MENU

समाज

मेलम्ची : १६ वर्षमा २६ किलोमिटर सुरुङ

मेलम्ची, वैशाख २ –मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम १६ वर्षपछि सम्पन्न भएको छ । वि.सं. २०५८ देखि काम सुरु भएको आयोजनाको २६ किलोमिटर सुरुङ खन्न १६ वर्षको समय लागेको हो ।  

सबैभन्दा कठिन कामको रुपमा हेरिएको सुरुङ खन्ने काम सकिएसँगै ब्यग्र प्रतिक्षारत काठमाडौंका बासिन्दाको वर्षौँदेखिको मेलम्चीको पानी पिउने सपना अब छिट्टै पूरा हुने भएको छ ।

सुरुङ खन्ने काम सकिएको औपचारिक कार्यक्रममा बोल्दै खानेपानी मन्त्री विना मगरले काठमाडौंको वासिन्दाले भोग्दै आएको पानीको हाहाकारको समस्या अबको दसैंभित्रमा समाधान हुने बताउनुभयो ।

सुरुङ खन्ने कामले पूर्णता पाएको छ । अब सुरुङलाई फिनिसिङ गर्ने, सुरुङको भुईँ ढलान गर्ने, वैकल्पिक पाइपलाईन विस्तार गर्ने जस्ता काम अझै बाँकी छ ।

सुरुङ मार्गतर्फको झण्डै ८४ प्रतिशत काम सम्पन्न भएको आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताउनुभयो । भौगोलिक जटिलता रहेको सुरुङ खन्ने काम सकिएसँगै अब बाँकी रहेका काम जतिसक्दो छिटो पूरा गर्न आफूहरु दिनरात खटेर लागिरहेको देवकोटाले सुनाउनुभयो । ड्याम कसेर पानी हाल्ने मुहान अम्बाथानबाट ग्याल्थुम, सिन्धु हुँदै सुन्दरीजलसम्म आइपुग्ने २६ किलोमिटर लामो सुरुङ निर्माणको काम सम्पन्न भएसँगै आफूहरुमा थप उत्साह थपिएको र बाँकी रहेका सबै काम समयमै सक्नेगरी कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।
 
जुगल हिमालको फेदबाट आउने मेलम्चीको पानी ल्याउनका लागि आफू सधैं तत्पर रहेको भन्दै केही समय अझै धैर्य गर्न काठमाडौंका बासिन्दालाई मन्त्री मगरले आग्रह गर्नुभयो । ‘यो दसैंअघि हामी काठमाडौँका बासिन्दालाई मेलम्चीको पानी पुर्‍याएर काकाकुलको अवस्थालाई समाधन गर्छौँ, धैर्य गर्नुस्, ढुक्क हुनुस्’ मन्त्री मगरले भन्नुभयो ।  

सीएमसीको काम आशाजनक

चिनियाँ ठेकेदार कम्पनी सीआरसीसीले छाडेपछि ३१ असार ०७० देखि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी इ सेमेन्तेस्टी (सीएमसी दी रेभेन्ना)ले आयोजना निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार उसले सुरुङ निर्माणको सम्पूर्ण काम १०९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । तर, सुरु निर्माण गर्न १४६० भन्दा धेरै दिन लगाएको छ ।

यो अवधिमा कम्पनीले २१ किलोमिटर सुरुङ छिचोल्ने काम सकेको छ । यसबीचमा भूकम्प तथा विभिन्न अवरोधले गर्दा निर्माण कार्य केही ढिलो हुन पुगेको निर्माण कम्पनीका कार्यकारी प्रमुख साल्भातोरे कस्सारोले स्वीकार गर्नुभयो । ‘निर्माण सामाग्री आयातमा ढिलाई हुनु, सुरुङ खन्ने केही स्थान कमजोर भौगोलिक अवस्थाका रहनु, भूकम्पले खनिसकेको सुरुङको केही स्थान भत्कनु निर्माण ढिलाई हुनुको मुख्य कारण हो’ उहाँले भन्नुभयो ।
 
सबैको सहयोगले मात्रै यो सफलता हात पार्न सकिएको भन्दै कस्सारोले आयोजना सम्पन्न गर्न अझै पनि सबैको उत्तिकै सहयोग आवश्यक रहेको बताउनुभयो ।

यसअघिको १२ वर्षमा जम्मा ५ किलोमिटर मात्रै सुरुङ खनिएकोमा ५ वर्षको यो अवधिमा २१ किलोमिटर सुरुङ छिचोल्न सीएमसी सफल हुनु सकारात्क काम भएको आयोजनाका पूर्व कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।
 
‘मैले जागिरे जीवन सुरु गर्दादेखि सुनेको मेलम्ची आयोजना अवकास प्राप्त हुँदासम्म पनि पूरा हुन सकेन । म आफै पनि ५ वर्ष कार्यकारी निर्देशक भएर यसमा काम गरें । तर अहिले आएर कम्तीमा सुरुङ छिचोल्ने काम सम्पनन गर्न आयोजना सफल भएको छ । यो स्वागतयोग्य काम हो । अब काठमाडौंका बासिन्दाको वर्षौँदेखिको मेलम्चीको पानी खाने सपना साकार हुने दिन नजिकिएको छ’ उहाँले भन्नुभयो ।’

दसैंमा पानी आउने सम्भावना कति ?

टुटी खोल्ने बित्तिकै धारामा पानी झरिहाल्दैन । त्यसका लागि सुरुङ फिनिसिङ गर्नु, पानी प्रशोधन तथा जलाशयहरु निर्माण गर्नु अनि पाइपलाईनलाई पूर्णता दिने काम बाँकी नै छ । काठमाडौंका धेरै ठाउँमा पाइपलाईनको काम लगभग सकिए पनि घरघरमा मिटर बाँड्न अझै सुरु भएको छैन ।

‘विस्तार गरिएको पाइपभित्र पनि विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान गर्न बाँकी छ । यसका लागि मात्रै ३ महिनाभन्दा धेरै समय लाग्ने देखिन्छ,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भन्नुभयो ।  

अझै कति काम बाँकी छ ?

सुरुङ खन्ने काम सकिए पनि प्लास्टर र भुइँ ढलान गर्न बाँकी नै छ । अहिलेसम्म ४.५ किमिमा मात्रै प्लास्टर र भुइँ ढलान भएको छ । २३.०८४ किमि सुरुङको प्लास्टर र भुइँ ढलान गर्न कम्तीमा साँढे तीन महिना लाग्ने ठेकेदार कम्पनी सीएमसीका कार्यकारी प्रमुख साल्भातोरे कस्सारोले बताउनुभयो ।


 
सुरुङभित्र कम्तीमा तीनवटा एअर लिफ्ट भेन्टिलेटर पनि राख्नुपर्छ । यसका लागि कम्तीमा ६० दिन लाग्छ । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्र र सुरुङको मुख जोड्न २५० मिटर पाइप बिछ्याउन बाँकी छ । सिन्धुपाल्चोकको पानीको मुहानमा पनि ६० मिटर लम्बाइको पाइप बिछ्याउन बाँकी छ । सुरुङभित्र छिर्ने अडिटको मर्मत पनि गर्नुपर्नेछ । सबै काम योजनाअनुसार अघि बढे सकिन कम्तीमा साउनको मसान्तसम्म कुर्नुपर्छ । निर्धारित समयमै सबै काम सकिए पनि त्यसपछिको ६ महिनापछि मात्रै उपत्यकावासीले पानी पिउन पाउनेछन । निर्धारित समयमै काम सकिन निकै कठिन छ । अब वर्षायाम सुरु हुँदैछ । वर्षायाममा निरन्तर काम गर्न गाह्रो हुन्छ, यसले काममा केही अवरोध ल्याउने आयोजनाकै इन्जिनियरहरु बताउँछन् ।
 
आयोजनाका कार्यकारी निर्देशक देवकोटाले मेलम्ची खानेपानी परियोजना–१ अन्तर्गत सुरुङ खन्ने काम सकिए पनि सम्बन्धित ६.७७ प्रतिशत काम बाँकी नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुङ खन्ने काम त सकियो । यसको अर्थ अहिले नै सुरुङभित्र पानी छिराएर उपत्यका ल्याउने होइन । काम अझै बाँकी छन् । ती काम सक्न अगस्ट सम्मको समय लाग्छ । त्यसपछि मात्रै सुरुङमा पानी पठाउन मिल्छ ।’

पानी संकलनका निर्माणाधीन ९ वटा ट्यांकीमध्ये ८ वटाको ८० प्रतिशत काम सकिएको छ । एउटा ट्यांकीको भर्खर मात्र निर्माण सुरु गरिएको छ । यसबाहेक भक्तपुरको कटुन्जेमा पनि एउटा ट्यांकी निर्माण हुँदैछ ।

यी सबै काम निर्धारित समयमा नसकिए दसैं अघि पानी आइपुग्ने अवस्था छैन । समयमै सकिए पनि दसैंअघि काठमाडौँका उपभोक्ताको घरघरमा पुर्याउन सकिँदैन । विभिन्न चरण पार गर्न बाँकी नै छ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ । पहिलो चरणको १७ करोड लिटर पानीले काठमाडौंबासीलाई दैनिक ४ घन्टा पानी वितरण गर्ने मन्त्रालयको योजना छ ।

मेलम्चीको पानी आउने आशमा धुलो धेरै

मेलम्चीको पानी आउने आशमा काठमाडौंका बासिन्दाले पानी भन्दा धेरै धुलो खाइसकेका छन् । मेलम्चीको पानी आएर प्यास मेट्ने चाहना भने अझै अधुरो छ ।

मेलम्ची पानी ल्याइपुर्‍याउन पाइपलाईन निर्माणका लागि काठमाडौंका अधिकांश सडकहरु खनिएका छन् । सडक खनेर त्यसै छाडिँदा त्याहाँबाट उड्ने धुलो धुवाँले यहाँका बासिन्दाको स्वास्थ्यमा नै गम्भीर असर परिरहेको छ । घाम लाग्दा धुलो, धुवाँ र पानी पर्दा हिलैहिलो हुने सडकले आजित भएका छन् । तर पनि मेलम्चीको पानी आउला र खान पाइएला भन्ने आशामा काठमाडौंका बासिन्दा छन् । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया