MENU

समाज

कर्णाली–रारा पर्यटन वर्ष : सुनखानीमा बसेर नुन खोज्नुपर्ने बाध्यता कहिलेसम्म ?

विष्णु विश्वकर्मा/उज्यालो ।

काठमाडौ‌ं, बैशाख १ – चिसो हावा मन्द गतिमा सिरसिर चलिरहेको । अनि नीलो पानीले भरिएको तालमाथि टपक्क टिपेर राखेको जस्तो देखिने सेताम्मे हिमाल । एक छेउदेखि देखिने अर्को छेउ पुग्न घण्टौं लाग्छ ।

मुगुको राराको सुन्दरता आँखै अगाडि देख्ने जो–कोही खुशीले बुर्कुसी मार्छन् । एकपटक रारा पुगेको व्यक्ति रारा पुगेपछि आफ्नो जीवन धन्य भएको ठान्दो हो, शायद । 

राराबाट समृद्धिको यात्रा

राराको बयान हुन थालेपछी त्यहाँ पुग्नेहरुको संख्या बढ्दो छ । यसपटक त नयाँ वर्षको पहिलो दिन पर्यटन महोत्सवको सुरुवात हुँदैछ । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ अन्तर्गत समृद्धि यात्राको सुरुवात राराबाट गर्ने निर्णय गरेपछि त्यसको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहितको टोली त्यहाँ पुगेको छ । १० वर्षभित्र कर्णाली प्रदेशलाई नै विकासमा माथि उठाउने प्रदेश सरकारका मन्त्रीहरुको बाचा पनि छ ।

रारा मात्र होइन डोल्पाको शे–फोक्सुन्डो ताल, कालिकोटको पलाँता झरना, सल्यानको कुभिन्डे दह, सुर्खेतको बुलबुले ताल, काँक्रेविहार, घण्टाघर, दैलेखको ज्वालालाई पनि सिगाँरपटार गरेर कर्णाली प्रदेश सरकारले वार्षिक पाँच लाखसम्म पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि पर्यटन वर्ष कार्यक्रमले नै कर्णाली प्रदेशको समृद्धि ल्याउने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावलको दावी छ ।

‘कर्णाली प्रदेशको समृद्धिका लागि सबैभन्दा ठूलो आधार पर्यटन हो, मन्त्री रावलले भन्नुभयो ‘प्रधानमन्त्री आफैँले रारामा पर्यटन वर्षको उद्घाटन गर्दै सम्बोधन गरेपछि हाम्रो समृद्धिको यात्रा सुरु हुनेछ ।’ सम्भवतः १० वर्ष भित्रमा हामी देशकै नमुना र ‘स्वर्गको अप्सरा’ जस्तो प्रदेश कर्णालीलाई बनाई छाड्ने हो ।’

समृद्धिको सुनखानी !

रारा मात्रै होइन । प्रदेशलाई नै समृद्धिको बाटोमा अग्रसर गराउने थुप्रै ‘सुनखानी’ छन् कर्णाली प्रदेशमा । जुम्लामा पाइने अमूल्य यार्सागुम्बादेखि दैलेखको पेट्रोलियम भण्डार, र सुर्खेतको चौकुने सिमेन्ट कारखाना कर्णालीका त्यस्तै सम्भावनाका ‘सुनखानी’ हुन् ।

दोस्रो लुम्बिनीका रुपमा रहेको सुर्खेतको काक्रेबिहार, घण्टाघर, बुलबुले ताल, बराह ताल पनि पर्यटकका लागि आकर्षक गन्तव्य हुन् । यस्तै, दैलेखकै शिलालेख, सल्यानको कुभिन्डे दह, डोल्पाको शे–फोक्सुन्डो ताल, कालिकोटको पलाँतामा रहेको झरनालगायत सयौँ पर्यटकीय गन्तव्य छन् ।

देशकै सबैभन्दा धेरै जलविद्युत उत्पादन क्षमता र र्‍याफ्टिङका लागिसमेत उत्कृष्ट मानिने कर्णाली र भेरी नदी पनि कर्णाली प्रदेशका गहना हुन् । तर प्रचार–प्रसार र पूर्वाधार अभावमा यी सबै क्षेत्र ओझेलमै छन् । 
यसका लागि लहडका भरमाभन्दा कर्णाली प्रदेशकै गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष तथा पर्यटन व्यवसायी चिन्तामणि शर्माको सुझाव छ ।

‘लहडकै भरमा भए पनि कर्णाली प्रदेशले पर्यटनको विकासका लागि हिँड्ने प्रयास गर्दैछ, शर्माले भन्नुभयो तर सधैँ यसरी लहडले हुँदैन । समग्र कर्णालीकै विकासको गुरुयोजना बनाएर अघि बढ्न पर्छ ।’

भौगोलिक विकटता र चुनौतीको पहाड

जलस्रोत र पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरेर समृद्धि ल्याउने उद्देश्यसहित प्रदेश सरकारले यसै वर्षदेखि कर्णाली–रारा पर्यटन वर्षको सुरुवात त गरेको छ । तर आशा, अवसर भन्दा चुनौती धेरै छन् ।

पर्यटकलाई पर्यटकीय क्षेत्रसम्म पुग्न भरपर्दो सूचना र पथ प्रदर्शक छैनन् भने सडक र यातायातका साधन पनि उपलब्ध छैनन् । कर्णाली प्रदेशका पर्यटकीय क्षेत्र र चीनको मानसरोवर कैलाश जाने भारतीय पर्यटकका लागि पनि भरपर्दो सूचना केन्द्र छैन । अनि बाटोमा कहाँ पुगियो भन्ने सांकेतिक चिन्हसम्म छैनन् ।

कर्णालीका प्रायः सबै ठाउँ घुमेका फोटो पत्रकार भरतबन्धु थापा भन्नुहुन्छ ‘रारा होस् वा मानसरोवर बाटोमा मोबाइलमा टावर हुँदैन । कहाँ पुग्यौँ भन्ने पत्तो पनि हुँदैन । त्यसैले पहिला सूचना केन्द्र र पूर्वाधार निर्माण तत्काल गर्नुपर्ने आवश्यकता छ ।’

अनि, सुनखानीमा बसेर नुन खोज्नुपर्ने बाध्यता

कर्णाली प्रदेशमा पर्यटनको सम्भावना, त्यसको विकासका लागि लगानी कति चाहिन्छ ? भन्नेबारे अहिलेसम्म पर्याप्त अध्ययन भएको छैन । जे–जति तथ्यांंक आएका छन् । ती सबै कुनै जमानामा गरिएको भरमा र धेरै अनुमानका भरमा ल्याइएका छन् ।

यस्तो अवस्थामा पहिला त सम्भाव्यता अध्ययन र तीव्र विकासको स्पष्ट योजना आवश्यक छ । होइन भने प्राकृतिक स्रोतसाधनले भरिपूर्ण सुनखानीमै बसेर नुन खोज्न भारतका गल्ली–गल्ली चाहर्नुपर्ने कर्णाली बासिन्दाको बाध्यता अन्त्य हुन नसक्ने कर्णालीको विकासका लागि विभिन्न क्षेत्रबाट क्रियाशील रहेकाहरुको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया