MENU

खेल

ujyaalo forign call inside

क्षत–विक्षत रंगशालाको वरिपरि खेलाडी : देशको नाम र आफ्नो कीर्तिमान खोज्दै

काठमाडौं, चैत ३० – नेपाली खेलकुदको लागि २०७४ साल औसत रह्याे । 

क्रिकेटलाई अपवाद मान्ने हो भने यो वर्ष नेपाली खेलकुद क्षेत्रले गतिला उपलब्धि हासिल गर्न सकेन । विवाद र भद्रगोल व्यवस्थापनको शृङ्खला कायमै रह्यो । 

भूकम्पले भत्काएको दशरथ रङ्गशाला पुनर्निर्माणको काम सुरु हुन सकेन भन्दा पनि हुन्छ । अहिले पनि भूकम्पले क्षत–विक्षत बनाएको रंगशालाको वरिपरि खेलाडीहरु देशको नाम अनि आफ्नो कीर्तिमानका लागि दौडिरहेको दृश्य कम्ती टिठलाग्दो देखिंँदैन । 

राष्ट्रिय खेलकुद परिषदले नेपाली खेलकुदमा केही नयाँ प्रयोग गर्यो । परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा २९ वटा खेलमा प्रतिस्पर्धा भयो । विभिन्न ठाउँमा आयोजना गरिएको यो प्रतियोगिताले फरक स्वाद दिएको अनुभव गरियो । 

नेपालले पायो अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता 

२०७४ सालको अन्त्यतिर नेपालले क्रिकेटको अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पायो । ट्वेन्टी–ट्वेन्टीमा यसअघि नै एकदिवसीय मान्यता पाइसकेको नेपालले एकदिवसीयमा भने पहिलोपटक मान्यता पाएको हो ।

यो मान्यता चार वर्षको कायम हुनेछ । नेपाली क्रिकेट टिमले हात पारेको यो उपलब्धिलाई विश्वभरिकै क्रिकेट जगतले बधाई र स्याबासी दिएको छ । 

 

पहिलो पटक आईपीएलमा नेपाली खेलाडी

यस्तै, नेपाली क्रिकेटर सन्दीप लामिछाने पहिलो पटक इन्डियन प्रिमियर लिग आईपीएलमा अनुबन्ध भएर अर्को उपलब्धि दिलाए । विश्व क्रिकेट प्रतियोगितामध्ये अति नै लोकप्रिय रहेको आईपीएलमा अनुबन्धित हुने सन्दीप पहिलो खेलाडी हुन् ।

१७ वर्षीय सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा अनुबन्ध गरेको हो । उनलाई क्यारेबियन प्रिमियर लिग सीपीएलमा पनि आवद्ध भएका छन् ।

कात्तिकमा १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि हात पार्यो । नेपालले फाइनलमा विश्वक्रिकेटको हस्ती भारतलाई १९ रनले हराएको थियो ।  

यस्तै, गएको पुसमा भएको १६ वर्षमुनिको एसीसी क्रिकेटको उपाधि पनि नेपालले जित्यो । फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हराएको थियो । पुसमै काठमाडौंमा भएको अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेटको उपाधि पनि नेपालले नै जित्यो । 

यस्तै, पुस महिनामै नेत्रहीन क्रिकेटको विश्वकप खेल्ने नेपाली टोली जहाजको टिकट नभएपछि खेलाडी चारदिनसम्म रेलयात्रा हुँदै पाकिस्तान पुग्यो । यससम्बन्धी समाचार उज्यालोमा प्रकाशन र प्रशारण भएपछि सहयोग जुट्यो र फर्कँदा टोली जहाजमा नेपाल फर्कियो । 

यति धेरै उपलब्धि खेलाडीले दिलाए पनि क्रिकेटको विकास र हितमा लाग्नुपर्ने एक मात्र संस्था नेपाल क्रिकेट संघ (क्यान) भने राजनीतिको कालो छायाँबाट मुक्त हुन सकेन । क्रिकेटको विकासभन्दा व्यक्तिगत र गुटगत स्वार्थ प्रधान बनाएपछि क्यान निलम्बनमा पर्दा करोडाैँ रुपैयाँको बजेट गुम्नुका साथै अन्तर्राष्ट्रिय छवीसमेत धमिलो बनिरहे पनि क्यानका पदाधिकारी र सम्बद्ध कसैले पनि राजनीति र स्वार्थभन्दा माथि उठेर सोच्न सकेको देखिएन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आउँदो जुन महिनासम्म पनि विवाद समाधान नभए क्यान नै खारेज गर्ने चेतावनी दिएको छ ।

फुटबलमा भने एउटामात्रै ठूलो उपाधि

फुटबलमा भने नेपालले यो वर्ष एउटा मात्रै ठूलो उपाधि जित्यो । असोज ११ गते भुटानमा भएको फाइनलमा भारतलाई २–० ले हराएर नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्यो । नेपाललाई जिताउन दुवै गोल दिनेश हेम्जनले गरेका थिए । 

भदौमा नेपालले १५ वर्ष मुनिको साफ फुटबल खेल्यो तर उपाधि जित्न भने सकेन ।  भारतसित २–१ ले पराजित भएपछि नेपाल उपविजेतामै सिमित भयो । 

एसिया कप छनौट फुटबलमा नेपाललले लाजमर्दो प्रदर्शन गर्यो । ५ वटा खेलबाट नेपालले जम्मा २ अंक मात्र बटुल्न सकेको नेपाल छनोटबाट बाहिरियो ।

अनिलले लिए राष्ट्रिय टोलीबाट सन्यास 

कात्तिक २८ गते फुटवलर अनिल गुरुङले राष्ट्रिय टोलीबाट सन्यास लिए । उनी १० वर्ष राष्ट्रिय टोलीमा थिए । 

थ्रीस्टार क्लबले एएफसी एसियन कप छनौट खेल्न जान नपाउनुमा अखिल नेपाल फुटवल संघ एन्फाले आफ्नो कमजोरी रहेको स्वीकार गरेको छ । र थ्रीस्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भदौमा गरेको थियो । 

घरेलु फुटबलको मुख्य आधारस्तम्भ मानिने ए डिभिजन लिग यो वर्ष पनि भएन । 

चैतमा हुने तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव सर्यो । एन्फाभित्रको एउटा समूहले अदालतमा मुद्दा हालेपछि अदालतले तत्काल महाधिवेशन नगर्न भनेपछि चुनाब सरेको हो । एन्फाभित्रको विवाद समाधान गर्न एएफसीले चेतावनी दिएको छ । एन्फा पनि क्यानकै बाटोमा जान लागेको भन्दै खेल क्षेत्रबाट चिन्ता ब्यक्त गरिएको छ ।

भारत्तोलनमा नेपालको ऐतिहासिक उपलब्धि

भारत्तोलनमा नेपालले यसवर्ष ऐतिहासिक उपलब्धि हात पार्यो । महिलाको ५३ किलो तौल समूहमा सञ्जु चौधरीले दक्षिण कोरियामा भएको एसिया कप भारत्तोलनमा रजत पदक जितिन् । 

सधैँजस्तै पुरुष फुटबल र क्रिकेटमा राष्ट्रिय प्रतियोगिताहरु यस वर्ष धेरै नै भए । अझ पुरुष फुटवलका प्रतियोगिता त बग्रेल्ती नै भए । खेल समय एकै हुँदा धेरै प्रतियोगिता भ्याउन खेलाडीलाई हम्मेहम्मे परेको थियो । प्रायोजकले पनि यी दुई खेललाई निकै रुचाएको पाइयो । पुरस्कार राशी पनि बढेको पाइयो । फुटबलमा केही समयपछि फर्किएको थ्रीस्टार र आर्मी सबैभन्दा सफल टिमका रुपमा रहे । ठूलो लगानी रहे पनि मनाङ मस्र्याग्दीले भने गतिलो खेल्न सकेन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया