MENU

राजनीति

एमाले–माओवादी एकताका बारेमा ओली–प्रचण्डको एक्लाएक्लै वार्ता सकियो

काठमाडौं, वैशाख ३ – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा एक्लाएक्लै वार्ता भएको छ । 
 
दुईजना शीर्ष नेताहरुबीच १० दिनपछि पार्टी एकताको विषयमा छलफल भएको हो । एमाले अध्यक्ष ओली र प्रचण्डबीच झण्डै एक घण्टा छलफल भएको थियो । 
हिजो सिन्धुपाल्चोकको सुकेटे पुगेका प्रचण्ड आज त्यतैबाट बालुवाटार पुग्नुभएको थियो ।  
 
एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताहरुबीच १० दिनदेखि यसविषयमा कुनै पनि छलफल भएको थिएन । दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेका दुईवटा कार्यदलले शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षको छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले उज्यालोलाई जानकारी दिनुभयो ।
 
एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आ–आफ्ना प्रतिवेदन शीर्ष नेतालाई यसअघि नै प्रतिवेदन बुझाए पनि त्यस बारेमा शीर्ष नेताबीच छलफल भएको थिएन ।
 
पार्टी एकताकै विषयमा छलफल गर्न आज साँझ पाँच बजे एमाले स्थायी समितिको बैठक बस्दै छ । त्यस्तै मंगलबार बिहान ९ बजे एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ । त्यही बैठकले वैशाख ९ गते पार्टी एकता गर्न सम्भव भए नभएको टुंगो लगाउने रिमालले बताउनुभयो । 
 
पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति कति जना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्ने लगायत विषयमा एमाले र माओवादीबीच कुरा मिल्न बाँकी छ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया