MENU

समाज

​एउटा पुल : तीन पुस्ताले धानेको नेपाल–भारत सम्बन्ध

शुभनारायण यादव/उज्यालो । 

सप्तरी, वैशाख ३ – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ मा रहेको खाँडो खोलाको चचरी (भाटे) पुल भत्किएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

वर्षौँदेखि नेपाल–भारत व्यापारिक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको यो पुल बनाउनेतर्फ कसैको ध्यान पुग्न नसक्दा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । ‘पुलबाट दैनिक हजारौं सर्वसाधारण वारपार गरिरहेका छन्, पुल बनाउनेतर्फ कसैको ध्यान पुगेको छैन’, स्थानीय नागरिक रामदेव यादवले भन्नुभयो ।  तिलाठी र कुनौलीको बीचमा रहेको खाँडो खोला दुवै देशको सिमानामा पर्छ ।

यातायात तथा पैदल यात्राका लागि नदीको दुवैतर्फ सडक छन, तर नदीमा हालसम्म पनि पक्की पुल बनेको छैन । पैदल यात्रीका लागि बनाइएको भाटेपुल पनि भत्किएपछि यतिबेला जोखिम मोलेर खोलाबाटै आवत–जावत गर्नुपर्ने बाध्यता छ । तिलाठी–कुनौली आवत–जावतका लागि बनाइएको भाटेपुल पनि सरकारी स्तरवाट बनाइएको होइन । वर्षौँअघि तिलाठी–कोइलाडी गाउँपालिका, बेल्ही गाउँका जोखन रायले बनाएको पुलले हालसम्म दुई देशबीचको व्यापार, पारिवारिक सम्वन्ध र मित्रतालाई जोडेर राखेको छ ।

नेपाल र भारतका बीचमा सयौं वर्षदेखि मैत्रीपूर्ण सम्वन्ध छ । खुल्ला सीमाका कारण बिना रोक–टोक एक देशका नागरिक अर्को देशमा आवत–जावत गर्छन । सप्तरीको तिलाठी, लौनियाँ, सकरपुरा, बेल्ही, कोइलाडी, रम्पुरा, लोखरम, लालापट्टी, राजविराज, हनुमाननगर, कल्याणपुर, रुपनीसहित अधिकांश क्षेत्रका मानिस बजार भर्नकै लागि कुनौली जाने गरेका छन् । यति मात्र होइन, नेपाल र भारतीय क्षेत्रका नागरिकहरुका बीचमा सरावरी विवाहवारी चल्छ ।

समान भाषा, भेसभुषा, संस्कार र संस्कृतिका कारण दुवै देशका नागरिकका बीचमा पारिवारिक सम्बन्ध छ । तर, त्यो सम्बन्ध धान्नका लागि सरकारले हालसम्म एउटा पुल पनि बनाउन नसकेको भन्दै दुवैतर्फका स्थानीयहरु गुनासो गर्छन् । ‘दुई देशका नागरिक भन्दा पनि पाहिला हामीबीचमा पारिवारिक सम्वन्ध छ’, छिन्नमस्ता गाउँपालिका–१, का रामप्रसाद मण्डल भन्छन् –‘यसलाई आजसम्म नत देशको सिमानाले रोकेको छ नत सरकारले ?’ तर, रोटी–बेटीको यो सम्बन्ध जोगाउन दुवै देशको सरकार संवेदनशील हुन नसकेको उनले आरोप लगाए । 

नागरिकको सहुलियतका लागि पुल निर्माण गर्ने विषयमा कुनै पनि देशको सरकारले सोच नबनाएको भन्दै व्यापारिक दृष्टिकोणले पनि तिलाठी–कुनौली जोड्न मैत्री पुल आवश्यक रहेको उनको भनाई छ ।

वर्षाैँ अघिसम्म तिलाठी र आसपासका मानिसहरु डुंगामार्फत खाँडो खोला वारपार गर्थे । पछि स्थानीय जमिनदारहरुको सहयोगमा जोखनले खोलामा भाटेपुल बनाए । पुल प्रयोग गरेबापत उनले स्थानीयहरुवाट वार्षिक रुपमा निश्चित परिमाणमा धान लिन्थे, जसबाट उनको परिवारको पालन पोषण हुँदै आएको थियो ।

जोखनको निधनपछि उनका छोरा छेदीले बाबुको बिँडो थामे । वर्षा याममा पुलको पुनर्निर्माण गर्ने र वारपार गर्नेहरुवाट पाएको अन्न र पैसाले परिवार पाल्दै आएका छेदीको पनि केही वर्षअघि निधन भयो । अहिले छेदीका छोरा रामचन्द्रले पुर्खौली रुपमा चल्दै आएको पुल बनाउने कामलाई निरन्तरता दिँदै आएका छन् । उनले आफनो अधिकांश समय पुलको रेखदेखमा खर्चिने गरेका छन् । पुल प्रयोग गरेबापत पाउने पैसा र अन्न नै उनको परिवार पाल्ने मुख्य श्रोत हो । यसका अतिरिक्त सामान्य खेतीपाती पनि गर्ने गरेको उनले वताए ।

‘पुल प्रयोग गरेबापत वाहिरी मान्छेले पैसा दिन्छन्, स्थानीयले धान’ रामचन्द्रले भने–‘तर, पैसा लिँदा यति नै दिनुपर्छ भनेर माग्ने गरेको र दिनै पर्छ भनेर जबरजस्ती गर्ने गरेको छैन ।’ उनले स्थानीयवाट वार्षिक प्रतिपरिवार ८-१० किलो धान र बाहिरवाट आउने मानिसवाट प्रतिव्यक्ति १० रुपैयाँ पाउने गरेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया