MENU

समाज

ujyaalo forign call inside

विक्रम सम्बत २०७५ सुरु, कस्तो छ त नयाँ वर्षको ज्योतिषीय दृष्टिकोण

वैशाख १ – आज विक्रम संवत २०७५ सालको पहिलो दिन । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने मानिने दिन आज बैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति पनि हो । नयाँ वर्षको पहिलो दिन अघिल्लो वर्ष गरेका कामको मूल्याङ्कन गरी सफलताकालागि प्रयत्न गर्ने सङ्कल्प पनि गर्ने गरिन्छ । यस्तै यो दिन सरसफाइ तथा पूजापाठ गर्ने, मीठो खाने, साथीभाइ र इष्टमित्रसँग भेटघाट र शुभकामना साटासाट गर्ने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा रामचन्द्र गौतमका  अनुसार विक्रम सम्बत सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको उहाँले भन्नुभयो ।

मल्लकालदेखि मौलिक संवतका रुपमा चल्न थालेको विक्रम सम्बत नेपालमा मात्र आधिकारिक प्रयोगमा रहेको इतिहासकार प्रा. दीनेशराज पन्तले जानकारी दिनुभयो । भारतमा सरकारी सम्वत शक सम्वत भएपनि व्यहारमा इस्वी सम्वत चलेको उहाँले बताउनुभयो ।

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उहाँले दिनुभयो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको उहाँले बताउनुभयो ।
 
विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्बतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो । विक्रम संवतलाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो । 

राजा विक्रमादित्यले चलाएको संवत भएकाले यो संवतलाई विक्रम संवत भनिएको तर्क पनि केहीले गर्ने गरेका छन् । 

यस वर्षको संवत्सरको नाम ‘बिरोधकृत’ हो । संवत्सरको फल अनुसार यो वर्ष मध्यम रहेको समितिले जनाएको छ । यस वर्ष वर्षा समेत कम हुने समितिले स्वीकृत गरेका पञ्चाङ्ग अर्थात पात्रोमा उल्लेख छ ।

यस वर्ष जेठ महिनामा मलमास परेको छ । मलमासमा नित्य रुपमा गरिने पूजा पाठ गर्नुहुन्छ । नैमित्तिक अर्थात् अकस्मात परी आउने बालक जन्मँदा नामकरण, मानिस मर्दा क्रिया कर्म आदि गर्न शास्त्रीय रुपमा अवरोध नहुने अध्यक्ष गौतमले सुनाउनुभयो । कुनै कामनाले गरिने काम्य कर्म भने मलमासमा गर्नुहुँदैन ।

विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह परिषद् अनुसार यस वर्ष राजा सूर्य, प्रधानमन्त्री शनि र सेनापति मंगल रहेका छन् । राजा र प्रधानमन्त्रीको पदमा रहेका ग्रहबीच वैमनस्यता रहेकाले यसको प्रभाव राज्यमा पनि पर्छ । राजा सूर्य भएकाले ताप बढ्ने एवम् कम पानी पर्ने पात्रोमा उल्लेख छ ।

विशाखा नक्षत्रमा पूर्णिमा भएको महिनालाई वैशाख, ज्येष्ठा नक्षत्रमा पूर्णिमा परेको महिनालाई जेठ, पूर्वाषाढामा पूर्णिमा भएको महिनालाई असार, श्रवण नक्षत्रमा पूर्णिमा भएको महिनालाई साउन, पूर्वभाद्रपदा नक्षत्रमा पूर्णिमा भएको महिनालाई भदौ, अश्विनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई असोज, कृतिका नक्षत्रमा पूर्णिमा भएको महिनालाई कात्तिक, मृगशिरा नक्षत्रमा पूर्णिमा भएको महिनालाई मङ्सिर, तिष्य नक्षत्रमा पूर्णिमा भएको महिनालाई पुस नामकरण गरिएको समिति अध्यक्ष गौतमले उल्लेख गर्नुभयो । 

यसैगरी मघा नक्षत्रमा पूर्णिमा भएको महिनालाई माघ, पूर्व फाल्गुनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई फागुन र चित्रा नक्षत्रमा पूर्णिमा भएको महिनालाई चैत नामकरण गरिएको हो ।

नयाँ वर्षका अवसरमा काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (वागमती नदीको उद्गमस्थल) मा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरको चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।

काठमाडौँको टोखाको खहरे अर्थात सपन तीर्थमा आज स्नान गरेमा कुष्ठ रोग हट्ने र शारीरिक तन्दुरुस्तता प्राप्त हुने विश्वास छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास पनि छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक हप्ता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

पछिल्ला केही वर्षदेखि नव वर्ष शुरु हुने दिन अर्थात वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भीड लाग्न थालेपछि दर्शन एवम पूजाआजा गर्नेका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । रासस 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया