MENU

समाज

ujyaalo forign call inside

सिरुवा पर्व : यसरी सुरु भयो गोठ र छानामा लसुन झुड्याउने परम्परा

शुष्मा राजवंशी /उज्यालो ।

झापा, वैशाख १ – नयाँ वर्षको आगमनसँगै सिरुवा पर्वको रौनक राजवंशीलगायत कोच आदिवासी समुदायमा छाएको छ । 

झापा, मोरङ, सुनसरीमा आदिमकालदेखि बसोबास गर्ने कोच आदिवासी समुदाय यतिबेला सिरुवा पर्वलाई भव्य र सभ्य रुपमा मनाउन व्यस्त छन् । यो पर्व राजवंशीसँगै कोच समुदायभित्रका ताजपुरीया, गनगाई, धिमाल, माझीलगायतका अरु समुदायले पनि ठूलो महत्वका साथ मनाउने गर्दछन् ।

कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो । सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । कोच भाषा तथा इतिहासका जानकार बाह्रदसी गाँउपालिका वडा नम्बर ५ निवासी खड्ग राजवंशी सिरुवा पर्वका बारेमा भन्नुहुन्छ,  ‘ सिरुवा हरेक नयाँ वर्षको सुरुवातसँगै मनाइन्छ ।

यो पर्व ३ दिनसम्म मनाइन्छ । पहिलो दिन बिश्वा (जल सिरुवा), दोस्रो दिन काद (हिलो) सिरुवा, तेस्रो दिनमा रङ सिरुवा खेल्ने गरिन्छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक, सांस्कृतिक पर्व हो ।’ 

विश्वा अर्थात जल सिरुवा

पहिलो दिन अर्थात वैशाख १ गते तदनुसार बंगाली पात्रो अनुसार चैत मसान्तको दिनलाई विश्वा वा जल सिरुवा भनिन्छ । गौरीगञ्ज ६ निवासी ७० वर्षीया भरवती राजवंशी भन्नुहुन्छ, ‘बांग्ला पात्रो अनुसार वर्षको अन्तिम दिन नयाँ वर्षलाई स्वागत गर्नै लाग्दा यस वर्षको दुःख, कष्ट, रोग र सम्पूर्ण दुष्भावहरु यसै वर्ष पखालिएर जाउन र नयाँ वर्षमा ती दुःख, पीडा, नकारात्मक सोच नदोहोरियोस भनेर छरछिमेक, इष्टमित्र र परिवारजनबीच एक–आपसमा जल अर्थात पानी छ्यापेर प्रतिकात्मक रुपमा बरुण देवको पूजा गरिन्छ ।’

जल सिरुवाको दिन शरीरमा पानी छ्याप्दा यसले शरीरमा शितलता प्रदान गर्नुका साथै शरीरका सम्पूर्ण बिकारहरु पखालिने र परिवारजनमा बरुण देवको सधँै कृपा रहने विश्वास जनमानसमा रहेको पाइन्छ । जल सिरुवाकै दिन राजवंशी समुदाय भित्र आफ्नो घर, गोठको चाल (छाना) र ढोकामाथि लसुन प्याज झुन्ड्याउने चलन रहेको छ । राजवंशी समुदाय सनातन हिंदु धर्म अन्तर्गत खत्रीय (क्षेत्री) वर्गमा पर्दछन् ।

धार्मीक ग्रन्थका अनुसार पौराणिक कालमा परशुराम ऋषिको मातालाई क्षेत्रीहरुले अपमान गरेको हुँदा त्यही क्रोधका कारण परशुराम ऋषिले क्षेत्रीहरुको सग्लो वंश विनाश गर्न लागेका थिए र यसबाट बच्नका लागि यो समुदायमा आफ्नो घर गोठमा लसुन प्याज बाँध्ने चलन सुरु भएको किम्बदन्ती छ ।

यसैदिन बेलुका ७ किसिमका सागसब्जीहरु मिसाएर सागसागी पकाइन्छ जुन पकाएको भोलिपल्ट बिहान (बांग्ला १ तारिख, नेपाली २ गते ) खाने चलन छ । यसलाई ‘चैतेर नान्हा बैशाखत’ भन्ने गरिन्छ । यसरी विभिन्न सागसब्जी मिसाएर पकाउँदा पेटको सम्पूर्ण बिकार र रोगबाट मुक्त हुने बिश्वास रहेको छ । 

काद सिरुवा (हिलो) 

सिरुवाको अर्को महत्वपूर्ण दिन भनेको दास्रो दिन अर्थात काद सिरुवा हो । यो नेपाली पात्रो अनुसार वैशाख २ गते मनाइन्छ । कोच भाषा, साहित्य र इतिहासका जानकार भद्रपुर–४, निवासी  तुलाराम राजवंशीका अनसार, ‘कोच आदिवासी समुदाय आफूलाई यस धर्तीको सन्तानको रुपमा स्विकार्छन् ।

मानव शरीर यही माटो र पानीले बनेको छ । यही धर्तीमा आफ्नो पसिना र श्रम दिएपछि धर्ती माताले आफूहरुलाई जिवित राख्न गाँस, बास र कपास दिन्छन् । त्यसैले धर्ती अर्थात माटोसँग हाम्रो अन्योन्याश्रित सम्बन्ध छ ।’

माटो प्रतिको यस्तै आस्थाका कारण काद सिरुवाको दिन सम्पूर्ण कोच समुदाय भित्र माटोमा पानी हालेर हिलो बनाई एक अर्काको शरीरमा लेपन गर्ने र शुभकामना आदान–प्रदान गर्ने प्रचलन रहेको छ । काद अर्थात हिलो खेल्नुको पछाडि वैज्ञानिक कारण पनि रहेको छ । शरीरमा माटो लेपन गर्दा यसले शरीर भित्रका बिकारहरु सोस्ने र विभिन्न किसिमका चर्म रोगहरुबाट छुटकारा पाउने विश्वास रहेको छ । 

काद सिरुवाले आपसी बैमनश्यताको अन्त्य गर्दै मित्रताको गाँठो अझ कसिलो पार्ने बुझाई आम कोच समुदायको रहेको छ । यसै दिन कोच आदिवासी समुदायका महिलाहरु साँझपख नजिकै रहेको जलाशयमा भेला भई तिस्ताबुह्री देवीको पूजाआरधना गर्ने गर्दछन् । यसलाई कतै तिस्ताबुह्री त कतै घाटोसरी पनि भन्ने गरिन्छ ।

तिस्ताबुह्रीको तयारी करिब १ महिना अगाडि देखिनै थाल्छन कोच महिलाहरु । तिस्ताबुह्री माताको महिमासँगै महिलाहरु एक आपसमा ठट्यौली शैलीका गीत गाउँछन् जसलाई भेदेखेली गान भनिन्छ ।

भेदेखेलीगान गाउँदै महिलाहरु घर–घर गई चामल या अन्य कुनै अन्न संकलन गर्ने चलन छ । यसरी भेदेखेली गान गाउँदै काद सिरुवाको दिन जलाशय पुगेका महिलाहरु आफ्नो परिवार, छरछिमेक, इष्टमित्रको सु–स्वास्थ्यको कामना गर्दै तिस्ताबुह्री माताको पूजा गर्छन । 

त्यसपश्चात् प्रसादको रुपमा लगिएका काँचो दूध, चना, अदूवा, लसुन र अठ्या केरा एक आपसमा अलाइबलाइ साट्ने चलन छ । आलाइबालाइ गर्दा चना, अदूवा, लसुन, केरा आदि चपाएर कुल्ला गरिन्छ । यसो गर्दा मुखको दुर्गन्ध हट्नुका साथै मुख सम्बन्धी रोग हट्ने विश्वास पनि रहेको छ । अन्तमा महिलाहरु  तिस्ताबुह्री मातालाइ छाता ओढाएर भगवान इन्द्रसँग खेतीपातीका लागि पानी पारिदिने माग राख्छन् र यहि दिनबाट राजवंशी समुदायमा छाता आढ्ने सुरुवात हुन्छ । 

रंङ सिरुवा

सिरुवाको अन्तिम दिन अर्थात वैशाख ३ गतेका दिन रंङ सिरुवा मनाइन्छ । झापा मेचीनगर–११, कि दया राजवंशीका अनुसार, ‘यस दिन कोच समुदायका सम्पूर्ण उमेर समूहका मानिसहरु एक आपसमा आत्मियता, प्रेम र सद्भावका साथ विभिन्न रङहरु एक आपसमा लगाइदिएर रङ सिरुवा मनाउने गर्छन ।

यति मात्र नभइ कोच समुदाय भित्र सिरुवा पर्व मनाउने छुट्टै शैली छ । यसका लागि विभिन्न मौलिक सांस्कृतिक गीत, नाच प्रस्तुत गर्दै आपसी सद्भावका साथ सिरुवा खेलिन्छ । 

पहिले गाउँ भरिका महिलाहरु एक ठाउँमा भेला भई महिनादिन अगाडिदेखि नै सिरुवाको तिस्ताबुरी माताको पूजा गर्न भेदेखेली गीत गाउँदै हिँड्थे । तर, अहिलेका महिलाहरु ती गीत सायदै गाउन सक्छन् । यसरी संस्कार संस्कृति हराउँदै जानुमा नयाँ पुस्ता आफ्नो भाषा, धर्म संस्कार प्रति सचेत नहुनु एउटा कारण हो भन्ने धेरैको बुझाई छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया