MENU

समाज

ujyaalo forign call inside

चीन जोड्ने छोटो दूरीको सडक खुल्यो

रसुवा, चैत ३० – चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक शुक्रबारदेखि सञ्चालनमा आएको छ ।

मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलले २०७२ वैशाखदेखि सुरु गरेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको हो । गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी नाका जोड्ने सडकमध्ये सिम्ले–मैलुङ र मैलुङ–स्याफ्रुबेसी सडक नेपाली सेनाले निर्माणको जिम्मेवारी पाएको थियो । 

निर्धारित समयमा नै निर्माण सम्पन्न गरेको सेनाले तत्काल सवारी साधन सञ्चालनका लागि अनुमति नदिने जनाएको छ । सडक निर्माण सम्पन्न गरिए पनि स्तरोन्नतिको काम भइरहेकाले सडक हस्तान्तरण गर्नुपूर्व यातायात सञ्चालन गर्न नदिने निर्माण कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी सञ्जय केसीले बताउनुभयो ।

 

बेत्रावतीदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन र ६ किलोमिटर सिंगल लेन गरी २३ किलोमिटर सडक निर्माण गरिएको कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताउनुभयो । 

भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन र मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर डबल लेन निर्माण गरिएको उहाँले बताउनुभयो । कार्यदललाई सुरुवातमा ७ किलोमिटर सिङ्गल लेनको सडक निर्माण गर्ने जिम्मेवारी तोकिएको थियो । 

भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने गरी १७ किलोमिटर सडक दुई लेनको सडक निर्माण गर्न अनुमति दिइएको थियो । निर्माण सुरु भएको केही समयमा अर्थात वैशाखमा १२ गते भूकम्प गएपछि निर्माण कार्य केही समय प्रभावित भएको थियो । 

भूकम्प र नाकाबन्दीले निर्माण कार्य प्रभावित भए पनि तोकिएको समयमा निर्माण सम्पन्न भएको छ । स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले कार्य गरिरहेका छन् ।

 

नवनिर्मित सडकमा दुई वर्षसम्म बर्खाको समयमा सवारी साधन सञ्चालन गर्न नमिल्ने निर्माण कार्यदलले जनाएको छ । 

कार्यदलका अनुसार बर्खाको ४ महिना सवारी साधन सञ्चालन गर्दा जोखिम बढी हुन्छ । पहिरो खस्ने तथा ढुङ्गाहरु झर्ने सम्भावना बढी भएकाले बर्खा अवधिभर सवारी सञ्चालन नगर्दा फाइदा हुने कार्यदलका प्रमुख एंवम प्राविधिक सेनानी केसीले जानकारी दिनुभयो । 

बर्खाको समयमा बेत्रावती कालिकास्थान धुन्चे स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडक प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । काठमाडौंबाट बेत्रावती धुन्चे हुँदै रसुवागढी जोड्ने सडकको दूरी १४५ किलोमिटर रहेको छ । काठमाडौंबाट बेत्रावती मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दूरी भने १२२ किलोमिटर मात्र हुने छ । 

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँडनका लागि कुनै पनि घुम्ती पार गर्न नपर्ने प्रमुख एंवम प्राविधिक सेनानी केसीले बताउनुभयो । 

मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ६८ करोड ६९ लाख खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । 

सडक निर्माण गर्न दुई करोड रकम अपुग भएकोले रकम थप गर्नका लागि केन्द्रमा लेखेर पठाएको कार्यदलले जानकारी दिएको छ । निर्माण भएको सडक २०७५ वैशाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने कार्यदलले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया