MENU

विचार/अनुभूति

ujyaalo forign call inside

०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

मिलन तिमिल्सिना

अहिलेसम्म नयाँ वर्षका धेरै शुभकामना खेर गए । पोहोर, परार, झन् परार, परारका पनि परार वर्षहरुदेखि शुभकामनामा उस्तै शब्द दोहोरिए – सुख, शान्ति, समृद्धि र प्रगति । तर सुखमा सुखैसुख त के, दुःखमा पनि सुखसँग दुःख गर्न पाइएन ।

सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

शान्ति, समृद्धि र प्रगतिलाई पनि सहज भएन । उनीहरुमध्ये कोही देश छाडेर हिँडे । कोही दिउँसै कसैले एकान्तमा भेटेर झम्टिहाल्ने हो कि भनेर डराउँदै, मुख छोप्दै गाउँ शहर चाहार्दैछन् ।

नेतादेखि नागरिकसम्म, जागिरेदेखि पंधेर्नीसम्मले दुःख मात्रै पाए । नेतालाई चुनाव जित्न दुःख ! नागरिकलाई भोट हाल्न दुःख ! आयोगलाई चुनाव गर्न दुःख ! चुनावको नाममा चलखेल गरेको रकम लुकाउन नसक्दा दुःख ! अथवा सबैलाई सबै खाले दुःख !

चुनाव जित्नेलाई सरकार बनाउन दुःख । कागजमा योजना र नीतिहरु बनाउन दुःख । कागजमा कोरेको विकास साँच्चै हुन्छ भनेर नागरिकको विश्वास जित्न दुःख । हारेकालाई हार स्वीकार्न दुःख ।

जागिरेलाई कार्यालय समयभरी काम गरिरहन दुःख । पानी पँधेरो गर्नेलाई रित्तो भाँडो भर्न दुःख । बाटो हिँड्नेलाई धुलो, धुवाँ र हिलोको दुःख । गाडी चढ्नेलाई भनेको बेला गाडी नभेट्दा र भेटि हाले पनि उभिएर, ठेलिएर, पेलिएर यात्रा गर्नुपर्दाको दुःख । गाडीवालालाई सिन्डिकेट गर्न नपाउँदा दुःख । 
हुनेखानेलाई भएका कुरा जोगाउन दुःख । हुँदाखानेलाई नभएका कुरा जुटाउन दुःख ।

अघिल्ला वर्षहरु जस्तै २०७४ को वर्ष पनि सबैका दिन दुःखमै बिते । वर्षको सुरुमा साटफेर भएका शुभकामनाले सुख दिएन ।

तर अब सुरु भएको वर्षमा भने सुख र समृद्धिका दिन फिर्ने संकेत देखिएको छ । हुनेखानेले मात्र होइन, हुँदाखानेले पनि सुखको सपना देख्न पाउने भएका छन् ।

पहिलो कुरा त सरकारको मूल नारा नै सुख र समृद्धि । पहिलेका सरकारले संविधान बनाउँछु, चुनाव गराउँछु मात्र भन्थे । अहिलेको सरकारले त विकास र समृद्धिको मात्र कुरा गर्छ । प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैका मुखबाट नागरिकलाई सुखी र देशलाई समृद्धि बनाउँछौंं भन्ने कुरा मात्र सुनिन्छ । एकजनाले मात्रै भनेको भए पनि होइन क्यारे भनेर नपत्याउनु । यसले, उसले, त्यसले, जस्ले पनि एउटै कुरा भनेपछि कसरी नपत्याउनु ।

झुटो कुरा धेरैले भने त पत्याउनुपर्छ भन्छन् । तर झुटो कि साँचो भन्ने थाहा नभएको कुरा हो, हुन्छ भनेर धेरैले भनेपछि त पत्याउनै पर्यो ।

पहिला पहिला तेलका कुरा हुन्थे । तेलकै चिन्ता हुन्थ्यो । तर अब रेलका कुरा र रेलकै चिन्ता बढि हुन थालेका छन् । छिमेकी देश भारत र चीन तँ पहिले कि म पहिले भन्ने पारामा नेपालमा रेल कुदाउन तँछाडमछाड गर्दैछन् ।

प्रधानमन्त्रीले त उहिल्यै रेल ल्याउँछु भनेका । काठमाडौंका मेयरले रेलकै कुरा गरेर चुनाव जितेका । त्यसमाथि काठमाडौंमा मेट्रो र मोनो रेल बनाउने प्रक्रिया नै सुरु भैसक्यो । रेल कुदेको हेर्न अझै केही वर्ष कुर्नुपर्ला । तर रेल चल्छ रे भन्ने कुरा सुन्दा पनि रेल चढेजत्तिकै मजा हुँदो रहेछ । रेलको कुरा सुन्न मज्जा, रेल चढेको कुरा सम्झिन मज्जा ।

छुकछुक गर्दै रेल कुदेको, उत्तर र दक्षिणबाट आएका रेल काठमाडौंमा भेट भएको, यताबाट फर्किंदा नेपालमा उत्पादन भएका सामान भरिभराउ बनाएर लगेको, अनि रोजीरोजी रेल चढेको कल्पना गर्दा पनि आनन्द लाग्ने ! यो बर्ष भरि आनन्दै आनन्द हुने भो किनभने यो वर्ष रेल आउने त कुनै संभावना छैन, तर रेलका कुरा गर्दाको आनन्द ०७५ सालभरि लिन पाइन्छ ।

०७५ मा रेलको कल्पना मात्रै गर्न परे पनि काठमाडौंमा मेलम्चीको भेल बगेको चाहिँ साँच्चै हेर्न पाइने भएको छ । ०७४ सालमै आउँछ भनेको मेलम्चीको भेल सुरुङको ढिस्कोमा रोकियो । पहिले दशैमा आउँछ भनियो, त्यसपछि हैन वैशाखमा भनेर भाका सारियो । भाका सार्दासार्दै अब ०७५ को दशैंलाई पुर्याइएको छ । धेरैपटक ब्रेक थ्रु हुँदाहुँदा यसपटक त मेलम्चीको पानी ल्याउने पहाड फुटाएर सुरुङ नै वारपार भै साँच्चैको ब्रेक थ्रु भएको छ ।धारामा मात्र होइन, सडकमै भेल बग्नेगरी मेलम्ची आउने आशा बढेको छ ।

मेलम्चीको भेलको पक्का, छुकछुके रेलको हल्ला जस्तै यो वर्ष क्रिकेट खेलमा चौका र छक्का पनि धेरै गुञ्जिने छाँट छ । खेलको हाइट अनुसार रंगशाला भएन भनेर सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन जुटेका छन् । सरकार र नेताहरुले भनेका भए पत्याउन गाह्रो हुन्थ्यो । कुराभन्दा काम गरेर देखाउन खप्पिस धुर्मुस र सुन्तली नै अघि लागेपछि क्रिकेट खेलको रंगशाला बन्ने पनि पक्का छ ।

धुर्मुस र सुन्तली अघि लागेपछि सरकारले पनि रंगशाला बनेको जस लिन पाउने । जस पाउने काम गर्न सरकारले बाधा नगर्ने भएपछि चौका र छक्का रंगशालामै बसेर हेर्न पाईएला कि भन्ने आशा बढेको छ । काठमाडौंमा मात्र होइन, देशका ठाउँठाउँमा रंगशाला बनेपछि क्रिकेटका खेलाडी र प्रशंसक त गद्गद् हुने भए नै । क्रिकेट बुझ्दै नबुझ्नेलाई पनि खेल हेर्न र चौका छक्का भन्दै उफ्रन कम रमाईलो नहोला ।
खाने र भर्ने तेलको भन्दा छुकछुके रेलको चर्चा । छुकछुके रेलको भन्दा मेलम्चीको भेल पक्का । मेलम्चीको भेल छल्दै क्रिकेट खेलमा चौका र छक्का । जालझेलमा नअल्झिने हो भने एमाले र माओवादीको मेल पनि यही वर्ष पक्का । यी सबै भएपछि स्थायित्व, विकास, सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति जस्ता सकारात्मक पाटाहरुको मात्र ठेलम्ठेल र मज्जा !

पहिले जस्तो झेल र बेमेल भएन भने ०७५ सालमा धेरैतिरका सुख र समृद्धिको तालमेल सँगसँगै हुनेछ । केही बिपनामै मिल्नेछन्, केही सपनामा देखिनेछन् । सपनामा देखिएकामध्ये एक, दुई कुरा बिपनामा पनि मिल्यो भने त्योभन्दा सुख अरु के हुन्छ र ?
जय नयाँ वर्ष २०७५ !

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया