MENU

समाज

मजदुरीबाटै महिनाकाे ४५ हजार कमाई, किन जानु विदेश !

श्यामशितल परियार/उज्यालो ।   

 लमजुङ, वैशाख ३ – बुद्धिबहादुर मजाकोटी । घर, सुन्दरबजार नगरपालिका ३ चन्द्रेश्वर । वर्ष ३८ । बाटुलो मुहार । होचो कद । तर जाँगर उच्चो । हातमा सीप छ । बिहानैदेखी साँझसम्म उहाँ आफूले जानेको काम गर्न उहाँ व्यस्त हुनुहुन्छ ।

‘निर्माण सम्बन्धी सबै काम गर्छु,’ पसिनाले खलखल भिजेका निधार पुछ्दै उहाँले भन्नुभयो । २० वर्षदेखि गाउँघरमै निर्माण सम्बन्धी काम गर्दै आउनुभएको छ बुद्धिबहादुरले । 

‘घरको गारो लगाउने, काठका झ्याल, ढोका बनाउने लगायतका सबै काम गर्छु, गाउँघरमै बसी यो काम गर्न थालेको पनि २० वर्ष भईसक्यो,’ उहाँले सुनाउनुभयो । श्रीमती, एक छोरा र एक छोरीका साथमा बस्दै आउनुभएका बुद्धिबहादुरले गाउँघरमै बसी मजदुरी गरेरै राम्रो कमाई रहनुभएको छ । 

‘हातमा सीप छ, मनमा जोसजाँगर छ, सीप बेचेर खाने हो, गाउँघरमै बसी काम गरेर महिनाकै ४५ हजार बढी कमाउँछु,’ मुस्कुराउँदै उहाँले हिसाव सुनाउनुभयो ‘पाखुराकै कमाईले परिवार पालेको छु, यसैमा आनन्द छ ।’  

गाउँघरमा कसैले घर, धन्सार बनाउँदा पहिलो रोजाईमा पर्नुहुन्छ, बुद्धिबहादुर । उहाँको सीप र जाँगरले सबैको मन जितेको छ । 

‘सबैले कामका लागि मलाई सम्झनुहुन्छ, अहिले त झन घर बनाउने काममा भ्याईनभ्याई छ,’ उहाँले भन्नुभयो । भूकम्प गएपछि झनै उहाँको व्यस्तता बढेको छ । 

‘गाउँमा सबैलाई घर बनाउन आतुरी छ, सीप भएका कामदार पाउन धौधौ छ, त्यसैले पनि मलाई त भुकम्प गएपछि घर बनाउने काममा भ्याईनभ्याई छ,’ उहाँले भन्नुभयो, ‘युवाले लय लिएर सीप सिकेमा देशमै मनग्य कमाउन सक्छन् ।’   

उहाँले व्यंग्य गर्नुभयो, ‘हाम्रा युवा विदेशमा जे गर्न पनि तयार हुन्छन् । तर देशमा ढुंगामुढाको काम गर्न लाज मान्छन्, देशकै माटोमा श्रमपसिना बगाउन मान्दैनन् ।’
लामो समय काम गर्दै आउनुभएका उहाँलाई भुकम्प प्रतिरोधी घर बनाउनुपर्छ भन्ने राम्रो हेक्का छ ।

आफुले वर्षौदेखी गर्दै आएको सीपलाई तिखार्न उहाँले डकर्मी तालिम लिनुभएको छ । उहाँले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिसस लमजुङ सचिवालयको आयोजना र सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको डकर्मीसम्बन्धी तालिम लिनुभएको हो । 

‘हातमा सीप छ, हातमा प्रमाणपत्र पनि भयो भने झनै विश्वास बढ्छ, काम पाईन्छ, त्यसैले तालिम लिन आएको, तालिममा इन्जिनियरबाट धेरै कुरा सिक्न पाईएको छ, तालिममा सिकेका कुरा व्यवहारमा उतार्नेछु,’ उहाँले थप्नुभयो ।  

उहाँमात्र होइन तालिम लिई दक्ष कामदार बन्न अन्य २९ जना तालिममा सहभागी छन् । नगरपालिकाका सबै वडाबाट तालिममा सहभागी भएका छन् । भुकम्प गएपछि गाउँघरमै दक्ष कामदारको माग उच्च छ । कमाई पनि राम्रो छ । हातमा सीप भएकाहरुका लागि खाली हात बस्नुपर्ने स्थिति छैन । 

‘अहिले त कामको चाप छ, कमाई पनि राम्रो छ,’ कृषि क्याम्पसको खेल मैदानको आडैमा डकर्मीसम्बन्धी तालिम लिन व्यस्त रहनुभएका अर्का बुद्धिबहादुर बिकले भन्नुभयो । 

उमेरले ४० वर्ष नाघ्नुभएका विकले निर्माण सम्बन्धी काम गर्न थालेको १८ वर्ष बढी भइसक्यो । ‘काम पनि गर्छु, निर्माण सम्बन्धी ठेक्का पनि लिन्छु, हातमा सीप छ तर प्रमाणपत्र छैन, तालिमबाट प्रमाणपत्र पनि प्राप्त भएपछि झनै बिक्न सजिलो हुन्छ,’ उहाँले भन्नुभयो ।    

तालिम लिएसँगै काम पाइने र जीवन चलाउन सजिलो हुनेमा तालिम लिन आएका धुसेनीका ६० वर्षे बाबुराम भण्डारीको विश्वास छ । तालिममा सहभागीलाई भुकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी तालिम दिइएको ईन्जिनियरहरुले बताएका छन् । 

‘तालिममा सहभागी भएकाहरु निर्माण सम्बन्धी लामो समयदेखी काम गर्दै आउनुभएको छ, उहाँहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी थप कुरा सिकाउन तालिम दिइएको हो,’ तालिमका प्रशिक्षक एवम् राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर सुमिरन बडागामीले भन्नुभयो । 

भुकम्प प्रतिरोधी संचरना निर्माण सम्बन्धी सहभागीलाई सैद्धान्तिक एवम् प्रयोगात्मक दुवै रुपमा जानकारी गराईएको अर्का इन्जिनियर रमेश गौलीले बताउनुभयो । उहाँका अनुसार तालिममा सहभागी भएकाहरुलाई प्रमाणपत्र दिइनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया