा भिजिबिलिटी कम हुनासाथ उडान अवतरण हुन सक्दैन । विमानस्थलमा प्रकाशको व्यवस्थापन मात्र गर्न सके पनि यो समस्या धेरै कम गर्न सकिन्छ । अहिले धेरै गतिमा उडिरहेका जहाजको २५ सय मिटर र अरु जहाजको १८ सय मिटर भिजिबिलिटी अनिवार्य छ ।

क्याप्टेन लिम्बूका अनुसार त्रिभुवन विमानस्थलमा सेण्टरलाइटिङ र लोकलाइजरको व्यवस्था गर्न सके भिजिबिलिटी कम हुँदा पनि उडान अवतरण गर्न सकिन्छ । यस्तै, काठमाडौं बाहिरका विमानस्थलमा पनि इन्स्टु्रमेण्टल ल्याडिङ सिष्टममा अपग्रेट गर्न सकिने क्याप्टेन लिम्बूले बताउनुभयो । ‘यो धेरै खर्च लाग्ने प्रणाली पनि होइन’, उहाँले भन्नुभयो, ‘मुख्य कुरा यात्रुले पाएको सास्ती, र यसले देशकै छवि खराब पारिरहेको विषयलाई कति गम्भीरताका साथ लिने भन्ने कुरा मुख्य हो ।’

आन्तरिक विमानस्थल विस्तार र क्षेत्रीय विमानस्थलको अवधारणा 

आन्तरिक विमानस्थलमा विमानको चाप कम गर्न विराटनगर, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत विमानस्थलमै विमानको पार्किङ गर्ने र त्यहीँबाट उडान गर्ने प्रावधान राख्न सके अर्को विकल्प हुनसक्ने क्याप्टेन लिम्बू बताउनुहुन्छ । देश संघीय संरचनामा गएजस्तै  विमानस्थलको पनि यस्तै अभ्यास गर्न सकिने उहाँको भनाई छ । उडान अनुमतिपत्र लिने बेलामै कतिपय विमान कम्पनीले काठमाडौ‌ं बाहेकका विमानस्थललाई बेस बनाउने सहमति जनाए पनि त्यसको पालना भएको छैन ।

काठमाडौंलाई सबै विमान कम्पनीले प्राइमरी नभै सेकेण्डरी एयरपोर्ट बनाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । यस्तै, नुवाकोट, त्रिशुली, धुलिखेल, सुनकोशी नदीको बेसिनमा पनि आन्तरिक विमानस्थल बनाउन सके काठमाडौको चाप कम गर्न सकिने पनि क्याप्टेन लिम्बूले बताउनुभयो । यस्तै, बाराको निजगढमा जस्तै पोखरा र दाङमा पनि अन्तराष्ट्रिय विमानस्थल बनाउनसके काठमाडांैमा विमानको चाप र जाम कम गर्न सकिने अर्को विकल्प हो । 

एयरस्पेस शेयरिङ 

साना देशले छिमेकी देशको आकाशको निश्चित क्षेत्रमा आफ्नो कण्ट्रोलको सुविधा लिन सक्छन् । उदाहरणका लागि सिंगापुरले मलेसियाको निश्चित क्षेत्रफलसम्मको आकाशमा आफ्नो एयर कण्ट्रोल गर्ने गरेको छ । यो विकल्प नेपालका लागि पनि उत्तम हुने क्याप्टेन लिम्बूको सुझाव छ । ‘हामी काठमाडौंबाट उडेको आठ दश मिनेटमा भारतको आकाशमा पुग्छौ, जसले गर्दा विमानले आवश्यक र पर्याप्त उचाई लिइसकेकै हुँदैन ।

अवतरण गर्ने बेलामा पनि काठमाडौं विमानस्थलको मौसम, विमानको चापलगायत कारणले भनेको बेलामा आवश्यक उचाइ घटबढ गर्न नसकिने अवस्था हुन्छ । यस्तो बेलामा नेपाल सरकारले नै पहल गरेर त्रिभुवन विमानस्थलबाट निश्चित दूरीसम्म भारतीय आकाशमा पनि नेपालले एयर कन्ट्रोल गर्न सके धेरै फाइदा मात्र होइन विमानस्थल व्यवस्थापनका लागि प्रभावकारी कदम पनि हुन्छ ।’

यसका लागि भारत सरकारलाई नेपालले मनाउन सक्नुपर्ने क्याप्टेन लिम्बूको भनाई छ । यसबाट नेपाली कम्पनीलाई भन्दा भारतीय कम्पनीलाई धेरै फाइदा हुन्छ । नेपालमा उडान गर्ने नेपालका भन्दा भारतीय कम्पनी धेरै भएकाले विमान होल्ड गर्नुपर्दाको इन्धनको लागत जोगिन्छ । यसले विमानस्थलको मात्र नभै विमान कम्पनीको पनि प्रतिष्ठा र विश्वसनीयता बढ्छ । विमान आकाशमा धेरै समय होल्ड नहुँदा ग्रीन इफेक्ट कम भएर वायु प्रदुषण र जलवायु परिवर्तन कम गर्न पनि सघाउँछ । 

अरु कदम 

यो समस्या झट्ट हेर्दा विमानस्थल र विमानहरुसँग मात्र सम्बन्धित जस्तो लागे पनि यो समग्र यातायात क्षेत्रकै बेथीति र गुणस्तरहीनतासँग पनि सम्बन्धित छ । सडक र रेल यातायातलाई गुणस्तरीय र भरपर्दो बनाउन सके यात्रुको चाप यसै पनि विमानमा कम हुन्छ । 

काठमाडौं तराई दु्रतमार्गका साथै पूर्व–पश्चिम लोकमार्ग, लगायत अरु सडकको निर्माण, केबलकारको विकास, रेलमार्गमा जोड दिन सके हवाइ क्षेत्रमा यात्रुको चाप कम हुने भएकाले विमानस्थलको भद्रगोल व्यवस्थापन गर्न सजिलो हुने क्याप्टेन लिम्बूको भनाई छ । 

एकैसाथ यति धेरै काम गर्नको लागि त धेरै रकम आवश्यक पर्छ यति धेरै लगानी गर्न सकिएला त भन्ने प्रश्नमा ३८ वर्षदेखि जहाज उडाइरहेका पाइलट लिम्बूको भनाई छ ‘यो एटिच्युडको कुरा हो । सरकारले चाहनुपर्यो, संसारमा समुद्रमा माटो भरेर विमानस्थल बनाइएको छ  भने हाम्रो विमानस्थल सुधारका लागि यति काम ठूलो होइन । 

मुख्य कुरा सोचको हो ।’ विमानस्थल सुधारका लागि गर्नुपर्ने खर्चसँग विमानस्थल लथालिङग हुँदा देशको इज्जतमा कसरी धब्बा लागिरहेको छ भन्ने कुराको तुलना गर्ने हो भने यो काम तत्कालै थालिने र सम्भव पनि हुन्छ उहाँले भन्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया