MENU

राजनीति

ujyaalo forign call inside

​परराष्ट्रमन्त्रीको चीन भ्रमण : बुढीगण्डकीको कुरै नहुने, तातोपानी नाका उच्च प्राथमिकतामा

काठमाडौं, वैशाख ३ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो चीन भ्रमणमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताउनुभएको छ ।

चीनका विदेशमन्त्री वाङ चीको निमन्त्रणमा सोमबार राति बेइजिङ जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले देउवा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुंगो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले बुढीगण्डकीको बारेमा छलफल नभए पनि तातोपानी नाका खुलाउने विषयमा भने कुरा हुने र छिटै नै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । 

‘तातोपानी नाका हाम्रो लागि महत्वपूर्ण छ, अरनिको राजमार्ग आसपास व्यापार गरेर बस्ने हजारौं नागरिकको भविष्यसँग जोडिएको नेपाल – चीन मैत्री सन्धिको प्रतिकको रुपमा रहेको यो नाकाको विषयमा हामीले चिनियाँ सरकार र अधिकारीसँग धेरैपटक छलफल गरेका छौं, भूकम्पले त्यहाँको भौगोलिक अवस्था खल्बलाएका कारण शंका पनि थियो तर अहिले प्रगति भएको छ’ मन्त्री ज्ञवालीले भन्नुभयो, ‘तर, बुढीगण्डकी अहिले हाम्रो भ्रमणको एजेण्डामा छैन, पूर्ववर्ती सरकारले गरेका निर्णय हामीले अहिले अध्ययन गरिरहेका छौं, अध्ययनपछि निष्कर्षमा पुग्नेछौं ।’

अन्तरदेशीय प्रशारण लाइनको बारेमा छलफल, पारवहन सम्झौतामा छलफल

नेपालको बिजुली चीन निर्यात र चीनको बिजुली नेपाल आयातको लागि नेपालले भन्दै आएको क्रस बोर्डर ट्रान्समिटरलाइन अर्थात अन्तरदेशीय प्रशारण लाइनको बारेमा चिनियाँ समकक्षीसँग आफूले कुरा गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

‘ट्रान्जिट र क्रसबोर्डर सन्धिको प्रोटोकलको बारेमा ड्राफ्ट तयार पारेर हामीले गएको भदौमा  नै चिनियाँ पक्षलाई हस्तान्तरण गरेका छौं, उहाँहरु अध्ययन गरिरहनु भएको छ, उताबाट प्रतिक्रिया आउनेवित्तिकै त्यो हस्ताक्षरको चरणमा जानेछ’ उहाँले भन्नुभयो, ‘क्रस वोर्डर ट्रान्समिसनको लागि हामीले केही ठाउँ पहिल्याएका छौं, प्रारम्भीक अध्ययनले चिलिमे–रसुवागढी–केरुङ र कोरला पनि सम्भाव्यता भएको पोइन्ट देखिन आएको छ र यसबारेमा थप अध्ययन उर्जा मन्त्रालय विद्युत प्राधिकरण लगायतले गर्दैछन ।’

सम्झौता कार्यान्वयन र नयाँ सन्धिको लागि चीनले चासो देखाएको छ, हामी ढिला भयौं

गएका वर्षहरुमा भएका सम्झौता कार्यान्वयनको लागि चीनले चासो देखाएको तर नेपालले नै त्यस्ता खालका परियोजना छनौट गर्न नसकेको पनि परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । नेपालले कनेन्टिभिटी र पूर्वाधारको लागि चीनबाट धेरै फाइदा लिन सक्ने भएकाले ठूला परियोजना हामीले अध्ययन गरेर चीनसँग सहकार्य गर्नुपर्ने पनि ज्ञवालीले बताउनुभयो । चीनको प्राथमिकता पुराना सम्झौता कार्यान्वयन र नयाँ सम्झौता नै रहेको उहाँको भनाइ छ  ।

भूकम्पपछिको पुनर्निर्माणको लागि चीनले दिने भनेको ३ बिलियन आरएमबी मध्ये २ बिलियन बराबरको सम्झौता भइसकेको र १ बिलियन यसै वर्षभित्र सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो ।

सि जिङ पिङको नेपाल भ्रमण र ओलीको चीन भ्रमणबारे छफफल हुने

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भ्रमणका विषयमा चीनका राष्ट्रपती सि जिङ पिङको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने जानकारी दिनुभयो ।

उहाँले यो भ्रमण दुइ देशबीचको सम्बन्ध कसरी अझै प्रगाढ बनाउन सकिन्छ भन्ने बारेमै केन्द्रीत रहने तर योसँगै दुई देशका राष्ट्रप्रमुखको भ्रमणबारेमा पनि छलफल हुने जानकारी दिनुभयो । 

‘मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको भोलिपल्टै भनेको थिएँ, यो वर्ष उच्चस्तरीय भ्रमणको वर्ष हुनेछ भनेर, चीनबाट पनि नेपालको लागि उच्चस्तरीय भेटवार्ता हुनेछ तर कहिले भन्ने त टुंगो लागेको छैन’ उहाँले भन्नुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया