MENU

राजनीति

वर्षभरी नै चुनाव : कम्युनिष्टलाई हाइहाई, कांग्रेसलाई बाइबाई

काठमाडाैं, चैत ३० – धेरैथरी आशा र सम्भावना छोडेर २०७४ साल बिदा हुँदैछ । बिदा हुनै लागेको २०७४ निकै महत्वपूर्ण र सम्झनलायक वर्ष भयो । यसै वर्ष संविधान कार्यान्वयनसँगै संघीयताको अभ्यास भयो । स्थानीय, प्रादेशिक र संघीय गरी एकैपटक तीन तहका चुनाव भए । स्थानीय तहका जनप्रतिनिधिदेखि राष्ट्रपति, उपराष्ट्रपतिको चयनसम्म यही वर्ष भयो । समग्रमा २०७४ साल चुनाव वर्ष भयो ।

वर्षको सुरुमा स्थानीय तहको पहिलो चरणबाट सुरु भएको चुनावको सिलसिला वर्षको अन्त्यमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष चयन गरेपछि टुंगियो । संघीय  संविधानले तोकेका सबै चुनाव २०७४ सालमै सम्पन्न भएर झण्डै दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बनिसकेपछि अब देशमा स्थायित्वको आशा गरिएको छ ।

संघीयताको कार्यान्वयनसँगै सिंहदरबारको अधिकार गाउँ तहसम्म पुगेको छ । सम्बृद्ध नेपाल बन्ने केही संकेत देखिन पनि थालेका छन् ।

२०७४ साल वाम पार्टीका लागि सुखद भयो भने कांग्रेसका लागि चाहिँ सुखद रहेन । चुनावी तालमेल गरेका वाम दलले झण्डै दुई तिहाई बहुमतका साथ सरकार गठन गरेका छन् । नेपाली कांग्रेस कमजोर प्रतिपक्षको रुपमा छ ।

२०७४ सालका मुख्य राजनीतिक घटना :

  • निकै अन्योलकाबीच २०७४ मा स्थानीय, प्रदेश र संघ गरी तीनवटै तहका चुनाव सफलतापूर्वक सम्पन्न भए । वैशाख ३१ गते प्रदेश नम्बर ३ ४, ६  र का २ सय ८१ वटा तहमा स्थानीय चुनाव भयो । यो चुनावमा एमाले पहिलो भयो ।
  • असारमा दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमा चुनाव भयो र यो चुनावमा पनि एमाले नै पहिलो भयो । प्रदेश नम्बर २ मा असारमै हुने भनिएको चुनाव असोजमा मात्रै भयो ।
  • त्यसपछि मंसिर १० गते ३२ र मंसिर २१ गते ४५ जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको लागि चुनाव भयो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि चुनाव भयो । यस्तै मंसिर २१ गते १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ सिटका चुनाव भयो । प्रत्यक्षमा एमालेले ८०, माओवादीले ३६ र कांग्रेसले २३ सिटमा जिते । समानुपातिकमा एमालेले ४१, कांग्रेले ४० र माओवादीले १७ सिट पाए । ८ महिनाको अन्तरालमा ५ चरणमा तीनवटा तहको चुनाव गराएर सरकार र निर्वाचन आयोगले सबैतिरबाट प्रशंसा पाए ।
  • चुनावसँगै देशमा संघीयता कार्यान्वयन भएको छ । अहिले सातवटै प्रदेशका सरकार र संसदले काम गरिरहेका छन् ।
  • २०७४ सालमा २ वटा सरकार गठन भए र ३ वटा प्रधानमन्त्रीले काम गरे । एमालेसँगको गठबन्धन तोडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको पहिलो चरणको चुनाव गराएर कांग्रेससँगको सहमसतअनुसार जेठ १० गते राजिनामा दिएपछि असार २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो । उहाँ नेतृत्वको सरकारमा मन्त्रीको संख्या ५० पुग्यो । गणतन्त्र स्थापनापछिको सबैभन्दा ठूलो मन्त्रीपरिषद  बनाएको भन्दै देउवाको आलोचना पनि भयो । 
  • २०७४ सालमा एमाले र माओवादीको एकता प्रक्रिया देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चाको विषय बन्यो । पार्टी एकता गर्ने उद्घोष सहित असोजमा माओवादी  र एमालेले चुनावी गठबन्धन बनाए । वामपन्थी सरकार बनाएर देशमा स्थायित्व र समृद्धि हासिल गर्ने नारा लिएर चुनावमा होमिएको वाम गठबन्धनले लगभग दुई तिहाई मत पायो । वैशाखमा पार्टी एकता गर्ने निर्णय गरिसकेका एमाले र माओवादीले अहिले सरकार सञ्चालन गरिसकेका छन् ।
  • फागुन ३ गते शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो । त्यहीदिन माओवादीको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नुभयो ।
  • फागुनमै विद्यादेवी भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभयो । यस्तै उपराष्ट्रपततिमा नन्दबहादुर पुन दोहोरिनुभयो भने सभामुखमा माओवादीका कृष्णबहादुर महरा सर्वसम्मत हुनुभयो । 
  • वर्षको अन्तिमतिर चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नुभयो । त्यसअघि वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी र भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमण गर्नुभएको थियो । वर्षको अन्त्यमा प्रधानमन्त्रीको ओलीको भारत भ्रमण महत्वपूर्ण बन्यो । प्रधानमन्त्री ओलीको भ्रमणमा भारतले नेपालमा रेलमार्ग र जलमार्ग बनाउने तथा कृषिमा साझेदारी गर्ने सहमति गरेको छ ।
  • सार्क बैठकको लागि भूमिका खेल्न र प्रधानमन्त्री ओलीलाई बधाई दिन फागुनमा पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीले नेपालको भ्रमण गर्नुभयो ।
  • २०७४ सालमा न्यायपालिका निकै विवादित बन्यो । वैशाखमा माओवादी र कांग्रेसका केही सांसदले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गरे । यसको निकै विरोध भयो । गोपालप्रसाद पराजुली नयाँ प्रधानन्यायाधीस बन्नुभयो । त्यसपछि कर छुट लगायका विषयमा अदालतका निर्णय विवादित भए र फागुनको अन्त्यमा प्रधानन्यायाधीश बन्न कागज किर्ते गरेको आरोपमा पराजुलीलाई न्यायपरिषद्ले हटायो । अहिले दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको छ ।
  • नेपाल प्रहरीका लागि पनि २०७४ साल राम्रो रहेन । २०७३ सालको अन्त्यदेखि सुरु भएको संगठन प्रमुखको नियुक्तिबारे कानुनी विवाद २०७४ मा टुंगियो । नवराज सिलवाल र जयबहादुर चन्दको होडबाजीमा प्रकाश अर्यालले आईजीपीको फुली लगाउनुभयो, तर पनि उहाँले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन सक्नुभएन । वर्षको अन्त्यमा दुवै प्रहरी संगठनमा नयाँ नेतृत्व फेरिएका छन् । प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त हुनुभएको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया