MENU

राजनीति

माओवादी एमाले एकता : वाईसीएलले गरेको खबरदारीको संकेत के ?

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, वैशाख ३ – आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग वाइसिएलका पदाधिकारीले अध्यक्ष प्रचण्डलाई भेटे र भने, ‘५०/५० को हैसियत नभएसम्म र एमालेले जनयुद्ध स्वीकार नगरेसम्म पार्टी एकता गर्न नहतारिनुहोला ।’ हरेक १५/२० दिनमा अध्यक्ष प्रचण्डलाई भेट्ने र यस्तो नभएमा पार्टी एकता गर्न हुन्न भन्ने सुझाव दिनु नियमित प्रक्रिया मात्रै नभएर यसको फरक अर्थ रहेको विश्लेषण गर्न थालिएको छ । 

पार्टी एकताका लागि दुवै दलले घोषणा गरेको साइत अर्थात बैशाख ९ गते आउन एक हप्तामात्र बाँकी हुँदा दुवै दलका शीर्ष नेताबीच छलफल नभएको १० दिन भइसकेको छ । आइतबारका लागि तय भएको एमाले अध्यक्ष केपी ओलीसँगको बैठक छोडेर माओवादी अध्यक्ष प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट पुगे । मानसिक तनाब र थकानका बेला मन बहलाउन र रिफ्रेस हुन प्रचण्ड बेलाबेला सुकुटे पुग्ने गर्छन् । 

चुनावमा पाएको भोटको आधारमा एकतापछि नेतृत्व र संगठनको नेतृत्वको भागवण्डा गर्ने चर्चा चलेको बेला माओवादीले ५० प्रतिशत अर्थात बराबरी हैसियत पाउनैपर्छ भनेर आफूलाई दबाब बढिरहेको देखाउन प्रचण्डलाई यसले सजिलो बनाइदिएको छ । गएको मंसिर पुसतिर नेतृत्व र भागबण्डा मुख्य विषय नभइ पार्टी एकता नै मुख्य विषय भएको बताउँदै आएका प्रचण्डले अहिले ५० प्रतिशतको भाग खोज्न थालेका छन् ।

यस्तै पार्टीको विधानमा जनयुद्ध शब्द राख्न पनि आनाकानी गरिरहेको एमालेलाई चुनौती दिन वाइसिएलले जनयुद्ध शब्द विधानमा राख्ने मात्रै नभइ व्यवहारिक रुपमा एमालेले स्वीकार्नैपर्ने बताएको छ । 

माओवादी र एमालेका केही नेताले वैशाख ९ गते जसरी पनि पार्टी एक हुन्छ भन्दै हिड्ने तर भातृ संगठन लगाएर आफ्नो अडान पुरा नभए पार्टी एक हुन सक्दैन भन्दै प्रचारप्रसार गर्नुले दुई पार्टीको एकता संकटमा पर्न थालेको त होइन भन्ने शंका बढाएको छ ।  

कोही बचाउमा, कोही अलमलमा 

केही नेताले ९ गते त पार्टी एकता हुन्न भन्न थालेका छन नी ? उज्यालो अनलाइनको प्रश्न सुन्ने वित्तिकै एमालेका नेता सुवास नेम्वाङ आक्रोसित हुनुभयो ।  उहाँले भन्नुभयो, ‘जस्ले एकता हुन्न भनेको छ, यो प्रश्न उसैलाई सोध्नुहोस, अहिलेसम्म ९ गते नै पार्टी एकता हुनेमा दाँयाबाँया केही फरक परेको छैन ।’

नेताहरुको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको तर ९ गते एकता रोकिने कुरा सही नभएको उहाँको भनाइ छ । ‘प्रधानमन्त्री भारत जानुभएको थियो, बैठक बस्ने कुरै भएन, उहाँ फर्केर आएपछि बस्ने भनेको प्रचण्ड कमरेड बिरामी हुनुभयो, त्यसपछि ओली रारा जानुभयो, आइतबार उहाँ फर्कनुभएको छ, अब बैठक बस्ला अनि कुरा टुंग्याउला नी !’ नेम्वाङले भन्नुभयो, ‘दुईवटा कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यो अध्ययन भैरहेको छ । जबसम्म केन्द्रिय संयोजन समितिको बैठक बसेर प्रचण्ड र ओलीले आधिकारी रुपमा बोल्दैनन तबसम्म बाहिर आएका कुनै पनि कुरा आधिकारीक होइनन् ।’ ९ गते एकता हुन्न भन्ने कुरामा सत्यता नभएको भन्दै एमाले नेता नेम्वाङले त्यस्ता ‘हावा’ कुराको पछि नलाग्न पनि आग्रह गर्नुभयो । 

यस्तै माओवादीका नेता शक्तिबहादुर बस्नेत पनि पार्टी एकताका विषयमा धेरै कुरा मिल्न बाँकी रहे पनि वैशाख ९ गते दुई पार्टी एक हुने दावी गर्नुहुन्छ । चैत २९ गते रिपोटर्स क्लवमा भएको कार्यक्रममा एमालेका उपाध्यक्ष भीम रावलले वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय कसैले पनि नगरेको भन्दै एकताको मिति पर सर्ने घुमाउरो संकेत गर्नुभएको थियो । 

एमाले र माओवादीका केही नेताले वैशाख ९ गतेको मिति नटर्ने दावी गरिरहँदा केही नेताले भने ९ गतेको मिति कसैले नि नतोकेको बताउनुले पार्टी एकताको बारेमा ठूलै समस्या रहेको बुझ्न गाह्रो छैन ।  

एकताका लागि नमिलेका विषय

पार्टी एकताको लागि एमाले नेता माधवकुमार नेपाल संयोजक रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापा बादल संयोजक रहेको सांगठनिक विधान मस्यौदा कार्यदलले चैत २० गते नै पार्टी एकता संयोजन समितीमा प्रतिवेदन बुझाइसकेका छन् ।

तर दुवै कार्यदलले प्रतिवेदनमा धेरै विषय टुंग्याएका छैनन् । नयाँ पार्टीमा माओवादीले ५० प्रतिशत हैसियत मागेको छ, एमाले दिन तयार छैन । यस्तै विधानमा माओवादीले जनयुद्ध राख्नैपर्ने बताएको छ भने एमालेका नेताहरु त्यसमा पनि राजी छैनन । यस्तै केन्द्रीय सदस्य, पोलिटव्युरो सदस्य लगायत मुख्य सांगठनिक संरचनाको संख्याबारे पनि दुइ पार्टीबीच कुरा मिलेको छैन् । 

यस्तै एमालेले सूर्य चुनाव चिन्ह निकै लोकप्रिय भइसकेकाले यै चिन्ह हुनुपर्छ भनेको छ, भने मोआवादीले पार्टी नै नयाँ हुने भएपछि चिन्ह पनि नयाँ नै हुनुपर्ने धारणा राख्दै आएको छ  । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया