MENU

खेल

ujyaalo forign call inside

क्रिकेटकाे यस्ताे नशा : बसकाे टिकट काट्न छाेडेर डीपीएलकाे टिकट

अर्जुन पोख्रेल/उज्यालो ।

कैलाली, चैत २९ – ठूलै कामकाजले बाहेक झट्ट धनगढी नआउने डडेलधुराका तेजबहादुर बोहरा बिहीबार भने धनगढीको सशस्त्र प्रहरीको मैदानमा भेटिनुभयो । 

बाँस र फलाम कसेर बनाइएको प्याराफिटमा काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको खेल हेर्दा उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मेरो त नशा–नशामा क्रिकेट नै बग्न थालेको छ ।’ 

उहाँको यो भनाईलाइ पुष्टि गर्ने धेरै आधारहरु थिए । पहिलो कुरा उहाँ डडेलधुरादेखि ५ घण्टाको गाडी यात्रामा धनगढीसम्म आउनुभयो । काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीच बुधबार हुने खेलको लागि उहाँ मंगलबार बेलुकी नै धनगढी आउनुभएको थियो । पानी परेका कारण बुधबार यी दुइ टोलीबीचको खेल हुन सकेन, तर उहाँले घरको काम र परिवारलाई एकदिन बिर्सनुभयो, बुधबार पनि धनगढीकै होटलमा बस्नुभयो र बिहीबार खेल हेर्न मैदान पुग्नुभयो । 

‘मेरो आर्थिक अवस्था त गतिलो छैन तर पनि दुइ रात होटलमा बसेर टिकट काटेरै म क्रिकेट हेर्न आएको छु भनेपछि तपाईँ अनुमान लगाउनु मेरो नशामा क्रिकेट बगेको होला नहोला त’, उहाँ भन्दै हुनुहुन्थ्यो । 

बसको टिकट काट्न छाडेर डीपीएलको टिकट

धनगढीमा चैत १७ गतेदेखि भैरहेको धनगढी प्रिमियर लिग डीपीएलका खेल हेर्न सुदूरपश्चिमका कुना कुनाबाट आएका नागरिक भेटियो । उनीहरुको उमेर र पेशा एकातिर अनि क्रिकेटप्रतिको माया र उत्साह हेर्दा सुदूरपश्चिमबाहिरका मान्छे त चकित नै हुन्छन् ।

अछामका गिरेन्द्र वोगटी छोरालाई भर्ना गर्न धनगढी आइपुग्नभएको  थियो । छोरालाई धनगढीको नाम चलेको बोर्डिङ स्कुलमा भर्ना गरेपछि उहाँ बुधबार नै अछाम फर्कने तयारीमा हुनुहुन्थ्यो तर बिहीबार बिहान बसपार्कमा बसको टिकट लिन गएका बेला आज त डीपीएलको खेल छ भन्ने पत्रिकामा पढ्नुभयो । त्यसपछि अछाम जाने बसको टिकट काट्न छाडेर उहाँ डीपीएलको टिकट काट्न पुग्नुभयो । 

‘हामी सुदूपश्चिमेलीलाई हरेक दृष्टिकोणले टाढा मानिन्छ, तर यही सुदूरपश्चिममा देश विदेशमा चर्चित खेलाडी खेलिरहेका छन, मलाई त डनगढी आफ्नै आँगनजस्तो लाग्छ, आँगनमै यति ठूलो प्रतियोगिता हेर्न पाउँदा त मन फुरुक्क भएको छ’, गिरेन्द्रले उज्यालोसँग भन्नुभयो, ‘सरकारले त नेपाली क्रिकेटलाई हेला नै गरेको छ, तर केही व्यक्ति र संस्था मिलेर यति ठूलो उत्सव गरिरहेका छन यसको सम्मानको लागि पनि म आज घर जान छाडेर मैदानमा आएको हो ।’ 

कैलालीको धनगढी मैदानमा चलिरहेको धनगढी प्रिमियर लिग डीपीएलमा गिरेन्द्रकै जस्तो रगतमा क्रिकेट बगउने हजारौं समर्थक भेट्न सकिन्छ । बोली फुटेका बच्चादेखि बुढेसकाल लागेकासम्म मैदानमा भेटिन्छन् । कोही घरमा ढाँटेर र त कोही कामलाई एकैछिन थाती राखेरै भए पनि मैदान पुग्छन्  । 

कैलाली हसनपुरकै शिवराज पन्त पनि साइकलमा सामान बेच्ने काम गर्नुहुन्छ । दिनभरीको कामले बेलुका परिवार पाल्ने उहाँका काम हो । तर बिहीबार भने उहाँ सामानसहितको साइकल मैदानबाहिर रुखमा बाँधेर क्रिकेट हेर्न पुग्नुभएको थियो । उहाँ पनि भन्दै हुनुहुन्थ्यो ‘हामी सुदूरपश्चिमेलीको लागि त क्रिकेट भनेको भोक भइसक्यो, जसरी पनि भोक नमेटी भएन भनेर मैदान आएको हो ।’

‘यो प्रतियोगिता गर्ने दाजु हुनुहुन्छ नि सुवास शाही उहाँ पनि मरै टोलमा जन्मिुनभएको हो, भनेपछि तपाईँ अनुमान गर्नुस् हामी क्रिकेटलाई कति माया गर्छौँ’, पन्तले भन्नुभयो । 

क्रिकेटसँग जोडिएको पर्यटन र व्यवसाय

डीपीएलकै कारण जसरी डडेल्धुराका तेजबहादुर र अछामका गिरेन्द्रको धनगढी बसाई लम्बियो त्यसरी नै क्रिकेटकै कारण बसाई लम्बाउनेहरु धेरै छन् । क्रिकेटकै कारण धनगढीको चहलपहल धेरै छ । खेलाडी, अफिसियल, स्पोन्सर, पत्रकार, शुभचिन्तक र दर्शकका कारण धनगढीका होटल पहिलेभन्दा धेरै नै प्याक हुन भएका छन् । देशका सबैजसो मिडियामाा हरेक दिनजसो डीपीएल र धनगढीको समाचारले स्थान पाइरहेका छन् । 

कैलाली होटल व्यवसायी संघका कोषाध्यक्ष बुदबहादुर गुरुङ पनि डीपीएल हेर्न गएको बेला मैदानमै भेटिनुभयो । मिडियामा कुराकानी गरौं न त भन्नेबित्तिकै उहाँले भन्नुभयो, ‘ओहो ! हरेक दिन धनगढीका कुरा मिडियामा आएका छन, यो त खुसीको कुरा हो, आउनुस् मज्जाले गफ गरौं’

‘डीपीएल भनेको हाम्रो गौरव भैसक्यो, राजधानीबाट यति परको सहरमा पनि यस्तो प्रतियोगिता भैरहेको छ, यसले त धेरै कुरामा महत्व राख्छ, हामीलाई धेरै कुरामा अवसर दिएको छ ।’

के–के कुरामा अवसर दिएको छ त ? उहाँले फ्याट्टै भन्नुभयो, ‘हेर्नुहोस् विश्वको सबैभन्दा चलेको खै के अनलाइन (उहाँले क्रिकइन्फो डटकम भन्न खोज्नुभएको हो) ले पनि धनगढीमा भएको यो प्रतियोगिताको खुब धेरै समाचार दिइरहेको छ रे, यसले गर्दा विश्वभर धनगढी र नेपालको नामको प्रचार भैरहेको छ, अर्को कुरा मेरै होटलसहित धनगढीका धेरै होटलमा पाहुना बढेका छन्, होटलमा पाहुन बढ्नु भनेको यहाँको गाडीका यात्रु बढ्नु हो, पसलमा भिडभाड हुनु पनि त हो नि, त्यसैले यो अवसर नै अबसरको महोत्सव हो ।’

सफलता र अवसरका साक्षी शाही भन्छन्  : नशामा बगेको क्रिकेटलाई सुक्न दिन हुन्न

जसरी एक वाक्यमा डीपीएलले धनगढीको चर्चा र अवसर बढायो भन्न सजिलो छ, यो अवस्थासम्म ल्याउन उस्तै गाह्रो छ । यसका लागि आयोजक धनगढी क्रिकेट एकेडेमी डीसीएका प्रमुख सुवास शाहीले कैयौँ जोर जुत्ता फटाउनुपरेको छ ।

आजभन्दा ८ वर्षअघि २५ हजार पुरस्कार राशीको क्याम्पसस्तरीय एसपीए कपको आयोजना गरेका शाहीले पछिल्ला २ वर्षमा पुरस्कारको लागि मात्रै झण्डै करोड खर्च गर्ने क्षमता बनाउनुभयो । 

पहिलो पुरस्कार नै २५ लाख रुपैयाँ रहेको डीपीएलको दोस्रो संस्करणमा खेलाडी अनुबन्ध गर्न मात्रै ६ वटा टिमले ५० लाख भन्दा धेरै खर्च गरेका छन् । भारत, दुबई, हङकङलगायतका देशका नाम चलेका खेलाडीले धनगढीमा खेलिरहेका छन् । 

अहिले देश विदेशका चलेका खेलाडी धनगढीका जम्मा गरेर क्रिकेटमा देशकै ध्यान खिचेका शाही भन्नुहुुन्छ, ‘तपाईँले पनि यहाँका दर्शकसँग कुराकानी गर्नु भयो होला, हरेकको नशामा क्रिकेट बगेको छ, त्यो नशामा बगेको क्रिकेटलाई सुक्न नदिन धेरै कुरा गर्नुछ ।’ 

अब के गर्न बाँकी छ नि ? भन्ने हाम्रो प्रश्नमा शाहीले भन्नुभयो, ‘डीपीएल त हाम्रो माध्यम मात्रै हो, हाम्रो डिम प्रोजेक्ट भनेको फाप्लामा अन्तर्राष्टिय स्तरको मैदान बनाउने नै हो, डीपीएलको माध्यमबाट फाप्ला बन्यो भने सुदूरपश्चिमेलीको नशामा बगेको क्रिकेट सुक्न पाउँदैन ।’

पोहोर र यो सालमा पाएको डीपीएलका सफलता र देखिएको उत्साहले नेपाली क्रिकेटमा धेरै कुरा गर्न सकिन्छ भन्ने उत्साह उहाँमा जागेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया