MENU

राजनीति

यसरी ल्यायो १ नम्बर प्रदेश सरकारले पहिलो बजेट

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, चैत २९ – प्रदेश नम्बर १ को सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ को लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँ बजेट संसदमा पेश गरेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चालु आर्थिक वर्षको ३ महिनाको लागि बजेट पेश गरेका हुन् । 

बजेटमा चालु खर्चतर्फ ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ ४७ करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले अन्य स्रोत नभएकोले संघीय सरकारबाट प्राप्त अनुदानबाटै बजेट निर्माण गरेको मन्त्री आङबोले बताउनुभयो ।

बजेटमा खाद्यान्न कार्यक्रमको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यो रकमबाट प्रदेशमा रहेका १४ जिल्लाका १÷१ स्थानीय तहमा गरिब र विपन्न पहिचान गरी परिचयपत्र वितरण गरेर सुपथ मूल्यमा खाद्यान्न प्रदान गरिने जनाइएको छ ।

बजेटमा कृषि क्षेत्रको विकासको लागि ४ करोड ७६ लाख, पर्यटनको विकासको लागि ६ करोड ५३ लाख, जलस्रोत, उर्जा तथा भौतिक पूर्वाधार विकासको लागि १४ करोड ३३ लाख र सामाजिक क्षेत्रको लागि १२ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै प्राकृतिक प्रकोप पीडितको राहतको लागि २ करोड ४१ लाख रुपैयाँ छुट्याएको आर्थिक मामिला मन्त्री आङ्बोले जानकारी दिनुभयो । बजेटले कृषि, पर्यटन, जलस्रोत र उर्जा, भौतिक पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्रलाई समाजवाद उन्मुख बनाउने प्रयासहित बजेट निर्माण गरेको मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

बजेट पेश गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले कानुन र संरचना अभावको कारण यो वर्ष प्रदेश सरकारले आफ्नै राजश्व संकलन गर्ने अवस्था नभएको स्पष्ट पार्नुभयो ।

एकै दिन चार पटक संसद बैठक

प्रदेश संसद बैठक बिहीबार एकै दिन ४ पटक बसेको छ । दिउँसो १ बजेको लागि बोलाइएको बैठक एक बजेर ३५ मिनेटमा सुरु भएको थियो ।

बैठक सुरु भएसँगै प्रदेश प्रमुख डाक्टर गोबिन्द तुम्बाहाङले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उनले प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम सकिने बितिकै प्रदेश संसद १५ मिनेटमै स्थगित भएको थियो । स्थगित भएको बैठक फेरि १५ मिनेटमा बोलाइएको थियो ।

त्यस बैठकमा प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई संसदमा मुख्यमन्त्रीले टेबुल गर्नुभएको थियो । त्यस्तै, बैठकमा माओवादीका सांसद  टंक आङ्बोले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने एमालेका सांसद राजकुमार ओझाले त्यसको समर्थन गरेर ५ मिनेट बैठक बसेर स्थगित भएको थियो । स्थगित भएको संसद बैठक दिउँसो ४ बजेलाई बोलाइएको थियो ।

४ बजेपछि बालाइएको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको बजेट भाषणपछि १५ मिनेट स्थगित गरेर बैठक फेरि बोलाइएको थियो । बैठकले बिहीबार नै संसदबाट १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याएको छ भने बजेट संसदमा प्रस्तुत गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया