MENU

समाज

मुग्लानमा फसेका मेसबहादुर गाउँ फर्केपछि फलाम पिटेरै कमाउँछन मासिक २० हजार

प्रताप बानियाँ/उज्यालो ।

म्याग्दी, वैशाख ३ – दुर्गमको ठाउँ । यातायात र विद्युतको अभाव । बाक्लो बस्ती । सोलारको भर । त्यही वस्तीमा छ मेसबहादुर सानो झुपडी ।
तलतिर आरन । आरनमा आउँछन् गाउँलेहरु हँसिया, कुटो, कोदालो लिएर बनाउन र तिखार्न । घामको झुल्को नपरेदेखि नै चलाएको आरन झुल्को मेटिने बेलासम्म निरन्तर चलिरहन्छ । आरनमा फलामबाट नयाँ सामान बन्छन् भने पुराना अर्जाब्ने गरिन्छ । 
 
पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४, मुदीका मेसबहादुर विश्वकर्मालाई अहिले आरनमा भ्याइनभ्याइ छ । गएको ५ वर्षसम्म विदेशको मरुभूमि कतार बसेर फर्किनुभएका उहाँ पुनः आरन पेशामै लाग्नुभएको हो । अहिले उहाँले आरन पेशाबाटै आफ्नो जीविकोपार्जन गर्दै आइरहनुभएको छ ।
दलालमार्फत विदेश पुगे पनि उहाँले त्यहाँ भनेजस्तो कमाइ गर्न नसकेपछि फर्केर आरन पेशा सुरु गरेको बताउनुभयो । विदेशमा पुग्नुभएका विश्वकर्मा केबुल र एसीको काम गरे पनि गाउँ फर्किएर आरन पेशामै होमिनुभएको हो ।
 
आफू १२/१३ वर्षको उमेरदेखि नै बावुसँग आरनमा पुगेर काम गर्न थालेको उहाँले बताउनुभयो । बावुसँगै आरनमा बसेर फलामबाट विभिन्न किसिमका सामानहरु बनाउने सीप सिकेकाले अहिले पनि उहाँसँग त्यो अनुभव छ ।
 
आफ्नो बाबुबाजेले गर्दै आएको पुख्र्यौली आरन पेशालाई आफूले निरन्तरता दिएको विश्वकर्मा बताउनुहुन्छ । उहाँको आरनमा फलामको सहायताबाट हँसिया, कुटो, कोदालो, खुकुरी, दाबे, चक्कू, गल, घन, छिनालगायत दैनिक कामको प्रयोगमा आउने सामानहरु बन्छन् ।
फलामबाट विभिन्न आकार र प्रकारका सामानहरु बनाउनुका साथै विश्वकर्माले मर्मत पनि गर्नुहुन्छ । यसैगरी तामाको गाग्री, ताउलो, कुँडे, ताप्के जस्ता दैनिक उपभोग्यका सामान र सिल्टेका सामान पनि मर्मतसम्भार तथा टालटुल गर्ने गरेको उहाँले जानकारी दिनुभयो । 
 
उहाँको आरनमा अहिले मुदी, नेरबाङ, खाम्ला, खिबाङ, खारासहितका गाउँबाट ग्राहकहरु पुग्ने गरेका छन् । आरनबाट नयाँ सामान बनाउनुका साथै पुरानाको मर्मतसम्भार हुँदै आएको छ भने ग्राहक घरमै आउने गरेको आरन व्यवसायी विश्वकर्माले बताउनुभयो । उहाँले फलामका सामान बनाउन र मर्मतका लागि सामुदायिक वनबाट पूर्जी लिई गोल बनाएर आरन सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 
 
उमेरले ३४ औं बसन्तमा घुम्दै गर्नुभएका विश्वकर्माको आरनमा खास गरी कामयावी समयमा चाप बढ्ने गरेको छ । कहिलेकाहीँ आरनमा सीमित मात्रामा ग्राहक आउने गरेपनि सिजन अनुसार गाउँघरमा कामको चटारो बढ्दै जाँदा हँसिया, कुटो, कोदालो बनाउन र मर्मत गर्न भ्याइनभ्याइ हुने गरेको छ । उहाँले जिल्लास्थित संगम म्याग्दी संस्थाबाट आरन चलाउन आवश्यक ताल, ह्याम्बर, रेतीलगायत सामानहरु सहयोग पाएको बताउनुभयो । 
 
आरन व्यवसायी विश्वकर्माले गाउँमा बिजुली आएको खण्डमा आरन पेशालाई अझै सहज रुपमा अगाडि बढाउन सजिलो हुने अपेक्षा गर्नुभयो । उहाँले विद्युतको प्रयोगमा पनि आरनको काम गर्ने सीप सिकेको हुँदा विद्युत आएमा आफूले पेशालाई वृद्धि गर्ने योजना बुनेको सुनाउनुभयो । आरन पेशा गर्दै आउनुभएका उहाँले डकर्मीको समेत काम गर्नुहुन्छ । उहाँले घर, धन्सार र ट्वाइलेटको गारो लगाउन आफूसँग सीप रहेको बताउनुभयो । 
 
आफ्नो परिवारका साथै बावु र दिदीलाई पाल्नुभएका विश्वकर्माले आरन पेशाबाटै मात्र मासिक रुपमा २० हजार रुपैयाँ कमाउने गरेको बताउनुभयो । उहाँले ग्राहकको सामान निर्माण र मर्मत गरेवापत उनीहरुबाट अन्न समेत ल्याउने गरेको बताउनुभएको छ ।
 
अन्नका साथै कतिपय ग्राहकबाट नगद पैसा लिने गरेको विश्वकर्मा बताउनुहुन्छ । सिजन अनुसार आरन पेशामा कमाई बढ्ने र घट्ने गरेको उहाँको भनाई छ । आफूसँग सीप भएपछि पैसा कमाउनकै लागि भनेर विदेश जानुनपर्ने उहाँले बताउनुभयो । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया