MENU

खेल

ujyaalo forign call inside

डीपीएल क्रिकेट : आयोजना, सफलता र उपलब्धि

अर्जुन पोख्रेल/उज्यालो ।

कैलाली, वैशाख १ – घरेलु क्रिकेटलाई नयाँ रुपमा सोच्न र विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको दोस्रो सस्करण शुक्रबार सकिएको छ ।
 
क्रिकेट भनेपछि हुरुक्क हुने सुदूरपश्चिमको मुख्य शहर धनगढीमा ८ वर्षअघि २५ हजार रुपैयाँ पुरस्कार राशीबाट एसपीए कप सुरु भएको थियो । त्यही उर्जालाई संगाल्दै गएको वर्षदेखि धनगढी क्रिकेट एकेडेमी डीसीएले डीपीएल सुरु गरेको हो । डीपीएलले पुरस्कार राशीमा मात्र होइन नेपाली घरेलु क्रिकेटको सोच र प्रयोगको दायरा पनि फराकिलो बनायो ।
लगानीलगायत धेरै कुराले धनगढीभन्दा अगाडि रहेको काठमाडौंमा समेत घरेलु क्रिकेटबारे गतिला काम नभइरहेका बेला धनगढीमा एसपीए कप हुनु आफैँमा चुनौतीपूर्ण र नयाँ थियो ।
 
नेपालमा खेलाडी बोलकबोलबाट अनुबन्ध गर्ने काम पोहोर डीपीएलबाटै सुरु भएको हो । खेलाडीको वर्गिकरण गरेर बोलकवोल गर्ने अभ्यास सुरु गरेको डीपीएलले दोस्रो वर्ष पनि त्यसलाई निरन्तरता दियो । काठमाडौंमा भएको एभरेष्ट प्रिमियर लिग ईपीएलले पनि यहि शैलीमा खेलाडी अनुबन्ध गर्‍याे । त्यस्तै, सहरका नामबाट क्रिकेट खेलाउने र विभिन्न सहरलाई अपनत्व दिलाउने काम पनि डीपीएलले नै सुरु गरेको हो ।
 
यसका साथै क्रिकेटमा ठूलो मात्रामा प्रायोजकलाई आकर्षित गर्ने काममा पनि डीपीएलको भूमिका महत्वपूर्ण छ । यसपटक पनि करोडौं रुपैयाँ खर्च गरेर धनगढीमा डीपीएलको दोस्रो संस्करण सकिएको छ । यसपटकको डीपीएलबाट कस्ले के पाए त ?
 

खेलाडीले पाएको उपलब्धि

 
डीपीएलको लागि काठमाडौंमा भएको बोलकबोल अर्थात अक्सनमा दुई सय जनाभन्दा धेरै खेलाडीले नाम दर्ता गराएका थिए । जसमा राष्टिय टोलीबाट खेल्दै गरेका, विगतमा खेलेका र ओझेल परेका अनि नयाँ खेलाडी पनि थिए । उनीहरुमध्ये ७२ जनाले ६ वटा टिममा रहेर खेल्ने मौका पाए । क्रिकेटबाट ओझेल पर्न थालेका र नयाँ खेलाडीले डीपीएलमा आफूलाई पुष्टि गर्ने अवसर त पाए नै आर्थिक रुपमा पनि केही आर्जन गरे ।
 
राष्ट्रिय स्तरमा घरेलु प्रतियोगिता नभइरहेका बेला राष्ट्रिय टीम छनोटमा पनि डीपीएलले सहयोग गर्नेछ ।
 
प्रतियोगितामा सहभागी छ वटै टोलीले दुई–दुईजनाका दरले विदेशी खेलाडी राख्नैपर्ने प्रावधानले विदेशी खेलाडीसँग धेरै सिक्ने अवसर पाएको टिम चौराह धनगढीका कप्तान सोमपाल कामी बताउँछन् । वावर हायत, रोहन मुस्ताफा, सन्नी पटेल पुनित मेहरालगायतका विदेशी खेलाडीसँग खेल्दा नेपाली खेलाडीलाई सिक्ने मौका पनि भएको सोमपालको भनाई छ ।
 
‘पेभिलियनमा होस् या होटलमा बस्दा उनिहरुसँग निकै नजिक हुने मौका पाइयो, प्रेसरको बेलामा कसरी खेल्ने, फिल्डिङ कसरी चुस्त बनाउनेलगायतका कुरामा उनिहरुबाट हामीले धेरै नै सिक्ने मौका पायौं’ सोमपालले भने, ‘यो प्रतियोगिताले सिकाइमा ठूलो टेवा पुर्याएको छ ।’
 
नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा पनि विदेशी राम्रा खेलाडीसँगको संगतले नेपाली खेलाडीले धेरै कुरा सिकेको बताउँछन् ।
 
‘एउटा राम्रो विदेशी बलरले बलिङ गर्न थाल्यो भने नेपाली ब्याट्सम्यानले आफुलाई त्यसैअनुसार तयार गर्नुपर्यो टमाटाले भने विदेशी राम्रो ब्याट्सम्यानले कसरी ब्याट घुमाउँछ भनेर जानेपछि नेपाली बलरले त्यसै अनुसारको बलिङ रणनीति बनाउनुपर्छ जसले गर्दा हाम्रा खेलाडीलाई धेरै सिक्ने मौका भएको छ ।’
 
काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि यस्ता प्रतियोगिता भैरहने र विदेशी खेलाडी पनि आइरहने हो भने नेपाली खेलाडीले धेरै कुरा सिक्न पाउने बताउँछन् ।
 
हरेक टिममा ट्यालेन्ट हण्टमार्फत सुदूरपश्चिमका दुईजना खेलाडी राख्नैपर्ने नियमले सुदूरपश्चिमका धेरै खेलाडीले मौका पाए ।
 

आयोजकले पाएको उपलब्धि

 
प्रतियोगिताको कुल खर्चको हिसाबकिताब निकाल्न केही दिन लाग्ने प्रतियोगिता आयोजक डीसीएका प्रमुख सुवास शाही बताउँछन् । तर खेलाडी किनबेच र पुरस्कारमै झण्डै डेढ करोड रुपैँया खर्च भएको छ । सुदूरपश्चिमको एउटा सहरमा यति धेरै लगानी गरेर क्रिकेट प्रतियोगिता गर्नु चानचुने सफलता होइन । प्रतियोगिताले धनगढीको कनेक्सन विश्वभर पुर्याएको आयोजक शाहीको भनाई छ ।
 
‘देशका सबैजसो मिडियामात्र होइन विदेशी मिडियामासमेत डीपीएलले स्थान पाउनुले  धनगढीको कनेक्नस विश्वभर पुर्यायो, डीपीएलले गर्दा धनगढी भाइब्रेन्ट भयो हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि यै हो’ डीसीएका अध्यक्ष शाहीले उज्यालो अनलाइनसँग भने, ‘धनगढी र सुदूरपश्चिमका नागरिकले क्रिकेटलाई कति माया गर्छन अनि उनीहरुको नशा नशामा कसरी क्रिकेट बगेको छ भन्ने पुष्टी पनि भयो, यो पनि हाम्रा लागि सफलता र उपलब्धि नै हो ।’
 
योसँगै नेपालमा क्रिकेटमा प्रायोजन गरेर घाटा हुँदैन भन्ने पुष्टी गरेको पनि शाहीको भनाई छ । अहिले जुन–जुन व्यापारी र संस्थाले डीपीएलमा लगानी गरे, कुनै पनि टिम घाटामा नगएको उनी बताउँछन् । प्रायोजकले डीपीएलको लोकप्रियता देखेर मख्ख परेको र आउँदा दिनमा प्रायोजन जुटाउन झनै सजिलो बनाइदिएको शाहीको दावी छ ।
 

धनगढी र सुदूरपश्चिमले पाएको उपलब्धि

 
डीपीएल २ आयोजना भएको धनगढीको संघीय प्रहरी इकाइको मैदानमा बाँस र फलाम जोडेर ७ हजार दर्शक अट्ने अस्थायी प्याराफिट बनाइएको थियो । कुनै–कुनै दिनबाहेक प्याराफिट लगभग भरियो ।
फाइनलको दिन शुक्रबार त प्याराफिटमा बस्ने ठाउँ भएन, टिकट नपाएको भन्दै दर्शकले गेटबाहिर नाराबाजी गरिरहेका थिए । 
 
हरेक दिन आउने ७ हजार हाराहारी दर्शकमध्ये केही महेन्द्रनगर, डडेल्धुरा, नेपालगञ्जलगायतका ठाउँबाट पनि आएका हुन्थे । होटलमा बास बसेरै पनि डीपीएल हेर्न दर्शक धनगढी आएका थिए । क्रिकेटको चहलपहलले धनगढीका होटल मात्र होइन रिक्सा टेम्पो, बसलगायत सवारीसाधन व्यस्त भए । खेलाडीसँगै, अफिसियल, उनीहरुका आफन्त, प्रायोजक, लगानीकर्ता, सञ्चारकर्मीलगायत धनगढी पुग्दा त्यहाँको व्यापार बढ्यो । 
 
धनगढीले पाएको अर्को सफलता र उपलब्धि भनेको यस्ता ठूला प्रतियोगिता पनि एउटा सहरले चाह्यो भने गर्न सकिने रहेछ भन्ने पुष्टि पनि हो ।
 
जसरी धनगढीले क्रिकेटमा सफलता हात पारेको छ, अरु सहरले पनि त्यो सफलता हात पार्न सक्छन् भन्ने गतिलो सन्देश दिन धनगढी सफल भएको छ । डीपीएलकै कारण हरेक दिन धनगढीको जुन चर्चा भयो, त्यो धनगढीले गर्व गर्ने सबैभन्दा ठूलो विषय हो ।
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया